५ वैशाख २०८१ बुधबार
समाज

जिप दुर्घटनामा १४ को मृत्यु

दुर्घटनास्थलबाट घाइतेलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिँदै। तस्बिर : नागरिक

बागलुङ – गुल्मीको इस्मा गाउँपालिका–४ मा मंगलबार बिहान भिन्नै खालको चहलपहल सुरु भयो। कार्की बन्धुहरु एकपछि अर्को गर्दै जम्मा भए। ग१ज ५२१९ नम्बरको जिप पनि उनीहरु भेला भएको ठाउँमा पुग्यो। बागलुङ निशीखोला गाउँपालिका–२ स्थित पुख्र्यौली थलोमा कुल देवताको पूजाका लागि जान उनीहरूले सो जिप रिजर्भ गरेका थिए। जिप १४ सिट क्षमताको थियो तर यात्रा गर्ने २४ जना भए। आफूहरूसहित २६ जना हुने भएपछि चालक र सहचालकले केही बेर जिप चलाउन आनाकानी गरे। ओभरलोड हुने भएकाले गाह्रो हुने चालक र सहचालकले बताए।

एउटामात्रै जिप रिजर्भ गरेकाले त्यसैमा जाने भनेर उनीहरूले जिद्दी गरेपछि चालक र सहचालकको केही लागेन। बिहान साढे सात बजेतिर कार्कीबन्धु र उनीहरूका केही कुटुम्बसहित २४ जनालाई बोकेर जिप बागलुङ निशीखोलाका लागि हिँड्यो। साढे नौ बजेतिर बडीगाड प्रवेश गरेको जिपलाई खार बजार पुगेपछि प्रहरीले रोक्यो। क्षमताभन्दा बढी यात्रु भएकाले दुर्घटना हुन सक्ने भन्दै प्रहरीले अर्को गाडीमा जानू भनेर सातजना यात्रुलाई ओराल्यो। सातजनासँगै सहचालक पनि ओर्लिए। बालबालिकासहित १७ जना लिएर ग१ज ५२१९ नम्बरको जिपचालक निशीतर्फ अगाडि बढे।

खारबाट १७ जना बोकेर निशीतर्फ अघि बढेको जिपलाई पछ्याउँदै सहचालकसहित आठजना चढेको गाडी पनि अगाडि बढ्यो। चालकसहित १८ जना भएको जिप खार बजारबाट हिँडेको केही बेरमै इलाका प्रहरी चौकी भिमगिठेमा खबर आयो– जिप दुर्घटना भयो, थुपै्र मान्छे हताहत भए। त्यति बेला बिहानको करिब १० बजेको थियो। खबर पाएलगत्तै भिमगिठे प्रहरी चौकीका प्रहरी नायब निरीक्षक रिणबहादुर बैदवारको नेतृत्वमा प्रहरी टोली दुर्घटनास्थल पुग्यो। बडीगाड–७ भिमगिठे मध्यपहाडी लोकमार्गको घोपार्ने घुम्तीबाट जिप करिब पाँच सय मिटर तल बडीगाड खोलामा खसेको थियो। शव छरिएका थिए, जिप पनि क्षतविक्षत भएको थियो।

कूलपूजा गर्न गुल्मीको इस्माबाट कार्की बन्धु र उनीहरूका कुटुम्ब बोकेर बागलुङको निशीखोलातर्फ हिँडेको जिप बडीगाडमा दुर्घटनाग्रस्त हुँदा चालकसहित १४ जनाको ज्यान गएको हो।

स्थानीयसँगै भिमगिठेबाट पुगेको प्रहरी टोली उद्धारमा खटियो। थप सहयोगका लागि बुर्तिबाङ र हरिचौरबाट प्रहरी सहयोग मागियो। ‘हामी दुर्घटनास्थल पुग्दा अवस्था निकै कहालीलाग्दो थियो,’ इलाका प्रहरी चौकी भिमगिठेका प्रहरी नायब निरीक्षक बैदवारले भने, ‘सायद ओभरस्पिडका कारण दुर्घटना भएको होला। सडक छेउका चार–पाँचवटा सिमेन्टका पोल भाँचेर गाडी तल खोलामा खसेको थियो।’

प्रहरीका अनुसार जिपमा रहेका चालकसहित १४ जनाको दुर्घटनास्थलमै ज्यान गएको हो। दुर्घटनामा ज्यान गुमाउनेमा इस्मा गाउँपालिका–४ का ४० वर्षीया सीता कार्की, उनकी दुई वर्षीया छोरी अनुशा, ६५ वर्षीय झवि कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीया भूमि कार्की, २५ वर्षीया मीना बस्नेत, ६५ वर्षका धनबहादुर कार्की, ३० वर्षीया सूचना कार्की, सवारीधनी तथा चालक २५ वर्षीय रेशम थापा, इस्मा–५ की ४० वर्षीया बसुन्धरा कार्की, इस्मा—३ की अन्दाजी २२/२३ वर्षीया माया थापा, नवलपरासी बर्दघाट नगरपालिका–२ की ६० वर्षीया मुमा कार्की, बागलुङ बडिगाड—५ की ५५ वर्षीया लक्ष्मी केसी र कञ्चनपुर जिल्ला बस्ने ५५ वर्षीय धनबहादुर कार्की रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रवक्ता डिएसपी झपिन्द्रप्रसाद भट्टराईले जानकारी दिए। जिपमा रहेका तीनजना गम्भीर घाइते र एकजना बेपत्ता छन्।

गम्भीर घाइते इस्मा–४ का चार वर्षका हिमाल कार्की (मृतक सूचना कार्कीका छोरा), निमा केसी र नवलपरासी बर्दघाट नगरपालिका–२ का २२ वर्षीय जीवन कार्कीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले बताए। घाइतेलाई लिन पूर्वमन्त्री गोकर्ण बिष्ट नेपाली सेनाको हेलिकोप्टरमा बुर्तिबाङ आएका थिए। दुर्घटनामा परेको जिपमा रहेका इस्मा–४ का ६५ वर्षीय धनबहादुर कार्की बेपत्ता छन्। उनको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

मृतकको शव दुर्घटनास्थलमै पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको छ। इस्मामा रहेका कार्की बन्धुको मूल थलो बागलुङ निशीखोला–२ बायखोला हो। बायखोला पुख्र्यौैली थलो भएका कार्कीका १५/२० घरपरिवार इस्मामा छन्। कार्की बन्धुले हरेक तीन वर्षमा बोकाका वलिसहित कुलपूजा गर्छन्। जानकारका अनुसार इस्मा बस्ने कार्कीले घरधुरी संख्या बढ्दै गएपछि केही वर्ष गाउँमै कुल देवताको पूजा गरे। तर हरेक पटकको कुलपूजामा केही न केही नराम्रो घटना भएपछि इस्माका कार्कीबन्धुले पुख्र्यौली थलो बायखोला जम्मा भएर कुलपूजा गर्न थालेका थिए।

कुलपूजाका लागि दुईवटा बोकासहित हिँडेका इस्माली कार्की बन्धुले दुर्घटनामा ज्यान गुमाएपछि इस्मा र निशीखोला शोकमा डुबेको छ। ‘शुभकार्यमा इस्माबाट हिँडेका दाजुभाइलाई बाटैमा अशुभ भयो। हामीले यता पूजाको तयारी गर्दै थियौं, उताबाट आउने दाजुभाइ दुर्घटनामा परेको खबरले अहिले गाउँ नै शोकमा डुबेको छ,’ निशीखोला–२ का अशोक कार्कीले भने, ‘उत्सव मनाउनुपर्ने ठाउँ अहिले शोक र आँशुमा छ।’ करिब एक सय ५० घरपरिवारका कार्की बन्धु कुलपूजाका लागि बायखोला जम्मा भएका थिए। मंगलबार कुलपूजा गरेर बायखोलामा दाजुभाइसँग रमाइलो गर्ने र बुधबार फर्कने भन्दै उनीहरू इस्माबाट हिँडेका थिए।

प्रहरीले तीव्रगतिका कारण दुर्घटना भएको हुनसक्ने बताएको छ। ‘चालक पनि पहिलोचोटी यो बाटोमा आएका रहेछन्, गति तीव्र भएका कारण घुम्तीमा स्टेरिङ नमोडिएर खोलामा खसेजस्तो देखिन्छ,’ इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक सुरज खड्काले भने।

सपनाझैं लागेको छ : हचालक हिताङ
दुर्घटनामा परेको जिपका सहचालक कर्णबहादुर हिताङ खार बजार पुगेपछि सातजना यात्रुसहित अर्को गाडीमा चढेका थिए। हिताङसहित आठजना चढेको गाडीले जिपलाई पछ्याउँदै अघि बढेको थियो। हिताङ आफ्नै आँखा अगाडि चलचित्रमाझैं जिप सडकबाट तल खसेपछि उनलाई सपना जस्तै लागेको छ। ‘मलाई त सपनाझंै लागिरहेको छ, केही मेसो पाउन पनि सकेको छैन,’ हिताङले भने, ‘आँखैअघि जिप खोलामा झ-यो। खासै तीव्र्र गति पनि थिएन। यही हुन लेखेरै यस्तो भएको होला।’ हिताङ र चालक रेशमले इस्मामै यात्रु धेरै भएकाले गाह्रो हुने बताएका थिए। ‘१४ जनाको सिट छ तपाईहरु दोब्बर हुनुहुन्छ, यसरी लैजान गाह्रो हुन्छ, बाटोमा चेकिङ हुन्छ भनेका थियोैंं, उहाँहरुले मान्नुभएन, यस्तो हुन लेखेको रहेछ,’ हिताङले भने।

प्रकाशित: १८ मंसिर २०७६ ०१:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App