८ वैशाख २०८१ शनिबार
समाज

प्रहरीको असावधानीले धनुषामा बम विस्फोट

विस्फोटमा जेठा छोरासहित ज्यान गुमाएका राजेश्वर साहको निवासमा सान्त्वना दिन जम्मा भएका आफन्त। तस्बिर ः मिथिलेश/नागरिक

मिथिलेश यादव/कमलेश ठाकुर

महेन्द्रनगर (धनुषा) - सुरक्षाकर्मीले सावधानी नअपनाउँदा क्षीरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरस्थित एक घरमा शुक्रबार मध्यराति बम विस्फोट हुँदा तीनजनाको मृत्यु भएको छ। विस्फोटबाट घाइते घरधनी ४५ वर्षीय राजेश भनिने राजेश्वर साह र उनका जेठा छोरा १० वर्षीय आनन्दकुमारको तत्काल घटनास्थलमै र सुरक्षाका लागि खटिएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको उपचार क्रममा शनिबार बिहान बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो।

विस्फोटबाट राजेश्वरका कान्छा छोरा प्रकाश, छोरी अञ्जली र प्रहरी जवान रिझनाथ महतो गम्भीर घाइते भएका छन्। उनीहरुको प्रतिष्ठानमा उपचार भइरहेको छ। अर्का घाइते भिखारी साहको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनी राजेश्वरका बुबा हुन्। घटनामा राजेश्वरकी अर्की छोरी निक्की पनि घाइते भएकी छन्। राजेशकी आमा रामरतीदेवी र पत्नी मिथिला (अञ्जु) आँगनमा भएकाले जोगिएका छन्।

पति राजेश्वलाई विस्फोटमा गुमाएकी मिथिला (अञ्जु) अर्धचेत अवस्थामा छिन्। बेलाबेलामा होसमा आउँदा उनी अञ्जलीको पापा (राजेश साह) लाई ल्याइदिनु भन्दै चिच्याउँछिन्, एक छिनपछि फेरि मुर्छा परिहाल्छिन्। छोरा राजेशको मृत्युपछि आमा रामरतीदेवी पनि बोल्न सक्ने अवस्थामा छैनन्।

यस्तो छ घट्ना विवरण

धनुषाको महेन्द्रनगर बजारबाट पाँच सय मिटर पूर्वतर्फ छ, राजेश्वर साहको घर। क्षिरेश्वरनाथ–५, महेन्द्रनगरस्थित साहको घर चारैतिर पर्खालले घेरिएको छ। शुक्रबार राति खाना खाएर परिवारका कोही सुतिसकेका थिए भने कोही सुत्ने तरखरमा थिए। साहका दुई घर जोडिएर बनेका छन्। एकतिरको घरमा एलवेस्टरको छाना छ भने अर्कोतिर छत ढलान भएको दुईतले घर छ। दुईतले घरमा एट्याच बाथरुम छ। त्यो घरमा प्रवेश गर्नुअघि फलामको ढोका छ। राति करिब ११ बजे एलवेस्टरको छानो भएको घरबाट निस्केर परिवारका एक सदस्यले शौचालय जाँदा ढोकामा रातो झोला देखे। झोला देख्नेबित्तिकै शंका लागेर उनले घरका सबैलाई बोलाए। झोला देखेपछि डरले उनीहरु चोकमा रहेको अर्को घरमा पुगे। महेन्द्रनगरस्थित हनुमान चोकमा आफ्नै घरमा राजेश्वर औषधि पसल चलाउँथे। उनीहरु बस्ने घर र पसल करिब पाँच सय मिटर अन्तरमा छ। शंकास्पद झोला देखेपछि राजेश्वर छेउमै रहेको इलाका प्रहरी कार्यालयमा प्रहरीलाई खबर गर्न गए। प्रहरी निरीक्षक दाहालसहितको टोलीसँगै राति १२ बजे परिवारका सबै सदस्य घर फर्के।

प्रहरी निरीक्षक दाहालसहितको टोलीले घरको ढोकामा झुन्डाइएको रातो झोला नियाल्यो। ‘झोला नियालिसकेपछि उनीहरूले यो केही होइन, डराउनु पर्दैन, फालौं भने। प्रहरी निरीक्षक दाहाल, राजेश्वरलगायत अघि बढे। झोला नजिक पुग्दानपुग्दै अचानक ठूलो आवाजमा विस्फोेट भयो,’ घाइते निक्कीको भनाइ उद्धृत गर्दै राजेश्वरका आफन्त सुरेश साहले भने। राजेश्वर र उनका जेठा छोरा आनन्दकुमार त्यहीं नै ढले। भिखारीको जिउभरि बमको छर्रा लागेको छ। स्थानीय र प्रहरीले घाइतेलाई तत्कालै गाडी र एम्बुलेन्समा राखेर जनकपुर अञ्चल अस्पताल पु¥याएका थिए। राजेश्वरकी पत्नी मिथिला (अञ्जु) र छोरी निक्की अर्धचेत अवस्थामा छन्। घरमा रुवावासी चलेको छ।

घटनापछि साह निवासमा सान्तवना दिन आउनेहरुमा आश्चर्य र आक्रोस देखिन्छ। ‘अन्यत्र शंकास्पद बस्तु भेटिँदा चारैतिर सुरक्ष घेराबन्दी गरेर सर्वसाधारणलाई प्रवेश निषेध गरेको देखिन्छ,’ आफन्त सुरेशले नागरिकसँग भने, ‘यहाँ घरपरिवारका सदस्यलाई जम्मा पारेर किन असावधानी अपनाइयो ? शंकास्पद बस्तु जाँचपडताल गर्न बोलाएको प्रहरीले किन सावधानी अपनाएन ?’ यस्ता प्रश्नगर्ने सुरेशमात्र होेइन अन्य पनि छन्। तर, उत्तर दिने कोही छैन।

छिमेकी एवं क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पंजियारका अनुसार राजेश्वर मिलनसार र व्यावसायिक व्यतिm थिए। ‘रिसइबीकै कारण उनको घरमा ल्याएर कसैले बम राखिदिएको शंका छ,’ पंजियारले भने, ‘उनी ब्याजमा ऋण लगाउँथे। त्यही विषयमा कसैसँग रिसइबी थियो कि ? मलाई थाहा भएन।’ घटनाका बखत आफू हेटाैंडा रहेको उनले बता भने।

बौरियो कि बर्बराउँछिन्
पति राजेश्वलाई विस्फोटमा गुमाएकी मिथिला (अञ्जु) अर्धचेत अवस्थामा छिन्। बेलाबेलामा होसमा आउँदा उनी अञ्जलीको पापा (राजेश साह) लाई ल्याइदिनु भन्दै चिच्याउँछिन्, एक छिनपछि फेरि मुर्छा परिहाल्छिन्। छोरा राजेशको मृत्युपछि आमा रामरतीदेवी पनि बोल्न सक्ने अवस्थामा छैनन्। सासूबुहारीको बिलौनाले साह निवासमा सान्त्वना दिन पुगेका सबैका आँखामा आँसु देखिन्थ्यो। घाइते छोरी निक्कीको निश्चल आँखाले पापा र भैया (बाबु र दाजु) खोजिरहेको देखिन्थ्यो।

छानबिन समिति
घटना अनुसन्धान र छानबिनका लागि प्रहरी निरीक्षक उमाशंकर साहको नेतृत्वमा सात सदस्यीय टोली गठन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर कार्कीले जानकारी दिए। प्रहरीले घटना अनुसन्धान क्रममा तीनजनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

प्रकाशित: २९ मंसिर २०७६ ०१:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App