८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

आठ लाख श्रद्धालुद्वारा गढीमाई दर्शन

गढीमाई मेलामा आएका श्रद्धालु मन्दिरमा पूजापाठ गर्दै।

बारा – महागढीमाई नगरपालिकाको बरियारपुरमा चलेको मंसिर १ गतेदेखि सुरु भएको गढीमाई मेलामा दिनहुँ भक्तजनको भीड बढ्न थालेको छ।

शुक्रबार एक लाखभन्दा बढी भक्तजनले गढीमाईको दर्शन गरेको मन्दिरका पुजारी मंगल चौधरीले बताए। उनका अनुसार मेलामा शुक्रबारसम्म आठ लाख श्रद्धालुले गढिमाई दर्शन गरेका छन्।

गढीमाई पञ्चवर्षीय मेला मुल व्यवस्थापन समितिका महासचिव मोतिलाल कुशवाहाले मेला व्यवस्थित गर्न ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ उपसमिति समेत गठन गरिएको बताए। मेला भर्न लाखौं श्रद्धालु आउने भएकाले श्रद्धालुको व्यवस्थापन मुख्य चुनौती बन्ने गरेको छ।

महागढीमाई नगरपालिकका प्रमुख उपेन्द्र यादवले मेला भर्न आउने श्रद्धालुका लागि मेला क्षेत्रका विभिन्न ठाउँमा पाँच सय शौचालय र एक सय ५० भन्दा बढी चापाकलको व्यवस्था गरिएको बताए। मेलामा आउने श्रद्धालुका लागि बासका लागि निःशुल्क टेन्टका व्यवस्था गरिएको उनले जानकारी दिए। टेन्टमा ८० हजारदेखि लाखसम्म मानिस बस्न सक्ने यादवको भनाइ छ। मेला हेर्न आउने श्रद्धालुका लागि मनोरञ्जनको व्यवस्था गरिएको उनले बताए। मेलामा ७० लाखभन्दा बढी श्रद्धालुले मन्दिर दर्शन गर्ने उनको आँकलन छ।

बाराका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फरिन्द्रमणि पोखरेलले मेला व्यवस्थित र सुरक्षित बनाउन जिल्ला सुरक्षा समितिले सुरक्षा रणनीति बनाएको बताए। मेलामा नेपाल प्रहरीका ११ सय र सशस्त्र प्रहरीका झण्डै दुई सय सुरक्षाकर्मी परिचालन गरिएको उनले जानकारी दिए।

मेलामा सुरक्षाका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी तीनवटै सुरक्षाकर्मी परिचालन गरिएको र विभिन्न स्थानमा सिसिटिभी क्यामेरासमेत जडान गरिएको प्रजिअ पोखरेलले जानकारी दिए। मेला क्षेत्रका ७० स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएका छन्।

जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी उपरीक्षक विकासराज खनालले सिसिटिभी क्यामेराबाट मेलामा आउने श्रद्धालुका गतिविधि निगरानी गरिएको जानकारी दिए। उनले ट्राफिक व्यवस्थापनका लागि कलैयादेखि गढिमाई मन्दिरसम्म जान वैकल्पिक सडक निर्माण गरिएको बताए।

पञ्चबलि तयारी
मेलामा मंसिर १७ गते पञ्चबलि गरिन्छ। मन्दिरका पुजारी चौधरीले धार्मिक विधिअनुसार पञ्चबलि गरिने बताए। त्यसपछि राँगा, खसी, कुखुराको बलि चढाउन सुरु हुने पुजारी चौधरीले बताए। मेलामा मंसिर १७ गते राँगा र १८ गते बोका बलि दिने कार्यक्रम रहेको पुजारी चौधरीले बताए।

बलिका राँगा व्यवस्थापनमा समस्या
चिसोका कारण मेलामा बलिका लागि ल्याइएको राँगा व्यवस्थापनमा समस्या भएको छ। चिसोका कारण राँगा मरेको बताइएको छ। मन्दिर नजिकैको रंगशालामा खुला आकाशमुनि राँगा राखिएको छ।

चिसोका कारण बुधबार एक र बिहीबार तीन राँगा मरेको गढीमाई मेला पशु सेवा कार्यदलका प्राविधिक नरेन्द्र कुशवाहाले बताए। उनका अनुसार एक दर्जन राँगा बिरामी छन्।

नेपाल र भारतका विभिन्न स्थानमा भाकल गरेका श्रद्धालुले बलिका लागि दुई हजार राँग मेला समितिलाई जिम्मा लगाएको बलि व्यवस्थापन समितिका एक सदस्यले बताए। उनका अनुसार भाकल गरेका श्रद्धालुले दिनहुँ राँगा ल्याउने गरेका छन्।

प्रकाशित: १४ मंसिर २०७६ ०२:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App