१५ चैत्र २०८० बिहीबार
समाज

बाँदरको पनि परिवार नियोजन !

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगनरपालिकाका किसानले बाँदर आतंक नियन्त्रणका लागि बाँदरको ‘परिवार नियोजन’को माग गरेका छन्। बाँदरको बढ्दो संख्याका कारण अन्नबाली जोगाउन मुस्किल परेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न स्थानका किसानले मेयर दिपनारायण रिजाललाई ज्ञापनपत्र बुझाउँदै बाँदरको परिवार नियोजनको माग गरेका हुन्।

खेतबारीमा लगाएको मकै, गहुँ, कोदो, अलैंची, आलु, धान, मास, दाल, करेला, सुन्तला, कागती, केरा लगायतका बालीनाली सखाप बनाएर हैरान पारेपछि बाँदरको संख्या नियन्त्रणका लागि परिवार नियोजन वा अन्य भरपर्दो विधि सोच्नुपर्ने अवस्था आएको बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए। ‘बाँदरको संख्या एकदमै बढेर गयो। अन्नपात जोगाउन सकिएन। किसानले साह्रै दुःख पाए। बाँदर मार्न पाइदैन भने परिवार नियोजन गर्न सहयोग गर्नुपर्‍यो भन्ने माग मेयर समक्ष राखेका छौँ,’ अध्यक्ष घिमिरेले भने, ‘पुस ४ गतेसम्ममा नगरपालिकाबाट सकरात्मक जवाफ नआए किसानले आन्दोलन नै गर्ने छन्।’ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामै भारतीय शिकारी प्रयोग गरेर बाँदर समातेको चर्चा सेलाउन नपाउँदै बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको टोली ज्ञापनपत्र बुझाउन आईतबार नगरपालिका पुगेका थिए।

गत २०७५ साल फागुनमा पनि बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पुर्‍याउने भन्दै खुसीनगर उत्तरप्रदेशका पेसेवार शिकारी प्रयोग गरेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको छर्का, लुछिम लगायतका स्थानबाट दर्जनौं बाँदर समातिएको थियो। यद्यपी, निकुञ्जमा लैजान अगावै समातेर राखेको बाँदर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानूनी प्रावधानले अप्ठ्यारो पनि भएको थियो। बाँदर समात्दा पशु अधिकारकर्मीले विरोध गरेका कारण यसपल्ट बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिले बाँदरको परिवार नियोजनको कुरा उठाएको हो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको लफ्याङबाट गत फागुन ७ गतेदेखि ‘बाँदर समाउ’ अभियान थालिएको हो। किसानको मागपछि उसबेला बाँदर समात्न सहयोग गरेको नगरपालिका यसपल्ट भने झट्ट सहयोग गर्न सक्ने अवस्थामा छैन। बाँदर समात्दा र दिक्तेल बजारका भुसिया कुकुर नियन्त्रणका क्रममा पशुअधिकारकर्मीले आवाज उठाएर कानूनीरुपमै अप्ठ्यारो बनाएका कारण यसपल्ट बाँदरको परिवार नियोजनको विषयमा केही निर्णय दिन सक्ने अवस्था नभएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए। ‘बाँदर र कुकुर काण्डले हैरान बनाएको छ। बाँदरको समस्या त छ तर यस विषयमा तत्काल केही निर्णय दिन सकिन्न। यस बारेमा केही योजना पनि बनाएको छैन,’ मेयर रिजालले भने, ‘बाँदरको परिवार नियोजनको माग आएको छ। यो कत्तिको प्रभावकारी हुन्छ ? र कानुनीरुपमा पनि अप्ठ्यारो पर्छ की पर्दैन भन्ने बारेमा अध्ययनचैं गरिन्छ।’

प्रकाशित: ३० मंसिर २०७६ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App