१६ चैत्र २०८० शुक्रबार
समाज

डडेलधुराका कार्यलयमा कर्मचारी अभाव, सेवा प्रवाहमा समस्या

डडेल्धुरा- कार्यालय स्थापना भएको दुई वर्ष पुग्दासम्म पनि प्रदेश सरकार मातहत रहेका डडेलधुराका अधिकांश कार्यालयमा कर्मचारीको अभाव रहेको छ। दुई जिल्ला कार्य क्षेत्र रहेका कार्यालयहरुमा कर्मचारीको अभाव हुँदा सेवाग्राहिले सहजै सेवा पाउँन सकिरहेका छैनन्। कर्मचारी अभाव हुँदा सेवाग्राहिले समस्या भोग्नु परेको छ।

कर्मचारी अभाव हुँदा कार्यालयले प्रवाह गर्ने सेवामा पनि समस्या सृजना भएको छ। जिल्लास्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, कृषि ज्ञान केन्द्र र भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रमा कर्मचारीको अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको हो।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुरामा १३ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल नौ जना मात्रै छन्। डडेल्धुरा र बझाङ्ग जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको कार्यालय प्रमुुख रविन श्रेष्ठले बताए।   

यसैगरी जिल्लाकै कृषि ज्ञान केन्द्र डडेल्धुरामा १७ जना कर्मचारीको दरबन्दी हो। तर हाल पाँच जना अधिकृत छैनन्। अधिकृत स्तरका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भईरहेको कृषि ज्ञान केन्द्र डडेलधुराका प्रमुख दिलबहादुर विष्टले बताए। डडेल्धुरा र डोटी जिल्ला कार्यक्षेत्र रहेको यस कार्यालयमा दरबन्दी अनुसारका अधिकृत स्तरका कर्मचारी नहुँदा सेवाग्राहिले समयमै सेवा पाउँन सकेका छैनन्।  

यस्तै, भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र डडेल्धुरामा पनि दरबन्दी अनुसारका कर्मचारी छैनन् भने दुई जिल्ला कार्यक्षेत्र भएकाले दरबन्दी अनुसारका कर्मचारी भए पनि त्यो कम भएको कार्यालयका प्रमुख खडक शाहले बताउँछन्। दरबन्दी अनुसार १२ जना कर्मचारीको पदपूर्ती भए पनि पर्याप्त भने नरहेको उनको भनाइ् छ। डडेल्धुरा र डोटी जिल्ला कार्य क्षेत्र रहेकाले हालको दरबन्दी अनुसारको कर्मचारी पनि कम भएकाले थप १२ जना कर्मचारीको माग गरेको पशु सेवा विज्ञ केन्द्रले जनाएको छ।  

जनतासंग प्रत्यक्ष सरोकार राख्ने यी तिनवटै कार्यालयको कार्य क्षेत्र दुई जिल्ला रहेकाले दरबन्दी अनुसारका कर्मचारी भए पनि सेवा प्रवाह गर्न समस्या हुने कार्यालय प्रमुखहरुले बताइरहेका समयमा दरबन्दी अनुसारका कर्मचारी नहुँदा झनै समस्या भएको छ। दुई जिल्ला कार्य क्षेत्र भएकाले दरबन्दी पनि कम भएको भन्दै दरबन्दी थपका लागि पत्राचार गरेको समेत यी कार्यालयहरुले जनाए। तर दरबन्दी अनुसारका कर्मचारी नपाएका कार्यालयहरुमा थप दरबन्दी भने कहिले पुर्ती हुन्छ वा हुदैन भन्नेमा कार्यालय प्रमुख विश्वस्त छैनन्।

कार्यालय स्थापनाको दुई वर्ष पुग्नै लाग्दासम्म पनि दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवाग्राहिलाई सास्ती हुने गरेको छ। विशेष गरी दुई जिल्ला कार्यक्षेत्र भएका कार्यालयका सेवाग्राहिलाई झनै समस्या हुने गरेको छ।  

फोटो– भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र र पछाडी पट्टी खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेल्धुरा।

प्रकाशित: १० मंसिर २०७६ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App