७ वैशाख २०८१ शुक्रबार
समाज

पर्यटकीयस्थलमा उद्यौली साकेला

खोटाङको मझुवागढीमा साकेला नाच्दै किरात राई समुदाय । तस्बिर/नागरिक

खोटाङ – उद्यौली पर्वको अवसरमा खोटाङको पर्यटकीयस्थलमा साकेला शिली नाचिएको छ। किरात समुदायको महान चाड उधौली साकेला यलेदोङको अवसरमा किरात राई समुदायले बिहीबार शुभकामना आदान–प्रदान गर्दै जिल्लाका मझुवागढी, रुपाकोट, महुरेगढी, बगरेभञ्ज्याङ, तुवाचुङ लगायतका स्थलमा साकेला नाचेका हुन्। किरात समुदायमा नयाँ अन्न बाली भित्र्याएको खुसीयालीमा ‘अन्नको सह बसोस्, अन्नमा चरा मुसा नलागोस्’ भन्दै पितृ र प्रकृति पुज्नेक्रममा मंसिर पूर्णिकाका दिन साकेला नाच्दै उद्यौली पर्व मनाउने गरिन्छ।

किरात राईको सँस्कृतिलाई प्रचार–प्रसार एवं संरक्षण गर्दै जिल्लाको पर्यटन प्रबद्र्धनका लागि पर्यटकीय स्थल, साकेला थान र गढीमा विगत छ वर्ष यता साकेला नाच्ने गरिएको छ। उद्यौली जिल्लाका विभिन्न ठाउँमा महिना दिनसम्म मनाइने किरात राई यायोक्खाका जिल्ला सचिव युगसन किरातले बताए।

मंसिर पूर्णीमाका दिनबाट सुरु हुने उधौली पर्वलाई मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाइँ सर्ने समय भएको संकेतकारुपमा पनि लिने गरिन्छ। ‘पाकेको अन्न भित्र्याए पछि पितृ र प्रकृतिको पूजा गर्नेक्रममा उद्यौली मनाउने गरिन्छ,’ सचिव राईले भने, ‘पहिला–पहिला पन्ध्र दिन मनाउने गरिएको उद्यौली हाल मंसिर पूर्णिमाको दिन मात्र मनाउने गरिएको छ।’

पुर्वी नेपाल लगायत किरात समुदायको बस्तीमा अन्नबाली लगाउने बेला वैशाख पूर्णिमामा उभौली तथा अन्नबाली पाकेपछि उद्यौली पर्व मनाउने प्रचलन छ। किरात समुदायमा पाकेको अन्न पितृलाई नचढाइ खान हुने विश्वार रहिआएको छ। उभौली र उद्यौलीलाई किरात समुदायले छोरीचेली, बाउमाईती, आफन्त, ईष्टमित्र भेटघाट गर्ने अवसरको रुपमा पनि लिने गरिन्छ।

परम्परागत भेषभुषामा सजिएका बालकदेखि बुढापाका पुरुष ढोलझ्याम्टा बजाउँदै र साकेला गाउँदै पर्यटकीयस्थल, साकेला थान र गढीमा पुगेका थिए। जाडो मौसममा रमाईलो गर्दै अग्लो डाँडामा पुगेका स्थानीयले ढोलझ्याम्टाको तालमा साकेला नाचेर रमाईलो गरेका छन्। कतिपय स्थानीय उद्यौलीको अघिल्लो दिन नै रुपाकोटमा पुगेर बास बस्ने गरेका छन्। उद्यौली र उभौलीमा मछामा, चावा, बोखोत्तो, आम्लामी, ङासा, हेच्छाकुप्पा, कुपामा, तावा, बम्लाती लगायतका लोपोन्मुख बन्दै गएको शिली नाच्ने गरिन्छ। पूराना किसिमका साकेला नाच बुढापाको अन्त्यसँगै लोपोन्मुख बन्दै गएको छ।

साकेला उद्यौलीमा सार्वजनिक बिदा
साकेला उद्यौली चाडको अवशरमा हलेसी तुवाचुङ नगरपालिकाले सार्वजनिक विदा दिएको छ। किरात राई समुदायको उधौली, धान्य पुर्णीमा तथा योमरी पुन्हिको अवशरमा नगरपालिकाले बिहीबार एक दिन सार्वजनिक बिदा दिएको हो। किरात राईको बाहुल्यता भएको नगरपालिकामा अधिकांश स्थानीय उधौलीमा सहभागी हुने भएकाले सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ।

 

प्रकाशित: २६ मंसिर २०७६ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App