coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बेलिब्रिजले खोल्यो खोटाङको पूर्वी नाका

खोटाङ र उदयपुरको सुनकोसीस्थित फोक्सिङटारमा जडान गरिएको अस्थायी बेलिब्रिजबाट ट्याक्टर पार गर्दै। तस्बिरः गंगा राई

खोटाङ– खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरिएको छ। दिक्तेल–गाईघाट सगरमाथा राजमार्ग सडक खण्ड अन्तरगत खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिकाको आँपटार जोड्ने सुनकोसीस्थित फोक्सिङटारमा बेलिब्रिज जडान गरिएको हो।

फोक्सिङटारमा बेलिब्रिज जडानको काम सम्पन्न भएपछि शुक्रबार साँझदेखि खोटाङ र पुर्वी तराई जोड्ने दोश्रो सिधा र छोटो बाटो खुलेको प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले बताए। हिउँदभरी सञ्चालन गर्ने र वर्षामा झिक्नेगरी फोक्सिङटारमा करिब ५० मिटर लम्बाई भएको अस्थायी बेलिब्रिज जडान भएपछि खोटाङको सिमपानी, खोटाङबजार, मानेभञ्ज्याङ, पञ्चमीबाट समेत गाईघाटका लागि सिधा यातायात सेवा सुचारु भएको छ।

फोक्सिङटारमा बेलिब्रिज नहुँदा पूर्वी शहर जान–आउनकालागि एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग हुने गरेको छ। फोक्सिङटारको पक्की पुल निर्माणको काममा ढिलासुस्ती भएको अवस्थामा अस्थायी बेलिब्रिज राख्ने गरिएको छ। ‘पक्की पुल निर्माणमा भएको विलम्वका कारण विगत चार वर्षदेखि छ महिनाका लागि बेलिब्रिज चलाएर नारायण गोपालको गीतमाजस्तो मुटुमाथि ढुंगा राखी हाँस्नुपर्‍या छ जस्तो भएको छ,’ प्रतिनिधि सांसद भट्टराईले भने, ‘पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विरुद्ध क्षमताले भ्याएसम्म आवाज उठाइरहेकै छु।

अर्को वर्ष अनुत्पादक खर्च हुने यस्तो बेलिब्रिज होईन, पक्की पुलमा हिँउद वर्षा नदी तर्न पाइयोस्।’ १०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएसँगै दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, बिराटनगर लगायतका शहर जाने दोश्रो र छोटो बाटो खुलेको छ। अस्थायी बेलिब्रिजका कारण दिक्तेलबाट सिधा गाईघाट पुगेपछि पुर्वी तराईका सबै जिल्ला पुग्न र आउन सकिने वातावरण बनेको खोटाङ यातायात प्रालिका अध्यक्ष गणेशबिक्रम शाहीले बताए। फोक्सिङटारमा पक्की पुल निर्माण भए बार्‍हैमास दिक्तेलबाट पूर्वी शहर आउ–जाउ गर्ने छोटो मार्ग खुल्ने छ।

पूर्वी शहर जोड्ने बाटोमा राखिएको बेलिब्रिजले सस्तो दरमा उपभोग्य सामान भित्रिने व्यवसायीको भनाइ छ। म्याद गुज्रेको वर्षौँ बित्दासमेत पक्की पुलको पिलर ठड्याउने काम समेत पूरा हुन नसकेको अवस्थामा फोक्सिङटारमा बेलिब्रिज राख्ने गरिएको हो। फोक्सिङटारमा बेलिब्रिज नहुँदा दिक्तेलबाट रसुवाघाट र गाईघाटबाट फोक्सिङटारसम्म मात्र यातायात सेवा सञ्चालन हुँदै आएको थियो।

फोक्सिङटारको बेलिब्रिजले खोटाङको दक्षिणी क्षेत्र र भोजपुरको सिमाबाट निर्माण गरिएको पानधारे–रोक्सिङभञ्ज्याङ–ईन्द्रेणीपोखरी–सिमपानी–रसुवाघाट क्षेत्रीय सडकबाट समेत सिधै गाईघाट जाने बाटो खुलाएको छ।


 

प्रकाशित: २७ मंसिर २०७६ १५:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App