८ वैशाख २०८१ शनिबार
समाज

हराएको मूर्ति अमेरिकी संग्रहालयमा

अदिती बराल

काठमाडौं – सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ। ‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन्। उक्त मूर्तिको फोटो इतिहासकार लैनसिंह बाङदेलको ‘स्टोलन इमेजेज अफ नेपाल’ नामक पुस्तकमा छापिएको थियो। उक्त मूर्ति नारायण मन्दिर पाटनको वासुदेव कमलजाको हो। कमलको फूलमा उभिएको उक्त मूर्तिले दुई भगवान्को प्रतिनिधित्व गर्छ। मूर्तिको दायाँ भागले भगवान् विष्णु (नारायण) को प्रतिनिधित्व गर्छ भने र बायाँ भागमा बैकुण्ठ कमलजा (विष्णुको श्रीमती) को प्रतिनिधित्व गर्छ। १५औं शताब्दीमा बनेको उक्त मूर्ति १९८४ मा चोरी भएको बाङदेलले उल्लेख गरेका छन्।

उक्त मूर्ति नेपालबाट चोरी भएका अनेकौं कलाकृतिमध्येको एक हो। नेपालबाट चोरी भएका यस्ता कलाकृतिलाई पश्चिमी मुलुकका संग्रहालय तथा लिलामीकर्ताले बहुमूल्य संग्रहका रुपमा प्रस्तुत गर्ने गरेका छन्।

नेपाल सरकार तथा अन्य सरोकारवाला निकायले चोरिएका कलाकृति फिर्ता ल्याउन लामो समयदेखि अभियान चलाइरहेका छन्। तर यो अभियान सफल भने हुन सकिरहेको छैन। ‘दी इन्टरनेसनल इन्स्टिच्युट फर दी युनिफिकेसन अफ प्राइभेट’ ले चोरिएका तथा अवैधरुपमा निर्यात भएका सांस्कृतिक वस्तुलाई सम्बन्धित मुलुकमा फिर्र्ता गर्न भन्दै सम्मेलनसमेत आयोजना गरेको थियो।

संस्कृतिविद् जगमान गुरुङ चोरी भएका सम्पदा सम्बन्धित मुलुकमा नै फिर्ता हुनुपर्ने बताउँछन्। ‘हाम्रा चोरी भएका कयौं मूर्ति अहिले पनि आफ्नो वास्तविक ठाउँको पर्खाइमा छन्। सरकारले त्यस्ता मूर्तिहरु फिर्ता ल्याउन महत्वपूर्ण रणनीति बनाउन आवश्यक छ,’ गुरुङले भने।

पुरातत्वविद् तथा संस्कृतिविद्हरु नेपालबाहिर रहेका मूर्तिहरु त्यहाँ मानवनिर्मित कलाका रुपमा हेरिने भए पनि नेपालमा भने त्यस्ता मूर्तिको भगवान्का रुपमा पूजा गरिने र त्यस्ता मूर्तिसँग मानिसको धार्मिक एवं भावनात्मक सम्बन्ध जोडिने बताउँछन्। चोरी भएका त्यस्ता मूर्तिको अभाव सम्बन्धित समुदायमा अहिले पनि महसुस हुने पुरातत्वविद् बताउँछन्।

गत वर्ष न्युयोर्कस्थित मेट्रोपोलिटियन म्युजियम अफ आर्टले नेपालबाट चोरी भएका दुई मूर्ति फिर्ता गर्न सम्झौता गरेको थियो। टंगालहिटी र यातकाटोलबाट सन् १९८० मा चारी भएका ती मूर्ति उमामहेश्वर र बुद्धका हुन्। सन् २०१७ मा नेपालबाट चोरी भएका पन्ध्रौं, सोह्रौं र सत्रौं शदाब्दीमा बनेका चारवटा मूर्ति अमेरिकाले फिर्ता गरेको थियो। अझै कयौं मूर्ति बेवारिसे रुपमा विदेशी भूमिमा छन्। ‘चोरी भएका त्यस्ता मूर्ति घर फिर्तीको पर्खाइमा छन् तर हामीले त्यसका लागि कुनै योजना बनाउन सकिरहेका छैनौं,’ पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले भने।

विगतदेखिको अवस्था हेर्दा नेपाल पुरातात्विक वस्तुको चोरी निकासीका हिसाबले जोखिममा रहेको देखिन्छ। सन् २०१५ को भूकम्पपछि यो जोखिम थप बढेको जानकार बताउँछन्। नेपालले पुरातात्विक वस्तुको संरक्षण गर्न नसकेको भन्दै युनेस्कोले विश्वसम्पदा सूचीमा रहेका नेपाली धरोहरलाई त्यस्तो सूचीबाट हटाउने चेतावनी दिएको थियो।

प्रकाशित: ५ मंसिर २०७६ ००:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App