८ वैशाख २०८१ शनिबार
समाज

१८ वर्षदेखी दूषित पानी पिउँन बाध्य

ठाँटीकाँध गाउँपालिका–२ भिमपाइलामा आएको धमीलो पानी। तस्बिर : नागरिक

दैलेख– गाउँ नजिक पानीको मुहान छैन। टाढाबाट पानी ल्याउनका लागि कहिल्यै पनि योजना नै पर्दैन। १८ वर्षदेखी पहुँच नभएकै कारण धमीलो पानी खाईरहेको ठाँटीकाँध गाउँपालिका–२ भिमपाइलाका स्थानीय गणेश देवकोटाले खिन्न मन हुँदै भने, 'वर्षौ बित्यो गेरु माटोको धमीलो पानी खान बाध्य छौं।' यहाँ विकासको अरु कुनै माग छैन।

सफा खानेपानी गाउँसम्म पुग्ने त्यही आशामा १८ वर्ष कष्टकरसँग यहाँका नागरिकहरुले बिताएका छन्। वर्ष वर्षमा यही पानीकै कारण धेरै बिरामी पनि हुन्छन्। तर, पनि पानी खान बाध्य हुनुपर्ने स्थानीय नारायण देवकोटा बताउँछन्। 'अहिलेसम्म त बेला बेला मर्मत गरेर भएपनि त्यहि गेरु बग्ने धमीलो पानी पिईरहेका छौं।' नारायण भन्छन्, 'दुषित पानीकै कारण रोगहरुसँग लड्नुपरेको छ।’

गाउँ आसपास पानीको मुहान नहुँदा मर्मत गरेरै गाउँपरबाट भएपनि अहिलेसम्म धमीलो पानी गाउँमा आएको स्थानीयहरु बताउँछन्। धेरै रकम खर्चनुपर्ने र धेरै टाढाबाट पानी ल्याएमा मात्र सफा पानी गाउँमा आउनेछ। त्यसका लागि धेरै रकम खर्च हुनेछ। गाउँ आसपास पानीको मुहान समेत छैन। जेनतेन गरेर अलि टाढाबाट ल्याएको पानीमा फोहोर धमीलो माटो बगेर गाउँ पुगेको हो। 'त्यही धमीलो पानी खानुको बिकल्प हामीसँग छैन्।' स्थानीय देवकोटाले भने, 'अलि टाढाबाट ल्याउन या शुद्धिकरण गर्नका लागि आर्थिक अभाव छ। वर्षेनी पानीकै कारण बिरामीहरु बढीरहेका छन्।'

गाउँमा रसाउने कुवाहरु पनि १८ वर्षदेखी सुख्खा छन्। पानी सुख्खा भएपछि अलि टाढाबाट ल्याएको पानी पनि धमीलो आईरहने भएपनि यहाँका स्थानीयहरु त्यही पानी खान बाध्य भएका हुन्। धमीलो पानीकै भरमा यहाँका ४१ घरधुरीहरु रहेका छन्। पानीका लागि पटक पटक गाउँपालिकामा निवेदन दिँदा पनि सुनुवाई नभएको गाउँका अगुवा नारायण जैसीले बताए। 'गाउँमा पानीको मुहान छैन।' अगुवा जैसीले भने, 'सफा पानी पिउनका लागि योजना पार्नका लागि गाउँपालिका पुग्दा कसैले कुरा सुन्दैनन्।'

त्यहाँ खानेपानीका लागि नजिक मुहान नभएकाले बजेटको आधारले नभ्याउने भएर समस्या देखीएको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए। 'गाउँमा पानी ल्याउनका लागि मुहान धेरै टाढा छ।' अध्यक्ष शाहीले भने, 'अहिले ल्याएको पानीको मुहानमै गेरु जम्ने गरेकाले फोहोर देखीने गरेको हो। जमेको गेरु माटोलाई सफा गरेर खानुपर्ने बाध्यता रहेको छ।' खानेपानीकै कारण यहाँका स्थानीयहरुलाई थाकथलो नै छोड्नुपर्ने अवस्था छ।  

 

प्रकाशित: २० मंसिर २०७६ ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App