८ वैशाख २०८१ शनिबार
समाज

बीस हजार पाँच सयले मात्रै बनाए नयाँ घर

सिन्धुलीको कमलामाई नगरपालिका १ मा भूकम्पपछिको पुर्ननिर्माण हुदै गरेको निर्माणाधिन घर। तस्बिर: अनिल/नागरिक

सिन्धुली- भूकम्प गएको झन्डै ५५ महिना बित्दा सिन्धुलीमा आधा मात्रै पुर्ननिर्माण सम्पन्न भएको छ। भूकम्प गएको पाँच बर्ष बित्नै लाग्दा सिन्धुलीमा भने पुर्ननिर्माणले प्रभावकारी रुपमा गति लिन नसकेको देखिएको छ।  

गैर भूकम्प पिडित तथा दक्ष मिस्त्रीको अभाव, निर्माण सामाग्रीको महङगी, जस्ता समस्याका कारणले भूकम्प गएको ५५ महिना बढी बित्दा समेत पुर्ननिर्माणले गति लिन नसकेको हो। नेपाल सरकारले पाँच बर्षभित्र निजी आवास निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ। पुर्ननिर्माण प्राधिकरण गठन भइ भूकम्पपछिको पुर्ननिर्माणका लागि लिएको समय सकिन अब १३ महिना मात्रै बाकीं छ तर हालसम्म सिन्धुलीमा ५४ प्रतिशत मात्रै पुर्ननिर्माण भएको राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई, अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यालय सिन्धुलीले जनाएको छ।

हालसम्म जिल्लामा ५४ प्रतिशतले मात्रै नयाँ घर निर्माण कार्य सम्पन्न गरि आवास अनुदान बापतको रकम पुरै लिएका छन्, कार्यालयका निमित्त प्रमुख सुर्यप्रकाश बिष्टले जानकारी दिए। भूकम्पले घरबारविहीन बनाएको ५५ महिनामा जिल्लाका २० हजार ५ सय ९० जनाले घर निर्माण गरि तेस्रो किस्ता बापतको रकम लिएको कार्यालय प्रमुख बिष्टको भनाइ छ।

पुुर्ननिर्माण तथा प्रबलिकरण गरि जिल्लामा ५२ हजार २ सय ६४ जना लाभग्राही रहेका छन्। जसमध्ये पुर्ननिर्माण तर्फ ३८ हजार ५३ छन् भने प्रबलीकरण तर्फ १४ हजार २ सय ७ जना रहेको कार्यालयले जनाएको छ। ३८ हजार ५३ भूकम्प पिडित प्राधिकरणको सूचीमा भुकम्पबाट पुर्ण क्षतिग्रस्त भई अनुदानको लागि योग्य भएको भन्दै सार्वजनिक गरिएको अनुदान सूचीमा नाम भएका केहिले अझै सम्झौता नै गर्न नआएको कार्यालयले जनाएको छ।

३८ हजार ५३ जना लाभग्राही रहेकोमा ३६ हजार ९ सय ४८ जनाले मात्रै सम्झौता गरि घर निर्माण प्रक्रियालाई अगाडी बढाएका छन्। २ दशमलब १ प्रतिशत घरपरिवारले अझै सम्झौतानै गर्न नआएको कार्यालयले जनाएको छ। झन्झटिलो प्रक्रियाका कारण सिन्धुलीमा पुर्ननिर्माणले गति लिन नसकेको स्थानीय बताउँछन्। आवास अनुदानको दोस्रो किस्ता बापत २८ हजार ८ सय  ८९ जनाले अनुदान रकम लिएका छन्। तर अनुदान लिएका भएपनि जगसम्मको मात्रै काम भएको र निर्माण सम्पन्न हुनका लागि समय लाग्ने स्थानीय बताउँछन्।

जिल्लाको साविकका २५ गाविसलाई भुकम्पबाट अति प्रभावितको सूचीमा राखिएको थियो। तर राष्ट्रिय पुननिर्माण प्राधिकरणले सिन्धुलीका साविकका अधिकांश गाविसमा भुकम्पबाट क्षति भएको भन्दै आवास अनुदानको सूचीमा सूचीकृत गरेपछि पहाडी क्षेत्रमा धमाधम घरहरु बनेपनि कमलाखुज तथा मरिण क्षेत्रमा अझै यपुन निर्माण कार्यले गति लिन नसकेको स्थानीय बताउँछन्।

सिन्धुलीमा पहिलो चरणमा ३४ हजार दुई सय ७९ लाभग्राही अनुदान सूचीमा परेका थिए। तर भूकम्पको लाभग्राही सूचीमा नपरेका २८ हजार ६ सय २६ जनाले लाभग्राही सूचीमा आफुहरु पनि पर्नुपर्ने भन्दै गुनासो दर्ता गरे। गुनासो फस्र्यौट भई आएका मध्ये पाँच हजार पाँच सय ७२ जनाको लाभग्राही सूचीमा नाम समावेश भएको छ।

पुननिर्माणका लागि स्थानीयलाई पनि ठुलै झन्झट छ। स्थानीय तहको वडा कार्यालयमा कार्यरत इन्जिनियरहरुको सिफारिस, शहरी विकास तथा भवन डिभिजन कार्यालय त्यसपछि जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय हुँदै कोष तथा लेखा नियन्त्रण कार्यालय र पुनं जिल्ला आयोजना कार्यान्वयन इकाईमा फाइल तथा चेक आइ बैकमा जानुपर्ने भएकाले पनि झन्झटिलो प्रक्रिया पार गर्नुपर्ने भूकम्प पिडितलाई समस्या छ।

भूकम्पबाट सबै क्षतिग्रस्त भएका केहि लाभग्राहीले तीन/चार कोठाको घर बनाए पनि अन्य स्थानमा घर भएका तथा बस्न योग्य घर भएका अधिकांशले साना घर बनाएका छन्। व्यक्तिको घर र भूकम्पको घर छुट्टाटुट्टै जस्तै भएको छ, फिक्कल गाँउपालिकाकी उपाध्यक्ष पार्वती सुनुवारले भनिन्, यो घर कस्को भनेर सोधेमा भूकम्पको भन्ने जवाफ आउँछ।

प्रबलीकरणको काम सुरु नै भएन
भुकम्पपछि सामान्य क्षति भएका घरलाई राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले मर्मत सम्भार गर्दा बस्न योग्य हुने भन्दै प्रबलीकरण गर्नका लागि १ लाख अनुदान दिने व्यवस्था गरेको छ। दुई किस्तामा दिइने अनुदानका लागि सम्झौता गरि पहिलो किस्ता बापतको रकम पिडितले बुझेपछि प्रबलीकरण केहो भन्ने कुरानै जानकारी नहुँदा प्रबलीकरणको काम अगाडी बढाएका छैनन्।

नेपाल सरकारले जिल्लाका १४ हजार दुई सय सात घरलाई प्रबलीकरण गर्नुपर्ने भन्दै सूचीकृत गरेको छ। जसमा प्रबलीकरणका लागि भन्दै ९८ प्रतिशतले सम्झौता गरि पहिलो किस्ता बापतको ५० हजार बुझेपनि हालसम्म प्रबलीकरणको काम अगाडी नबढेको कार्यालय प्रमुख बिष्टले जानकारी दिए। भूकम्प पिडितले प्रबलीकरणको अर्थनै नबुझ्दा प्रबलीकरणको काम अगाडी बढेको छैन, उनले भने।

 

 

 

प्रकाशित: ५ मंसिर २०७६ १३:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App