१६ चैत्र २०८० शुक्रबार
समाज

हरिपूर्वा नगरपालिका कार्यालयमा विद्यार्थीद्धारा तोडफोड

सर्लाही- जिल्लाको दक्षिण–पूर्वी क्षेत्रस्थित हरिपूर्वा नगरपालिका कार्यालयमा शुक्रबार विद्यार्थीहरुले तोडफोड गरेका छन्। 

हरिपुर्वा बजारस्थित नगरपालिका कार्यालय अगाडिनै रहेको केश्वर गरिव जनता माध्यमिक विद्यालयका विद्यार्थीले ताेडफाेड गरेका हुन्। विद्यालयमा सिभिल इन्जिनियरिङ विषय पढाउनका लागि नियुक्त गरिएका एक जना इन्जिनियर र दुई जना ओभरसियरको विषयमा हरिपुर्वामा लामाे समयदेखि स्थानीयबीच विवाद चल्दै आएको छ। 

विद्यालयले प्राविधिक विषयका तीनजना शिक्षक मनोमानी हिसाबले नियुक्त गरेको दाबीसहित अख्तियारमा मुद्दा परेपछि हाल त्याे विषय अध्यापन नै हुन सकेकाे छैन। शिक्षक अभावमा लामाे समयदेखि पढाई नभएको भन्दै नगरपालिका कार्यालय गुनासाे गर्न पुगेका विद्यार्थीहरुले कार्यालयमा तोडफोड गरेका हुन्।

प्रधानाध्यापक रामपृत महताेलाई समेत बाेलाएर नगरपालिका कार्यालय पुगेका विद्यार्थीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सकलदेव राय र प्रअबीच भनाभन भएपछि एक्कासी ताेडफाेड गरेकाे प्रत्यक्षदर्शीले बताए। छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृत रायले प्रधानाध्यापक महतोलाई हप्काएर कार्यालय बाहिर निकालेपछि विद्यार्थीहरुकाे समुह आक्रोशित भएर तोडफोड गरेकाे बताईएकाे छ। विद्यार्थीहरुले प्रमुख प्रशासकिय अधिकृत रायलाई समेत सामान्य कुटपिट गरेकाे प्रत्यक्षदर्शीले बताए। 

छेउमै रहेकाे प्रहरी चाैकीमा रहेका सुरक्षाकर्मीले तत्काल घटनास्थल पुगेर तनाव साम्य पारेको थियो। प्रमुख प्रशासकीय अधिकृत रायले आफूले प्रधानाध्यापकमाथि नराम्रो किसिमको कुनै व्यवहार नगरेको दावी गरेका छन् भने प्रअ महताेले पनि खासै विवाद नभएकाे बताए।

प्रकाशित: २० मंसिर २०७६ १४:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App