coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भ्रमण वर्षको शुभारम्भ बर्दियाबाट गरीने

बुटवल– प्रदेश पाँचको सरकारले बर्दियालाई केन्द्रबिन्दुमा राखेर पर्यटन प्रवद्र्धनका कार्यक्रम सुरु गरेको छ। संघीय सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सफल पार्न प्रदेश सरकारले बर्दियालाई आधार बनाएर पर्यटन प्रवद्र्धनका कार्यक्रम संचालन गरेको हो।

घुम्न जाउँ बर्दिया भन्ने नारासहित नेपाल भ्रमण वर्षको शुभारम्भ नै बर्दियाको ठाकुराद्धारबाट गरीने प्रदेशको पर्यटन मन्त्रालयले जनाएको छ। पर्यटन वर्षको तयारीका लागि प्रदेश सरकारले पर्यटनमन्त्री लिला गिरीको अध्यक्षतामा २१ सदस्यीय  पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ। मुख्यमन्त्री शंकर पोखरेल संरक्षक छन्। पर्यटन वर्ष २०२० को सचिवालय बुटवलमा स्थापना गरीएको छ। प्रदेशका १२ वटै जिल्लामा जिल्ला स्तरिय समिति गठन गरी तयारी थालिएको छ। त्यस्तै १ सय ९ वटा स्थानीय तहमा पनि समिति गठन गरी पर्यटकीय प्याकेज बनाएर काम अगाडी बढाइएको पर्यटन वर्ष २०२० को सचिवालयका प्रमुख गणेश घिमिरेले बताए।

पर्या पर्यटन अन्तर्गत ‘घुम्न जाउँ बर्दिया’ विशेष प्याकेज नै तयार गरीएको सचिवालयले जनाएको छ। जसअन्तर्गत जंगल सफारीसहित पर्यटकले हात्ती, बाघ र कृष्णसारलाई नजिकबाट नियाल्न पाउने छन्। साँस्कृतिक कार्यक्रमसहितको होमस्टे व्यवस्थापन, कर्णालीमा र्‍याफ्टिङको विशेष प्याकेज कार्यक्रमहरु तयार गरीएको भ्रमण वर्ष २०२० को प्रदेश पाँचका सह संयोजक माधव नेपालले बताए।

सह-संयोजक नेपालका अनुसार बुद्ध जन्मस्थल लुम्बिनी, ऐतिहासिक तिलौराकोट, पाल्पाको रानीमहल दरबारमा राणाकालिन ऐतिहासिक सामाग्री राख्ने, प्युठानको स्वर्गद्वारीमा १ लाख भक्तजनलाई महाअभिषेक गर्ने कार्यक्रम तय भएको छ। पोखरा आउने पर्यटकलाई बुर्तिवाङ, ढोरपाटन हुँदै रुकुमको सिस्ने हिमालसम्म पुर्‍याउन विशेष टुर प्याकेजका कार्यक्रम तयार गरिएको छ। बुद्ध जन्मस्थल लुम्बिनीदेखि ढोरपाटन हुँदै अपर मुस्ताङसम्म पर्यटकलाई पुर्‍याउने योजनासहित तयारी थालिएको सचिवालयले जनाएको छ।

पर्यटकलाई बाँकेको राष्ट्रिय निकुन्जमा जंगल सफारी, बुटवलको जितगढीदेखि नुवाकोटसम्म म्याराथन र बुटवलमा खाना महोत्वसव गरीने छ। लुम्बिनीमा अन्र्तराष्ट्रिय स्तरको बौद्ध साहित्य सम्मेलन गरी बौद्ध दर्शनबारे जानकारी गराउने र विश्वका बौद्ध धर्मावलम्बीलाई लुम्बिनी ल्याउन पहल गर्ने पनि कार्यक्रमा समावेश छ।

प्रदेशका बाह्रवटै जिल्लामा रहेका धार्मिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक एवम ऐतिहासिक महत्वका स्थानहरुको पहिचान, संरक्षण सम्वद्र्धन तथा व्यवथापनमा टेवा पुर्‍याउने, लुम्बिनी क्षेत्रमा पर्यटकको बसाई लम्ब्याउन आवश्यक पहल गरीने सचिवालयले जनाएको छ। लुम्बिनीलाई  बुद्ध जन्मस्थल तथा बौद्ध दर्शनको उद्गम स्थलका रुपमा प्रचारप्रसारका कार्यक्रम पनि गरीने सहसंयोजक नेपालले बताए।

केन्द्र सरकारले भिजिट नेपाललाई साकार बनाउन मुलुक भरका १ सय वटा पर्यटकीय गन्तब्य छनौट गरेको छ। प्रदेश नं. ५ मा पनि संघीय सरकारको छनौटमा परेका र अन्य गरी ५० बढी ऐतिहासिक, धार्मिक, पुरातात्विक, प्राकृतिक महत्वका पर्यटकीय स्थलहरुको छनौट गरी त्यहाँमा पर्यटन प्रवद्र्धनको कार्यक्रम गर्ने तयारी भइरहेको छ। लुम्बिनी, नवलपरासीको रामग्राम, वालमिकि आश्रम,बुटवलको ग्लोवल पिस पार्क, वाउन्नकोटी वन,  शंकरनगरको वनबाटिका, सैनामैना, कपिलवस्तुको निग्लीहवा, मायादेवी, तिलौराकोट, जगदिशपुर ताल, सागरताल, पाल्पाको तानसेन, रानीमहल, श्रीनगर डाँडा, रम्भादेवी मन्दीर, अर्घाखाँचीको सुपादेउराली ,पाणिनीतपो भूमी छन्।

गुल्मीको सत्यवती टुरीजम एण्ड रेलिजियस सेन्टर, रुरु क्षेत्र, रुकुम पूर्वको गुरील्ला टेरेल, ढोरपाटन, माईकोट, फोक्सुन्डो  टेरेल, रोल्पाको जलजला, प्युठानको स्वर्गद्धारी, रकगार्डेन, झिमरुक, ओखरकोट, दाङ्गको बगरबाबा रिलिजियस टुरिष्ट स्र्पोट छन्।  बाँकेको बागेश्वरी मन्दीर, राष्ट्रिय निकुन्ज,र बदिया राष्ट्रिय निकुन्ज, डल्ला होमस्टे, कृष्णसार संरक्षण क्षेत्र, ओम केदारेश्वर धाम, शिव मन्दीर क्षेत्र छनौटमा परेका छन्। प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रकाशित गरेको लुम्बिनी भिजिटर्स गाईडमा यी क्षेत्रलाई पर्यटकीय गन्तब्यका रुपमा चित्रण गरी आवश्यक जानकारीहरु समेटिएको छ।

नेपाल भ्रमण वर्षका लागि प्रदेश सरकारले २ करोड बजेट विनियोजन गरी काम अगाडी बढाएको पर्यटन सचिवालयलका प्रमुख घिमिरेले बताए। उनका अनुसार संघीय सरकारले पर्यटन वर्षको तयारी स्वरुप सचिवालय र बैठक कार्यक्रमका लागि २५ लाख उपलब्ध गराएको छ। धार्मिक, पर्यटकीय, साँस्कृतिक, पुरातात्विक एवमं ऐतिहासिक महत्वका  स्थानहरुको पहिचान, संरक्षण सम्वद्र्धन तथा व्यवथापन गरी तिनको व्यापक प्रचारप्रसार गर्दै लक्ष्य अनुरुप आन्तरिक तथा वाह्य पर्यटक भित्र्याइने घिमिरेले बताए।
 

प्रकाशित: २८ मंसिर २०७६ १२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App