coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कर्णालीवासीका दिल भित्रका डाक्टर

जुम्ला- चार वर्षअघि जुम्ला हिमा गाउँपालिका ७ का जनक शाही पेट दुखेको भन्दै अस्पताल पुगे। उनी निकै रन्थनीएका थिए। होस थिएन। दुखाइले निकै च्यापेको थियो। बाँच्ने आशासम्म थिएन उनलाई। निकै कराउथेँ। उनको अवस्था हेर्दा सबैले आश मारिसकेका थिए। अब उनी बाँच्दैनन्। तर उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका डाक्टर निरेश थापाले बचाए।

शिक्षण अस्पताल भर्खर मात्र स्थापना भएकोले स्रोत र साधनको अभाव थियो। तर स्रोत साधनको अभावककाबीच निकै जोखिम मोलेर कर्णालीमै नभएको मिराकल अप्रेशन गरीयो। उनको पेटमा पाँच फलामका टुक्रा(घण्टाको राला) थिए।

स्थानीयका अनुसार जनकले देउता चढेको बेला एक सय ५ वटा फलामका टुक्रा निलेका थिए। फलामको टुक्रा निल्ने समयमा अछुतले छोएपछि पेटमै अड्कीएको स्थानीय बताउँछन्। तर पेटमा अड्कीएको फलामको टुक्रा अप्रेसन गरेर निकालि दिएपछि जनक निकै खुसी भए। उनले भने,‘ म देउता थिए, म देउता बिरामी भएपनि उपचार गर्ने भगवान भेटाए। यो डाक्टर सापको गुण कहिल्यै बिर्शने छैन। डाक्टर सापको जयहोस।’ यो अप्रेसनसँगै शिक्षण अस्पताल जुम्लामा पनि जटिल प्रकारको अप्रेसन हुने सन्देश फैलियो।

तीन वर्ष पहिले चन्दननाथ ४ सिमखाडाकी बिष्णुकन्या उपाध्यायको प्रतिष्ठानमा पहिलो पटक ल्याप्रोसकोपी (दूरबीनबाट)जटिल पाठेघरको अप्रेसन डाक्टर थापाको नेतृत्वमा सफल भयो। दुई वर्षदेखि निरन्तर पाठ्यघरबाट रगत बगिरहने समस्या हटेपछि उनले पुर्न जन्म पाएको अनुभव गरिन्। मृत्युको मुखमा पुगिसकेको ज्यान बचाइदिएको भन्दै उनले निकै प्रशंसा गरिन्। उनले भनिन्,‘ अस्पतालमा डाक्टर नबसेर बिरामी दुख पाउँछन् भन्ने सुनेको थिए, तर अस्पतालमा त भगवान पो बस्दा रहेछन्।

रुकुम पूर्व भूमे गाउँपालिका १ की ४१ वर्षीया मनमाला घर्ती दुई दिनको रक्तस्रावपछि जिल्ला अस्पताल पुगिन्। अहिले पनि दुर्गम क्षेत्रमा उच्च रक्तस्राव हुनाले महिलाको मृत्यु हुने क्रम रोकिएको छैन। ‘सिमित स्रोत साधनकाबीच डाक्टर थापाले रुकुम जिल्लामै पुगेर डाक्टर निरेश थापाको नेतृत्वमा पाठेघरको जटिल अप्रेसन गरेर उनको ज्यान जोगियो।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका विशेषज्ञ डा. निरेश थापाले गरेको सेवा प्रति कर्णालीका नागरिक निकै खुसी छन्। तत्कालिन उपकुलपति डा. पारस आचार्यसँगको समन्वयमा दुई महिनाको लागि शिक्षण अस्पतालमा पुगेका थापाले ६ वर्ष जुम्लामै बिताए। साना तथा ठूला गरेर सयाँै जटिल अप्रेसन गरे। डाक्टर थापाले भने,‘दुर्गममा बसेर बिरामीको उपचारमा संलग्न हुनुको मज्जा नै बैग्लै छ। सुगममा बसेर सबैले सेवा दिन्छन् तर दुर्गममा बसेर साधन स्रोतको अभावकाबीच उपचार गर्नुको आनन्द छुट्टै हुने गरेको छ।’ जुम्ला पुगेको दुई महिना पुगेपछि प्रतिष्ठानले कामको मुल्यांकन गरेर मेडिकल डाईरेक्टर बनायो। यो कार्यले अझै उर्जा मिल्यो।

ओखलढुङ्गा मिसन अस्पतालमा काम गरिरहेका डा. थापाले जुम्लामा तीन वर्ष मेडिकल डाईरेक्टरको पदमा रहँदा नतिजा देखिनेगरी काम गरे। प्रतिष्ठानको संस्थागत विकास गर्न मेडिकल स्वास्थ्य सेवा यहाँको सबैभन्दा ठूलो चुनौती थियो। डा. थापा नेतृत्वको टोलीले प्रतिष्ठानमा दिन प्रतिदिन स्वास्थ्य सेवाको स्तर बढाउने काम गरेपछि संस्थागत विकासमासमेत सहयोग पुगेको प्रतिष्ठान प्रशासन बताउँछ।  साना साना शल्यक्रिया गर्न नेपालगंज, काठमाडौं जानुपर्ने बाध्यता थियो। जसले महंगो खर्च गर्न बिवश थिए कर्णालीबासी। सबै प्रकारका सेवा जुम्लामै पाउन थालेपछि जीवनशैली पनि फेरीदै गइरहेको छ।

अहिले प्रतिष्ठानले डा. निरेश जस्तै दर्जनौ विशेषज्ञ डाक्टरहरु उत्पादन गरेको छ। कर्णालीका विभिन्न जिल्लामा पठाएर आफ्नो विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ। रुपन्देहीको सैनामैना नगरपालिका ६ निवासी डाक्टर थापाले एमबीबीएस शिक्षा चीनबाट हासिल गरे। एमडि शिक्षा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज काठमाडौंबाट गरे। कर्णालीबासीलाई स्वास्थ्य सेवा दिँदै विद्यावारिधी योग्यता क्यासर विषयमा चीनको प्रशिद्ध उहान विश्वविद्यालयबाट गर्न सफल बने। अमेरिककाको हार्वड विश्वविद्यालयबाट अनुसन्धान सम्बन्धी विशेष तालिमहरु लिइसकेका छन्।

पाठेघरको मुखको क्यान्सरको अनुसन्धान
तथ्याँकहरुले कर्णालीमा पाठेघरको मुखको क्यान्सरको भयावह अवस्था रहेको देखाउँछ। शिक्षण अस्पतालले जुम्लाकै सिञ्जा क्षेत्रमा मात्रै एकसय बढि महिलाहरुमा पाठेघरको समस्या भएको देखियो। दर्जन बढिको कर्णाली प्रतिष्ठानमा रिफर गरि उपचार गरिएको थियो। यो कार्यमा डाक्टर थापा नै संलग्न थिए। डा. थापाले भने,‘कर्णालीको यो अवस्था देखेपछि नै चीनबाट क्यान्सर उच्च शिक्षा हाँसिल गर्ने अवसर जुट्यो। जुन प्रतिष्ठानको ३ वटा खम्वा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र स्वास्थ्य अनुसन्धान मध्ये अनुसन्धान क्षेत्रलाई टेवा पुगेको देखिन्छ।’

कोरियाबाट संचालन भईरहेको जर्नल अफ गाईनाकोलोजी अनकोलोजी जर्नलमा प्रकाशित डा. थापाको लेख अनुसार जुम्लामा एक सय महिलामा ३ देखी ४ जनालाई पाठेघरको मुखको क्यान्सरको जोखिम हुने गरेको छ। अन्तराष्ट्रिय स्तरको विएमसि ईन्फेक्सियस डिजिज जर्नलमा प्रकाशित लेख अनुसार पाठेघरको मुखको क्यान्सर गराउने एचपिभि भाईरस जुम्लाको महिलामा देशको अन्य ठाउँभन्दा बढि देखिन्छ। अत्यान्तै महंगो मानिने एचपिभि जाँच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनुसन्धानको क्रममा सम्भव गरिएको उनी बताउँछन्। डा. थापाले अन्तराष्ट्रियस्तरको नेचर जस्ता जर्नलमा १३ भन्दा बढि लेख प्रकाशित भईसकेका छन्। ती लेख कर्णालीको स्वास्थ्य सेवासँग केन्द्रित छन्।  

अस्पताल फर्केर आउने अधिकांश बिरामीले डा. थापाको नाम लिन्छन्। उनीबाटै उपचार सेवा लिने इच्छा जाहेर गर्छन्। थापा निकै पारिवारिक वातावरणमा उपचार गर्छन्। बिरामीले अस्पतालमा आएको अनुभुति गर्न पाउदैनन्। जुम्लाका अगुवा मनोज बुढाथोकी मगर भन्छन्,‘ डा. निरेश थापा कर्णालीका भरोसा हुन्। उनले बिरामीको नाडी समात्ने बित्तिकै निको भएको महशुस गर्छन्।’ प्रतिष्ठानमा पहिलोपटक भिडियो तथा ईन्डोसकपी सेवा सुुरु, अत्याधुनिक प्रविधिबाट शल्यक्रिया, पाठेघर सम्बन्धी अध्ययनमा प्रतिष्ठानलाई निकै अघि बढाएको प्रतिष्ठानले जनाएको छ। डाक्टर बस्न नमानेर समान्य बिरामी हुँदा मृत्यु पर्खन विवश कर्णालीमा बसेर सेवा गरे वापत स्वास्थ्य दर्पण हेल्थ अवार्डबाट २०७५ बाट पुरस्कृत भए।

वर्षेनी बिरामीको संख्या बढ्दो मात्रामा
बिशेषज्ञ चिकित्सकहरुले गुणस्तरीय स्वास्थ्य सेवा दिन थालेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा वर्षेनी बिरामीको संख्या बढ्दै गएको छ। अस्पताल निर्देशक धर्मराज गोसाई कर्णाली शिक्षण अस्पतालमा आर्थिक वर्ष २०७५/०७६ मा बहिरङ्ग सेवा लिने मात्रै ४५ हजार ८३२ जना पुगेको बताउँछन्। वर्षेनी २० प्रतिशतका दरले बिरामी बढ्दो छ।   

२ सय ८६ जना बिरामीको निशुल्क सेवा गरिएको छ। यी बिरामीको लागि ७ लाख ७८ हजार ८ सय ६१ रुपैयाँ बराबरको उपचार सेवा प्रदान गरिएको अस्पताल निर्देशक गोसाइ बताउँछन्।

टुल्कीको पुर्नजन्म
हुम्ला दार्मकी टुल्की नेपाली आङ खस्ने समस्याले ग्रसित छिन्। निकै समस्या देखिन थालेपछि उनका पति दलविरले डोकोमा बोकेर मुगु अस्पतालमा पुर्‍याए। मुगु अस्पतालमा उनको उपचार हुन सकेन। दैनिक दिन रोगले च्यापेको थियो। उनलाई बोकेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइयो। डा. निरेश थापाकै नेतृत्वमा प्रारम्भिक उपचार भयो। तर पाठेघरको क्यान्सर भएकाले प्रतिष्ठानका चिकित्सकहरुले व्यक्तिगत पैसा उठाएर भरतपुर अस्पताल पठाएका थिए। हुम्लाकी टुल्की नेपाली भरतपुर पुग्दा सामाजिक अभियान्ता मदन पुरस्कार बिजेता राधा पौडेलको समन्वयमा अस्पतालका डाक्टरले स्थापना गरेको फाउण्डेसनको सहयोगमा निशुल्क उपचार सफल भयो।

घर फर्किदा उनले भनिन्,‘ मेरो जीवन बचाउने पहिलो डाक्टर जुम्लाका निरेश थापा। त्यसपछि भरतपुर चितवनका डाक्टर। सबै मेरो जीवनमा भगवान बनेर आए। यो गुन कहिल्यै बिर्शन सक्दैन। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल स्थापना हुनु पूर्व कर्णाली अस्पताल थियो। यहाँ न डक्टर बस्थे। नत औषधी उपकरण नै थियो। केवल सामान्य उपचार गराउन आएका बिरामीको रेफर गर्ने कर्मचारी मात्र थिए। तर अहिले कर्णाली अस्पताल चिकित्सकको रोजाइ बन्छ।  

प्रकाशित: २० मंसिर २०७६ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App