१६ चैत्र २०८० शुक्रबार
समाज

निगमको वाइडबडी जहाजको दैनिक ११ घण्टा उडान

काठमाडाैं- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले अहिले औसत दैनिक १०.८ घण्टा उडान भर्दै आएको छ। नियामक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको चालू आर्थिक वर्ष २०७६/७७ को प्रथम चौमासिक समीक्षा प्रतिवेदनअनुसार निगमको वाइडबडी जहाजको औसत उडान कम देखिएको हो। 

अन्तर्राष्ट्रिय उडानमा प्रत्येक जहाज दैनिक कम्तीमा १४ घण्टा सञ्चालन हुनुपर्ने व्यवस्था छ। गन्तव्य विस्तारमा भइरहेको डिलाई तथा लामा गन्तव्यको अभावका कारण पनि निगमको वाइडबडी लामो समय उड्न नसकेको सम्वद्ध अधिकारी बताउँछन्। निगमले गत भदौ १२ गतेदेखि जापानको ओसाकामा सिधा उडान भर्दै आएको छ। यो गन्तव्य झण्डै सात घण्टा लामो हुन्छ। 

निगमको न्यारोबडी ए ३२० जहाजको उडान भने वाइडबडीको तुलनामा सन्तोषजनक छ। न्यारोबडीको औसत दैनिक उडान १२.९ घण्टा रहेको छ। एक महिनाअघि निगम मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा निगमका कार्यकारी अध्यक्ष अध्यक्ष मदन खरेरले वाइडबडी जहाजले दैनिक १३ घण्टा उडान गर्दै आएको बताएका छन्।

मन्त्रालयको प्रतिवेदनअनुसार वाइडबडी जहाजको हालको प्राविधिक जनशक्ति स्थायी र करार गरी २६ जना पाइलट छन्। निगमले हाल सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । छिट्टै जापानकै नारिता, चीनको ग्वाङ्जाओ, साउदी अरब, दक्षिण कोरियालगायत गन्तव्यमा समेत उडान प्ररम्भ गर्ने योजना बनाएको छ।

निगमले अहिले भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक, कतार र जापानको ओसाका उडान भर्दै आएको छ। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए३३० र दुई न्यारोबडी ए३२० जहाज छन्।

सीमित स्रोतसाधन र जनशक्तिका बीच पनि निगमले अन्तर्राष्ट्रिय उडान गर्ने वायु सेवा कम्पनीको तुलनामा आफूलाई अब्बल तुल्याएको छ । निगमको वार्षिक प्रतिवेदनअनुसार सन् २०१८ मा नेपालमा अन्तर्राष्ट्रिय उडान भर्ने वायु सेवा प्रदायक कम्पनीमा नेपाल एयरलाइन्स पहिलो स्थानमा पुग्न सफल भएको थियो। उक्त अवधिमा निगमले चार लाख ९३ हजार १७० यात्रुलाई सेवा दिई आफ्नो बजार हिस्सा ११.७ प्रतिशत ओगट्न सफल भएको थियो। नेपाल एयरलाइन्सले अघिल्लो वर्ष एक नम्बरमा रहेको भारतको जेट एयरलाई उछिन्न सफल भएको थियो। हाल तीन नेपालीसहित २८ वटा वायु सेवा प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय उडान भर्र्दै आएका छन्। रासस

प्रकाशित: २० मंसिर २०७६ १५:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App