१६ चैत्र २०८० शुक्रबार
समाज

सिजनको पहिलो हिमपात

मुस्ताङमा परेको हिउँ। तस्बिर : सुशीलबाबु थकाली/नागरिक

सन्तोष पोखरेल/सुशीलबाबु थकाली

पोखरा/मुस्ताङ – लगातार हिउँ पर्दा गण्डकी प्रदेशका हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ। हिमालपारिको जिल्ला भनेर चिनिने मनाङमा बिहीबारदेखि नै हिमपात भइरहेको छ। बिहीबार बिहान हिउँ परेको मनाङमा बेलुकी केही रोकिए पनि शुक्रबार बिहानदेखि फेरि हिमपात सुरु भएको छ। मुस्ताङमा पनि शुक्रबार बिहानैदेखि हिमपात भएको छ।

हिमपात यो सिजनको पहिलो हो। हिमपातले किसान खुसी भए पनि चिसो बढेकोले जनजीवन भने प्रभावित भएको छ। पर्यटकीय क्षेत्र मनाङ र मुस्ताङमा हिमपातले पर्यटन गतिविधि ठप्प भएको छ। गाडी चलाउनसमेत समस्या भएको छ। मनाङमा धारापानीसम्म मात्र गाडि चलेका छन्। मुस्ताङमा हवाईसेवा अवरुद्ध भएको छ।

चिसो बढेपछि स्थानीय घरबाहिर निस्कनसमेत सकेका छैनन्। सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्मे छन्। मनाङका प्रहरी प्रमुख डिएसपी टीकाबहादुर कार्कीका अनुसार सदरमुकाम चामेमा चार सेन्टिमिटर र केही माथिको हुम्देमा आठ सेन्टिमिटर बाक्लो हिउँ जमेको छ। अन्नपूर्ण फेरोको पदमार्ग पर्ने मनाङमा पर्यटक पनि हिँडडुल गर्न सकेका छैनन। कार्कीका अनुसार पर्यटकलाई थोराङला भञ्ज्याङ पार गर्न र तिलिचो ताल जान रोक लगाइएको छ। ‘माइनस ६ डिग्रीमा तापक्रम झरेको छ। सबैतिर आउजाउ ठप्प छ,’ उनले भने, ‘हिमपातले किसान खुसी छन। तर चिसोको कारण जनजीवनमा प्रभाव परेको छ। पर्यटन गतिविधि पनि ठप्प छ। हिउँले बाटो चिप्लो भएकाले गाडी चलाउनसमेत मुस्किल भएको उनले बताए। ‘कतैकतै त पानी नै जम्ने अवस्था छ। चिसोका कारण सदरमुकाम चामेसमेत सुनसान जस्तै भएको छ,’ उनले भने, ‘स्थानीयवासी घरभित्रै आगो बालेर बसेका छन्। चिसोले बूढाबूढी र बालबालिका बढी प्रभावित भएका छन्।’ उनका अनुसार योपटक मनाङमा परेको हिमपात सिजनकै पहिलो हो। ३२ सय मिटरभन्दा माथि झनै बढी हिमपात भएको उनले बताए।

मनाङमा परेको हिउँ। तस्बिर सौजन्य : मनाङ प्रहरी

मुस्ताङमा पनि हिमपातले जनजीवन प्रभावित बनेको स्थानीयले बताएका छन्। बिहीबारदेखि मौसम बिग्रेको र शुक्रबार बिहानदेखि हिमपात भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का जोमसोमस्थित संरक्षण अधिकृत तुलसी दाहालका अनुसार जोमसोम आसपास तापक्रम माइनस दुई डिग्रीमा झरेको छ। माथिल्लो भेग लोमान्थाङतिर एक इन्च हिउँ जमेको छ। सदरमुकाम जोमसोम आसपास दुई इन्च बाक्लो हिउँ जमेको छ।

जोमसोम विमानस्थल एअर ट्राफिक कन्ट्रोलर (एटिसी) गणेश डुम्रेका अनुसार तापक्रम माइनस दुई डिग्रीमा झरेको छ। जोमसोम र आसपासका क्षेत्र हिमपातले सेतै छन्। उनका अनुसार हिमपात र बाक्लो बादलका कारण शुक्रबार पोखरा–जोमसोम उडान रोकियो। तारा र समिट एयरलाइन्सका १/१ वटा उडान भए पनि शुक्रबार उडान हुन नसकेको उनले बताए। बिहीबार पनि बाक्लो बादलका कारण उडान रोकिएको उनले बताए।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार हिमपातलाई ध्यानमा राखेर विभिन्न ठाउँमा रहेका प्रहरी चेकपोस्टलाई सचेतना अपनाउन भनिएको छ। विशेषगरी मुक्तिनाथ दर्शनका लागी पुगेका पर्यटक अलपत्र नहुन भनेर सचेतना अपनाएको उनले बताए। मनाङ हुँदै थोरङ्ला पास गरेर मुस्ताङ ओर्लने पर्यटकलाई पनि सचेत गराइएको उनले बताए।

हिमपातले फस्टाउने भन्दै किसान खुसी भएका छन्। लामो समय खडेरी परेको मुस्ताङमा हिमपात भएपछि खेतीयोग्य जमिन उर्बर हुने घरपझोङ गाउँपालिका–२ छैरोका बिनोद थकालीले बताए। हिमपातले बाली फस्टाउने उनले बताए। सोही ठाउँकी संगीता थकालीले भनिन, ‘हिमपातले चिसो बढे पनि किसानलाई भने खुसी भएको छ।

प्रकाशित: २८ मंसिर २०७६ ००:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App