८ वैशाख २०८१ शनिबार
समाज

१३ शव आफन्तले बुझे, याङ्लाकोट गाउँ शोकमा

सिन्धुपाल्चोक- तीर्थाटनबाट फर्कँदै गरेको यात्रुबस दुर्घटनामा ज्यान गुमाउने १५ मध्ये १३ शब आफन्तले बुझेका छन्। मृतकका आफन्तले आइतबार राति र सोमबार गरी अन्तिम संस्कारका लागि शव बुझेका बुझेका हुन्। दुई शव भने आफन्तले बुझ्न बाँकी रहेको प्रहरीले जनाएको छ। बाह्रविसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम गरिएपछि आफन्तले शव बुझेका हुन्।

                दोलखाको कालिञ्चोक घुमेर भक्तपुर फर्कँदै गरेको बा ४ ख ४४६८ नम्बरको बस आइतबार लामोसाँघु–जिरी सडक खण्डको सुनकोसी गाउपालिका–७ मा दुर्घटना हुँदा एकै टोलका ६ सहित नौ महिला, तीन पुरुष र तीन बालबालिकाको निधन भएको थियो। दुर्घटनामा १९ यात्रु घाइते भएका थिए। घाइतेको विभिन्न तीन अस्पतालमा उपचार भइरहेको छ।

                दुर्घटनामा घटनास्थलमै १२ र अस्पतालमा उपचारको क्रममा तीन यात्रुको ज्यान गएको थियो। घटनापछि साँझ १४ को शव बाह्रविसे लगिएको थियो। बाह्रविसेबाट एक र राजधानीको केएमसी अस्पतालमा उपचारको क्रममा ज्यान गुमाउने दोलखा शैलुङ–६ की ३२ वर्षीया तीनु बस्नेतको शव बुझ्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सई राजेश दाहालले बताए। ‘आइतबारदेखि सुरु शव बुझ्ने क्रम सोमबार दिनभरि पनि जारी रह्यो,’ उनले नागरिकसँग भने।

                दुर्घटनामा ज्यान गुमाएका एकै टोल जुगल गाउँपालिका–७ याङ्लाकोटका ६ सहित सात शवको सोमबार सामूहिक दाहसंस्कार गरिएको छ। सुकबहादुर  तामाङ (२८), सविना तामाङ (७),  रेष्मा तामाङ (३०), उनकी १५ महिने छोरी रोशनी तामाङ, मञ्जु तामाङ (२८) र फूलमाया तामाङ (३७) को बाह्रविसेस्थित सुनकोसी नदीमा दाहसंस्कार गरिएको हो। फूलमाया बलेफी गाउँपालिकाकी हुन्।

                सामूहिक दाहसंस्कार दृश्य निकै कारुणिक थियो। आफन्तको चित्कार र रुवाबासीले दाहसंस्कारस्थलमा सन्नाटा छाएको थियो। त्यसो त एकै टोलका पाँच जनाको निधनले याङ्लाकोट गाउँ शोकमा डुबेको छ भने जुगल गाउँपालिका स्तब्ध बनेको छ।  अरु सात शव आफन्तले आइतबार राति नै बुझेर अन्तिम संस्कारका लागि राजधानी लगेका थिए।

                बसका चालक घटना लगत्तैदेखि फरार छन्। उनको खोजी भइरहे पनि फेला पार्न र सम्पर्कमा ल्याउन नसकिएको प्रहरीले जनाएको छ। चालक जिल्लाकै इन्द्रावती गाउँपालिका–१० का सुमन तामाङ रहेको जानकारी प्रहरीले पाएको छ। उनकी पत्नि सुनिता तामाङको पनि दुर्घटनामा ज्यान गएको थियो। बाह्रविसेमा रहेको उनको शब बुझ्न अझै आफन्त नआएको सई दाहालले जानकारी दिए।

                एकै गाउँका ६ जनाको ज्यान गएपछि जुगल गाउँपालिकाले सोमबार सार्वजनिक बिदा दिएर शोक मनायो। गाउँपालिकाले मृतकका आफन्तलाई काजकिरिया खर्च ५० हजार रुपैयाँका दरले उपलब्ध गराउने घोषणा गरेको छ।

 

प्रकाशित: ३० मंसिर २०७६ १२:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App