१५ चैत्र २०८० बिहीबार
समाज

राष्ट्रिय प्रसारण लाइनमा २५ मेगावाट विद्युत थपियो

पुनर्निर्माण गरिएको भोटेकोसी जलविद्युत आयोजनाको बाँध। तस्बिरः ध्रुव/नागरिक

सिन्धुपाल्चोक- मुलुककै निजी क्षेत्रको सबैभन्दा ठूलो ४५ मेगावाट क्षमताको भोटेकोसी जलविद्युत आयोजनाले शनिबारदेखि उत्पादन थालेको छ। विद्युत उत्पादनसँगै आयोजना परीक्षण प्रशारणमासमेत गएको छ।

साढे तीन वर्षअघिको भोटेकोसी बाढीले क्षतिग्रस्त संरचना पुनर्निर्माण सकिएपछि आयोजनाले उत्पादनसँगै परीक्षण प्रशारण सुरु गरेको हो। आयोजना सञ्चालक भोटेकोसी पावर कम्पनीका महाप्रवन्धक बिक्रमरत्न स्थापितले मध्याह्न १२ बजेदेखि उत्पादित विद्युत परीक्षण प्रशारणमा गएको बताए।

‘उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ,’ उनले नागरिकसँग भने। १५ दिनको परीक्षण प्रशारणपछि आयोजनाले व्यवसायिक उत्पादन थाल्ने उनले जानकारी दिए। कम्पनीले २० महिना समय लगाएर मंसिर पहिलो साता आयोजना पुनर्निर्माण सकेको थियो। पुनिर्निर्माण सकिएपछि आयोजनाले संरचना र मेशिनरी उपकरणको परीक्षण गरेको थियो।

विद्युत प्राधिकरणलेसमेत गरेको परीक्षण सफलतापूर्वक सम्पन्न भएपछि आयोजनाले प्रशारणको अनुमति पाएको महाप्रवन्धक स्थापितले बताए। प्राधिकरणले आठ दिन लगाएर आयोजनाका मेशिनरी उपकरण परीक्षण गरेको थियो। आयोजनाका दुईवटै युनिटले काम गरेको उनले जानकारी दिए। स्थापितका अनुसार हिमनदी भोटेकोसीको बहाव घट्ने हिउँदको समय भएकाले आयोजनाले पूर्णक्षमतामा भने विद्युत उत्पादन गरेको छैन।

‘२२–२५ मेगावाट क्षमतामा विद्युत उत्पादन भएको छ,’ उनले भने। उत्पादित विद्युत क्षमताको झण्डै आधा मात्र हो। चैतदेखि नदी सतह बढ्न थालसँगै विद्युत थपिँदै जाने र असारदेखि पूर्ण क्षमतामा उत्पादन हुने आयोजनाले जनाएको छ। २०७३ असार २१ गते तिब्बती हिमताल फुटेर आएको भोटेकोसी बाढीले प्रारम्भदेखि नै पुनर्निर्माण गर्नुपर्ने गरी आयोजना क्षतिग्रस्त बनाएको थियो। चिनियाँ ठेकेदार कम्पनी सिनो हाइड्रो ११ व्यूरोले ‘फास्ट ट्रयाक’मार्फत ठेक्कामा आयोजना पुनर्निर्माण सकेको कम्पनीले जनाएको छ।

ठेक्का र आयोजनाको समग्र पुनर्निर्माणमा सात अर्व रुपैयाँ खर्च भएको कम्पनीका महाप्रवन्धक स्थापितले जानकारी दिए। पुनर्निर्माणमा खर्च भएको रकम नयाँ आयोजना बनाएसरहकै लागत भएको कम्पनीको भनाई छ। उसकाअनुसार क्षति धेरै भएकाले लागत बढेको हो। भूकम्प, बाढीलगायत प्राकृतिक प्रकोपबाट पाठ सिक्दै आयोजना पहिलेका भन्दा बलियो बनेको कम्पनीले दाबी गरेको छ। आयोजनाको बाँध, उत्पादनगृह, पेनस्टक पाइपलाई छुट्टै संरचनाद्धारा संरक्षण गर्ने काम भएको छ। कम्पनीले आयोजनाको सबै इलेक्ट्रोनिक्स सामान नयाँ फेरेको जनाएको छ।

भोटेकोसी बाढीले तातोपानीको १० किलोस्थित आयोजनाको बाँध पुरिदिएको थियो भने त्यहाँ ठूलो परिमाणमा ग्रेगर र ठूल्ठुला ढुंगा थुप्रिँदा बाँध फुट्नुका साथै हेडवक्र्स नै क्षतिग्रस्त बनेको थियो। बाढीले बाँधको एउटा भाग खोतलेर बालुवा थेग्राउने पर्खाल ध्वस्त बनाउँदै पावर हाउसको इलेक्ट्रो मेकानिकल संरचनामा क्षति पुर्‍याएको थियो ।

२०७२ वैशाख १२ को भूकम्पले आयोजनामा ठूलो क्षति पुर्‍याएको थियो। भूकम्पबाट आयोजनाले तीन अर्व रुपैयाँको भौतिक नोक्सानी बेहोरेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार २५ मिलियन अमेरिकी डलरमा आयोजना मर्मत ८० प्रतिशत सकिँदा बाढी निम्तियो। भूकम्पबाट क्षतिग्रस्त आयोजनाका दुईमध्ये एक जेनेरेटरको परीक्षण सफल भइ अर्कोलाई हिटिङ दिने काम भइरहँदा बाढीले सबै काम व्यर्थ बनाउँदै भूकम्प अघिकोभन्दा ठूलो क्षति पुर्‍याएको थियो। कम्पनीका अनुसार पटक–पटकको प्राकृतिक प्रकोपले सुरु लगानी मूल्यको ६० प्रतिशतभन्दा बढी लागत आयोजनाले नोक्सानी बेहोर्नु परेको छ। बाढी अघि आयोजनाको कुल मूल्य ९८ मिलियन अमेरिकी डलर (झण्डै १० अर्व रुपैयाँ) थियो।

पुनर्निर्माणपछि आयोजनाको कुल मूल्य १७ अर्व रुपैयाँ पुगेको छ। यसअघि २०७१ साउन १७ को जुरे पहिरोले ट्रान्समिसन लाइन बगाउँदा आयोजनाको उत्पादन ६ महिना रोकिएको थियो। मर्मतपछि आयोजना उत्पादनमा गएको चार महिना बित्न नपाउँदै भूकम्प गएको थियो। भूकम्पपछि आयोजनाको उत्पादन बन्द हुँदै आएको छ। लगातार पाँच वर्षदेखि आयोजना बन्द हुँदा कम्पनीले वार्षिक २२–२४ मिलियन अमेरिकी डलर बिद्युत महसुल नोक्सानी व्यहोर्दै आएको छ।

भोटेकोसी गाउँपालिकाको तातोपानी र फूल्पिङकट्टीमा रहेको आयोजनाले सुरुका १० वर्ष ३६ मेगावाट विद्युत उत्पादन गर्दै आएको थियो। आयोजना सन् २०११ मा विद्युत खरिद सम्झौता (पिपिएं) पछि ४५ मेगावाट क्षमतामा गएको थियो।
    
 

 

प्रकाशित: २१ मंसिर २०७६ १०:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App