२८ असार २०७७ आइतबार
समाज

द्वन्दपीडित मेघमाली, कतिन्जेल बोक्ने पीडाको भारी ?

मेघमाली बुढा।तस्बिर दिनेश/नागरिक

रोल्पा - रोल्पा नगरपालिका ६ कोटगाउकी मेघमाली बुढा उमेरले ६२ वर्ष पुगिन्। तत्कालिन १० वर्षे माओवादी द्वन्दको प्रत्यक्ष पीडित हुन्। २०५८ साल चैत्र १५ गते श्रीमानलाई घरबाट लगेर छेउको गाउँमा गोली हानेर बिद्रोही पक्षले मारे। १ छोरी २ छोराकी आमा मेघमालीले मन थामेर छोरा छोरी हुर्काउन पढाउन कसर छोडिनन्।

२०५९ सालमा दाङमा पढ्ने भाइलाई भेट्न रोल्पाबाट झरेका मेघमालीका जेठा छोरा हिराबहादुर बुढालाई उतै कतैबाट तत्कालिन सोही नेपाली सेनाले वेपत्ता बनायो। श्रीमानलाई माओवादीले गाउँमै ढलाए। उनको हत्याको पीडा बोकिरहदा सेनाले छोरा वेपत्ता बनाएपछि विक्षिप्त बनिन्।

‘छोरा आउला भन्ने आश त छैन तर कहिले कसो चाहि आउछ कि जस्तो पनि लाग्छ। श्रीमान कांग्रेस भएका कारणले मारेका हुन। विचरा ग्वाला गोठालो जान्थे, घरगाउ गर्थे। के बिगारेका थिए र ? माओवादीले मारे। त्यस्ता सोझाले पनि सिआइडी गर्छन?’ एकै सासमा गुनासो गरिन ‘मरेको लास वरिपरि कागजमा सुराकी लेखेर ढुंगाले च्यापेर छोडेका थिए।’ मेघमालीलाई त्यसो गर्नेहरु को हो भन्ने त थाहा छ तर आगामी पुस्ताका लागि विगत भुल्न बाध्य छिन्। ‘उनीहरु जस्तो गर्न त भएन नि। अचेल माओवादी देख्दा नि मन दुख्छ। सरकारभन्दा नि मन दुख्छ। एउटाले श्रीमान मारे अर्कोले छोरा बेपत्ता पारे।’ उनले थपिन ‘जनता पनि नेपाली, सेना पुलिस पनि नेपाली। अब त मिले नि हुन्थ्यो।’

अचेल माओवादी देख्दा नि मन दुख्छ! सरकारभन्दा नि मन दुख्छ! एउटाले श्रीमान मारे अर्कोले छोरा बेपत्ता पारे।’ उनले थपिन‘।

पोहर तिर बेपत्ता आयोगको टोलीले दाङको तुलसिपुरमा बोलाएर बेपत्ता छोराको बारेमा साधेको बाहेक कोहि कसैले चासो नदिएको बताउछिन्। आयोगहरु कहाँ गए के गर्दैछन् नबुझेकी उनलाई आयोग गठनका बारेमा विवाद आएको समाचार रेडियोमा सुनेपछि दिक्क छिन्। ‘खुरुक्क आफ्नो काम गर्नु नि। हामीले श्रीमान, छोरा गुमाउने अनि हाम्रै नाम भजाएर अरु झगडा गर्छन्। लाजै नभए के लाग्ने रैछ र!'

अचेल बर्दियाको विद्यालयमा स्थायी शिक्षक रहेका कान्छो छोराको यतै सरुवा गरिदिए हुन्थ्यो भन्ने अपेक्षा बोकेकी छिन्। ‘घर छेउँमा स्कुल छ तर मेरो छोरो धेरै वर्ष भयो टाढा छ।’ सरुवा गर्नलाई पहुच चाहिने बुझेकी मेघमाली आफू नमर्दै छोरोको यतै सरुवा भैदिए हुन्थ्यो भन्नेमा छिन्। ‘मेरो उमेर पनि गयो। म बाच्दै सरुवा भइदिए हुन्थ्यो। बिए पास गरेकी बुहारी बेरोजगार छिन्। अरुका छोरा छोरी एसएलसी गरेर जागिरमा छन्। सबै आफ्नाले गर्ने रैछ।’

अहिले बुहारीले स्कुल छेउँको घरमा सानो पसल गरेकी छिन्। दुहुनो भैसी, एक हल गोरु, आधा दर्जन बाख्रा पालेकी मेघमाली मनमा पीडाको भारि बोकेर बिहानैदेखि बस्तुभाउ स्याहारमा लाग्छिन्। ‘छोराको तलबले के नै पो पुग्छ र। घर खर्च सासु बुहारीले निकाल्नै प-यो।’ घास दाउरा अनि गोठालो जाने मेघमाली सरिरले धान्दासम्म काम गर्नुपर्छ भन्नेमा छिन्। श्रीमान र छोरा गुमाएकी सासुसंगै घर धन्दामा लाग्ने बुहारी सपनाको दैनिकी पनि मेघमालीको जस्तै छ। मृतक श्रीमान र बेपत्ता छोराको यादले पटक पटक सासु रोएको देखेकि सपना भन्छिन् ‘सासुले छोरा आउछ कि भनेर आश गर्नुहुन्छ। पटक पटक सम्झिरहनु हुन्छ।’

मेघमाली जस्ता सयौ आमा र श्रीमतीहरु आज पनि आफन्त मारिनु र बेपत्ता पारिनुको कारणबाट बेखबर छन्। मारिनुको कारण अनि बेपत्ताको अवस्था अनभिज्ञ भएपछि उनिहरु दिनरात तनावमा रहने गर्दछन्। सरकारी तथ्याङ्क अनुसार ९ सय ६९ मृतक र ३३ बेपत्ता रहेको रोल्पाका प्राय कुनै पनि परिवारलाई आफन्त मारिनु वा बेपत्ता पारिनुको कारण थाहा छैन।

१३ वर्ष अगाडि गरिएको शान्ती संझौतामा भने अनुसार द्वन्द्वपीडितलाई न्याय दिन र संक्रमणकाल अन्त्यका लागि ६ महिनाभित्र संक्रमणकालीन न्याय संयन्त्र गठन गर्ने उल्लेख शान्ति सम्झौतमा थियो। तर आजसम्म पनि उक्त काम अपुरो र अधुरो छ। सम्झौता अनुसार गतिलो संक्रमणकालीन न्याय संयन्त्र गठन हुन नसक्दा पीडितले अहिलेसम्म न्याय पाउन नसकेका हुन। शान्ती संझौतापछि राज्यले विभिन्न नाममा अरबौ रुपैया सकाएको भए पनि ठुलो काम ‘न्याय र परिपुरण’ बाँकी नै छ। उतिबेला ६ महिनामा सकाउने भनिएको भए गम्भिरता पूर्र्वक समस्या समाधानमा नलागेको पीडितको गुनासो छ।

प्रकाशित: १६ मंसिर २०७६ १०:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App