१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भारतीय पक्ष पछि हट्यो

सीमाक्षेत्रमा स्थलगत निरीक्षण गर्दै जनप्रतिनिधि र सुरक्षाकर्मी। तस्बिर : योगेश/नागरिक

टीकापुर – कैलालीको टीकापुर नगरपालिका–७ कालाकुण्डानजिकै मोहना नदीमा भइरहेको तटबन्ध निर्माण कार्यमा अवरोध गरेको भारतीय पक्ष पछि हटेको छ। उसले नियोजित रूपमा तटबन्ध निर्माणमा अवरोध गर्ने मनसाय नरहेको बताएको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी)  कमान्डर इन्सपेक्टर राजा मुराद अलीले आगामी दिनमा तटबन्ध निर्माण कार्यमा अवरोध नहुने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले कुनै भौतिक पूर्वाधार निर्माण गर्दा दुई देशबीचको दसगजा क्षेत्र भने नमिच्न आग्रह गरेका छन्।

स्थानीय जनप्रतिनिधि र दुई देशका सुरक्षा अधिकारीहरूले आइतबार विवादित सीमाक्षेत्रको संयुक्त निरीक्षण गरेर समस्या समाधानको पहल गरेका हुन्। उनीहरूले दसगजाबाट आ–आफ्नो भूभागमा गरिने नदी नियन्त्रणको काममा अवरोध नगर्ने सहमति जुटाएका छन्।

इलाका प्रहरी कार्यालय टीकापुर डिएसपी मनोहरप्रसाद भट्टले तत्काल ‘गुगल म्याप’ का आधारमा सीमा समस्याको समाधान गरिएको बताए। उनले भविष्यमा दक्ष प्राविधिक टोलीद्वारा दीर्घकालीन रूपमा सीमा समस्याको समाधान गर्ने र तत्काल ‘गुगल म्याप’ कै आधारमा अघि बढ्ने सहमति भएको जानकारी दिए।

‘अहिले अल्पकालीन रूपमा भए पनि समस्याको समाधान खोज्यौं। यसलाई दुवै देशले मान्ने सहमति भएको छ,’ उनले भने, ‘भोलिका दिनमा दीर्घकालीन रूपमा समस्याको समाधान माथिल्लो स्तरबाट हुने नै छ।’

उनले हराएको भनिएको ७०५/३ (साविक १०८) नम्बरको सीमास्तम्भ ‘गुगल म्याप’ मा देखिएको बताए। उनले ‘गुगल म्याप’ का आधारमा सो सीमास्तम्भ हाल नदीको पानीभित्र अंकित भएको जानकारी दिए। दुई देशका सुरक्षा अधिकारीले पानीभित्र अंकित भएको सीमास्तम्भ ७०५/३ र मोहना नदीबाट नेपालतर्फ रहेको ७०५/२ (साविक १०७) का आधारमा दसगजा क्षेत्र छुट्याएका छन्।

टीकापुर नगरपालिका–७ का वडाध्यक्ष रामलाल डगौरा थारु र ९ का वडाध्यक्ष लौटन चौधरीले सीमामा देखिएको विवाद समाधानका लागि पहल गरेका थिए। उनीहरूले उप्रान्त तटबन्ध निर्माणको काम नरोकिने बताए। ‘तटबन्ध निर्माणको काम अब रोकिँदैन,’ वडाध्यक्ष थारुले भने, ‘भारतीय पक्षले दसगजासम्म तटबन्ध निर्माण गर्दा कुनै आपत्ति हुँदैन भनेको छ।’

यो तटबन्ध राष्ट्रिय गौरवको रानी–जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरिरहेको हो। उसले सात सय ५० मिटर तटबन्ध निर्माण गर्न रमन स्काई जेभी निर्माण कम्पनीसँग सम्झौता गरेको छ। कम्पनीका प्रतिनिधि धीरेन्द्र शाहीले तटबन्ध निर्माणको काम पुनः सुरु भएको बताए। उनले अहिले निर्माण भइरहेको स्थानबाट थप करिब ३५ मिटर अघिसम्म तटबन्ध निर्माण हुने जानकारी दिए। ‘अब करिब ३५ मिटर थप तटबन्ध बनाइनेछ,’ उनले भने, ‘आजैबाट निर्माणको काम अघि बढिसकेको छ।’

आयोजनाले मोहना नदीको नेपालतर्फको भागमा नदी नियन्त्रणका लागि तटबन्ध गरिहेको छ। दुई देशको सीमाक्षेत्रमा नदीले बर्सेनि कटान गर्दै आएकाले सीमास्तम्भ हराएका छन्, जसका कारण सीमा समस्या बढेको छ।

प्रकाशित: ७ पुस २०७६ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App