coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रकको ठक्करबाट घाइते बालिकालाई थप उपचारका लागि काठमाडौं पठाइयो

नेपालगन्ज- कोहलपुरमा ट्रकको ठक्करबाट गम्भिर घाइते भएकी बालिकालाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ। काठमाडौंबाट हेलिकप्टर मगाएर आइतबार अपरान्हतिर लैजाने तयारी गरिएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले नागरिकलाई जानकारी दिए। ‘ट्रकको ठक्करबाट घाइते बालिकको अवस्था गम्भिर भएको हुँदा थप उपचारका लागि काठमाडौं लैजाने हाम्रो तयारी छ, त्यसका लागि हेलिकप्टर मगाएका छौंं,’ उनले भने।

कोहलपुरबाट नेपालगन्जतर्फ आउँदै गरेको ना२ख ९४५९ नम्बरको ट्रकले आइतबार बिहान करिब साढे १० बजेतिर स्थानीय त्रिभुवन माध्यामिक बिद्यालयको कक्षा ७ मा अध्ययनरत छात्रा प्रकृती चन्दलाई ठक्कर दिएको थियो। ट्रकले दुबै खुट्टा किचेर गम्भिर घाइते भएकी कोहलपुर नगरपालिका वडा नम्बर ११ निवासी १२ बर्षिया बालिकाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ।

घटनापछि आक्रोशित भएका विद्यार्थी तथा स्थानीयवासिन्दाले ट्रकमा आगो लगाईदिएका छन्। ट्रक पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। आन्दोलनका कारण अहिले पनि कोहलपुरको अवस्था तनावग्रस्त रहेको सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। घटनापछि नेपालगन्ज–कोहलपुर सडक खण्डमा यातायात सेवा बन्द भएको छ। ‘अवस्था अझै नियन्त्रणमा आएको छैन, अहिले आन्दोलनकारीले ईलाका प्रहरी कार्यालयमै पुगेर घेराउ गरिरहेका छन्, प्रहरी नै अप्ठ्यारो अवस्थामा छ, हामी पनि घटनास्थलमा पुगेर अवस्था सामान्यतर्फ लैजाने कोसिसमा छौं,’ सहायक प्रजिअ उपाध्यायले भने।

ईलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका एक आन्दोलनकारी विद्यार्थी गोली लागेर घाइते भएको बाहिरतिर हल्ला चलेपनि एकिन भएको छैन। सहायक प्रमुख जिल्ला अधिकारी उपाध्यायले प्रहरीको गोली लागेर कोहीपनि घाइते नभएको दावी गरे। ‘ट्रकको ठक्करबाट घाइते भएकी बालिका बाहेक त्यस पश्चात अरु कुनै व्यक्ति घाइते भएको भन्ने जानकारी प्रशासन कार्यालयमा आएको छैन,’ उनले थपे।

जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालयका प्रहरी अधिकारीले सञ्चारकर्मीको फोन उठाएका छैनन्। प्रहरी अधिकारी नै सम्पर्कमा नआउँदा जिल्लाका सञ्चारकर्मीलाई समाचार सम्प्रेशन गर्न कठिनाई भएको छ। आन्दोलनलाई नियन्त्रणमा लिन प्रहरीले पटक हवाई फायर तथा अश्रुग्याँस प्रहार गरिरहेको छ।

 

 

प्रकाशित: २२ मंसिर २०७६ ०८:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App