coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पाटन विमानस्थल कालोपत्रे हुन सकेन

बैतडी- म्याद सकिएको १६ महिना बित्दासमेत बैतडीको पाटन विमानस्थल कालापत्रे हुन सकेको छैन। २०७५ को असारमै कालोपत्र गरिसक्ने गरी निर्माण कार्य भए पनि डेढ वर्ष हुनै लाग्दा पनि कालोपत्रे हुन सकेको छैन।

ग्याल्वा च्यामलिङ्ग जगदम्बा जेभीले निर्माणको जिम्मा लिएको विमानस्थलमा अन्य काम सम्पन्न गरिए पनि कालोपत्रे मात्रै बाँकी रहेको छ।  निर्माण सामग्रीको अभावले काम पूरा हुन नसकेको निर्माण कम्पनीका इञ्जिनियर पुरन रावलले बताए। निर्माण सामग्रीको अभावले तोकिएको समयमा काम पूरा हुन नसकेको र अब कालोपत्रे गर्ने मेसिन जडान भइसकेकाले यो महिनाभित्र विमानस्थल कालोपत्रे गरिसक्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए। ठेक्का भइसकेपछि विविध कारणले काम समयमै सुरु नहुँदा पनि समस्या भएको इन्जिनियर रावलको भनाई छ।

विमानस्थल निर्माण सुरु भएपछि इन्धनको अभाव, बेलाबेलामा हुने बन्द हडताल र निर्माण कम्पनीको पनि लापरवाहीले समयमै  काम सम्पन्न हुन नसकेको बताइएको छ। पाटन विमानस्थललाई स्तरोन्नति गर्ने कार्य अन्तर्गत ९० प्रतिशत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ। बर्खामा कालोपत्रेको काम रोकिएको हो। बर्खा सकिने बित्तिकै कालोपत्रेको काम सुरु गर्ने इञ्जिनियर रावलले बताए। विमानस्थलाई कालोपत्रे गर्ने कार्य अन्तर्गत बेस, सवबेस र ड्रेनको सबै काम सकिएको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

२०७३ को चैतमा सम्झौता भएर विमानस्थल पुनःनिर्माणको काम सुरु भएको हो। पाटन विमानस्थलमा पाँच सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइको रनवे कालोपत्रे गरिने छ भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिने छ। सो कार्यका लागि मूल्य अभिवृद्धि करबाहेक ११ करोड २९ लाख रुपैयाँ लागतमा काम भइरहेको छ।

२०३२ मा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाइ सेवा सुरु भएको थियो। २०५२ सालदेखि विमानस्थल बन्द भएको हो। पहाडी जिल्लामा सडक सञ्जाल पुगेको र यात्रु कम भएको भन्दै विमान चल्न  बन्द गरिएको थियो। विमानस्थल सुचारु भए सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानीयले सहज रुपमा हवाइ यात्रा गर्न पाउनुका साथै यहाँका धार्मिक पर्यटकीयस्थलको प्रचारप्रसारमा टेवा पुग्ने स्थानीय बताउँछन्। विमानस्थल कार्यालयको भवन तत्कालिन द्वन्द्वकालमा ध्वस्त भएको थियो।  हवाइ सेवा बन्द भएपछि विमानस्थल गौचरन, खेलमैदान तथा सवारीसाधन सिक्ने मैदानमा परिणत भएको थियो ।

पाटन विमानस्थल कैलालीको गेटापछि सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो। नेपाल सरकारले घोषणा गरेको १० नमुना सहरमध्ये पाटन एक सहर भएपछि स्थानीयले विमानस्थल सञ्चालन गर्नु पर्ने माग गरेका हुन्।  नेपाल भ्रमण वर्ष २०२० को तयारी भइरहदा विमानस्थल सञ्चालन हुने सके पर्यटक आकर्षित हुने स्थानीय बताउँछन्।

सुदूरपश्चिमको बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकामको रुपमा परिचित छ। हवाई सेवाको सहजताले पर्यटक भित्राएर यहाँका स्थानीयको आयआर्जनमा समेत टेवा पुग्ने पाटनका स्थानीय हरिश बिष्टले बताए। धार्मिक पर्यटनको सम्भावना बोकेको यस क्षेत्रमा विभिन्न धार्मिक मठमन्दिर रहेका छन्। विमानस्थल सञ्चालन भएपछि यहाँका स्थानीयले सहज रुपमा हवाइ सेवा पाउनुका साथै पर्यटकीय स्थलको पहिचान गर्न सहज हुने देखिएको छ।

 

प्रकाशित: १६ मंसिर २०७६ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App