२४ जेष्ठ २०७७ शनिबार
समाज

राउटेको उत्पादनलाई बजार कै दु:ख

वीरेन्द्रनगर- पुसको शरिर काप्ने जाडो। गादो र धोतील गाएर वीरेन्द्रनगरमा जारी महोत्सवको मूल गेट नजिकै राउटे समुदायका युवा दर्शकलाई नियाल्दै छन्। उनीहरू (राउटे युवा) को स्टल भन्दा नजिकैका स्टलमा सामान किन्नेको भीड छ। चिसो मा व्यापारले तताएको छ। यता भने नजिकै रहेका राउटे युवा भने शरीर काप्ने चिसोमा सामान किन्ने मान्छेको प्रतीक्षामा छन्।

महोत्सवमा अन्य सामग्रीको किनमेल चले पनि राउटे समुदायले सञ्चालन गरेको स्टलमा दर्शकको नजर मात्र पुग्छ तर प्रायः ले उनीहरूको सामग्री किन्दैनन्। उनीहरूले लहरै कोसी, पिर्का, मधुस राखे पनि दर्शकको मन जित्न सकेन। ‘वरिपरिका स्टलमा भीडभाड छ,’ स्टलमा रहेका राउटे युवा शिवराज शाहीले भने, ‘हाम्रोमा कमै आउँछन्।’ अपेक्षा भन्दा धेरै कम सामग्री बिक्री भएको उनको भनाइ छ। हालसम्म करिब चार हजार रूपैयाँसम्मका सामान बिक्री गरेको अर्का राउटे युवा उतिस बहादुर शाहीले बताए। राउटेले आफूले बनाएका सामग्री पैसा भन्दा अन्नपातसँग साट्ने गरे पनि पछिल्लो समय बिक्री गर्ने गरेका छन्। उनीहरूका अनुसार मेलामा दुई सयदेखि एक हजारसम्म रूपैयाँका सामग्री बिक्रीका लागि राखिएको छ।

राउटे समुदायलाई हेर्ने दृष्टिकोण फरक हुँदा उनीहरूले बनाएका सामान बिक्री नभएको स्टल सञ्चालनमा सहयोग गरिरहेको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्काले बताइन्। राउटे समुदायलाई सामाजिकीकरण गर्न र उनीहरूलाई व्यापारमा प्रोत्साहन गर्न स्टल सञ्चालनमा सहयोग गरेको उनको भनाइ छ। यस भन्दा अघि पनि राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालको सहयोगमा नेपालगन्ज, कोहलपुर, बुटवललगायतका मेला महोत्सवमा राउटेले स्टल सञ्चालन गरेका थिए। त्यहाँ उनीहरूले बनाएका सामग्रीको राम्रै माग थियो।

राउटे समुदायलाई व्यवहारिक बनाउन स्टल व्यवस्थापनमा सहयोग पुर्‍याइरहेको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाल कर्णाली प्रदेशकी अध्यक्ष कृष्णादेवी ओलीले बताइन्। ‘अहिले राउटे भन्दा मान्छेको सोचाइ फरक छ,’ उनले भनिन्, ‘यस्ता मेला महोत्सवमा राखेपछि उनीहरू प्रतिको धारणा बदल्न पनि सहयोग पुग्छ।’ महोत्सवमा राख्दा उनीहरूको सामग्रीको पनि बजारीकरण हुने उनको भनाइ छ। उनीहरू यहाँ मनोरञ्जन भन्दा आर्थिकोपार्जनका लागि आएको उनले बताइन्। ‘राउटेले बनाएका सामग्रीमा दर्शक रोजाइ कम परेको छ,’ उनी भन्छिन्, ‘त्यसैले उनीहरू स्टल हाम्रो जिम्माल गाएर महोत्सव हेर्न जान्छन्।’

यहाँ बिक्री भएको रकमले राउटे समुदाय मिलेर खर्च गर्ने भन्दै उनले राउटेले बनाएको सामग्री उनीहरूलाई सामाजिकीकरण गर्नलाई पनि किनेर सहयोग गर्नु पर्ने बताइन्। प्लास्टिकका सामग्री भन्दा राउटेले बनाएका सामग्री केही महँगो भएपनि टिकाउ र भरपर्दो हुन्छन्। प्रायः काठको सामग्री सजाउन र राउटे समुदायले बनाएको चिनोको रूपमा कोसी लगायतका सामग्री केहीले लिने गरेको उनको भनाइ छ। उनीहरूले आम्दानी गरेको पैसाले घर परिवारको लालन पोषणमा खर्च गर्ने बताएका छन्। ‘उनीहरू सहयोग माग्ने घर खर्च चलाउने गर्छन,’राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपाल कर्णाली प्रदेशकी उपाध्यक्ष वसन्ती दाहालले भनिन्, ‘तर व्यापार व्यवसाय गर्ने तिर जाँदैनन्।’ यसले उनीहरूलाई व्यवसायको मार्गदर्शन सिकाउने उनको भनाइ छ।

 

 

प्रकाशित: ७ पुस २०७६ १७:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App