coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बालसुधार गृहमा क्षमता भन्दा दोब्बर बालबालिका

डोटी- मुलुकी अपराध संहिता–२०७४ ले दश वर्षदेखी चौध वर्ष भन्दा कम उमेरसम्मको बालबालिकाले कैद सजाय हुने कसूर गरेमा बढीमा एक वर्ष सुधार गृहमा राख्ने व्यवस्था गरेको छ। यस्तै १४ वर्ष वा माथिदेखि १६ वर्षमुनीको बालबालिकाका हकमा भने कैद सजाय हुने कसूर गरेमा आधा समय सजाय हुने व्यवस्था छ। जसमा पनि सुधार गृहमै राख्नुपर्ने कानुनी प्रावधान छ।

सोही व्यवस्थालाई कार्यान्वयन गर्नेगरि २०७५ भदौंमा सिलगढीमा सुदूरपश्चिममा एक मात्र बालसुधार गृह स्थापना गरिएको थियो। जसको एक वर्षमै क्षमता भन्दा झण्डै दोब्बर चाप बढेको छ। सो सुधार गृहमा २५ जना बालबालिकाको क्षमता रहेकोमा हाल ४८ जना पुगेका छन्।

क्षमता भन्दा बढी बालकहरु भएपछि व्यवस्थापनमासमेत कठिनाई सिर्जना भएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए। ‘उसैपनि सिमीत स्रोतसाधन भएकाले खाना, लत्ताकपडा आदीको समस्या भईनै रहेको छ,’ बालसुधार गृह व्यवस्थापन समितिका संयोजक रहेका उनले भने, ‘झन् हिउँदे महिना भएपछि कठिनाई चुलिएको छ।’

सुधार गृहमा २५ रहेका बालबालिकाहरुको चापलाई मध्यनजर गर्दै बजेट आउने नगरेको उनले बताए। ‘२५ जनाको कोटामा सोही अनुसार नै बजेट हुन्छ,’ उनले भने। यसबाहेक अदालतमा हाजिर गराउन, लैजादाको सुरक्षा व्यवस्थापन, गाडीको प्रबन्ध लगायतमा पनि समस्या हुनेगरेको उनले बताए।

सिमित बजेटकै कारण सुधार गृहको गुणस्तर कायम गर्न पनि समस्या भईरहेको बालसुधार गृहकी प्रशासकीय अधिकृत सानुमाया लिम्बुले बताइन्। उनले भनिन्, ‘सबै खर्च मिलाउनुपर्ने भएकाले खानपान तथा बसाईमा गुणस्तर कायम गर्न सकिने अवस्था छैन।’

देशभरका जम्मा ८ वटा बालसुधार गृहमध्ये सुदूरपश्चिमको यो एकमात्र हो। यहाँ हाल सुदूरपश्चिम र ५ नम्बर प्रदेशका बालकहरु राखिएका छन्। यहाँ राखिएका ४८ जना बालकहरुमध्ये १२ जनाको अदालतले अन्तिम फैसला गरिसकेको छ। अन्य ३६ जना पुर्पक्षका लागि बालसुधार गृहमा राखिएको बालसुधार गृहले जनाएको छ।

 

प्रकाशित: २१ मंसिर २०७६ ०९:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App