१६ चैत्र २०८० शुक्रबार
समाज

मृत्यु हुनेको संख्या १४ पुग्यो, घुम्तीमा होस नपुर्‍याउँदा दुर्घटना(अपडेट)

सिन्धुपाल्चोक - तिर्थाटनबाट फर्कँदै गरेको यात्रुबस लामोसाँघु–जिरी सडक खण्डस्थित सुनकोसी गाउँपालिका–७ को ६ किलो मोडमा आइतबार बिहान दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ। दुर्घटनामा १९ यात्रु घाइते भएका छन्। दोलखाको कालिञ्चोकबाट भक्तपुर फर्कँदै गरेको  बा४ख ४४६८ नम्बरको बस बिहान ७ बजेतिर मोडबाट पाँच सय मिटर तल सडकमा खसेर दुर्घटना भएका हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अँधेरीका प्रमुख सई राजेश दाहालले मृत्यु हुनेको संख्या १४ पुगेको जानकारी दिए। उनका अनुसार घटनास्थलमै १२ र अस्पतालमा उपचारको क्रममा दुईको मृत्यु भएको हो। मृत्यु हुनेमा आठ महिला, तीन पुरुष र तीन बालबालिका रहेका छन्। मृतकको पहिचान खुल्न सकेको छैन। मृतकका आफन्त सम्पर्कमा आउन थालेकाले छिट्टै पहिचान खुल्ने प्रहरीले जनाएको छ।

दुर्घटनाका नौ घाइतेको खाडिचौरस्थित सिन्धु सदवाहार अस्पतालमा उपचार भइरहेको छ। त्यहाँ उपचार हुन नसकेपछि थप गम्भिर अवस्थाका १० घाइतेलाई रेफर गरेको अस्पतालका डा. राजकुमार दङ्गालले जानकारी दिए। उनीहरुलाई काभ्रेको धुलिखेल र राजधानीको ह्याम्स अस्पतालतिर पठाइएको उनले बताए। सदावहारमै उपचारको क्रममा एक बालिका र एक पुरुषको ज्यान गएको थियो।

घुम्तिबाट बल्ड्याङ खाँदै सडकमा बजारिएको बस कच्याककुचुक भएको छ। सई राजेश दाहालले दुर्घटनाको कारण पत्ता लगाउन कठिन भइरहेको बताए। ‘घुम्तिमा चालकले होस नपु¥याउँदा दुर्घटना भएको हुनसक्छ,’ घटनास्थलमा रहेका उनले टेलिफोनमा नागरिकन्यूजसँग भने। उनका अनुसार दुर्घटना भएको स्थान घुम्ति भए पनि सडक फराकिलो छ। खाल्डाखुल्डी पनि छैन।

दुर्घटनाग्रस्त बससमेत नयाँ रहेको उनले जानकारी दिए। बसमा क्षमताभन्दा बढी यात्रु पनि थिएनन्। भक्तपुरको कमलबिनायक–च्यामासिं रुटमा चल्ने उक्त बस रिजर्भमा धार्मिक पर्यटकीय गन्तव्य कालिञ्चोक भ्रमण गरेर फर्कँदै थियो।

प्रकाशित: २९ मंसिर २०७६ ०४:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App