८ वैशाख २०८१ शनिबार
समाज

खुल्न थाले छात्रा, शिक्षकसंगै माग्छन्,स्यानेटरी प्याड

सल्यान- सल्यानको कपुरकोट गाउँपालिकाले साढे १० हजार स्यानेटरी प्याड विद्यालयमा उपलब्ध गराएको छ। विद्यालयमा अध्ययन गर्न आउने छात्राहरुको समस्यालाई मध्यनजर गर्दै गत वर्षदेखि विद्यालयमा छात्रा विश्राम कक्षको व्यवस्था गरिदिएको गाउँपालिकाले हालसम्म १० हजार पाँच सय स्यानेटरी प्याड वितरण गरेको हो।

छात्राहरुको विद्यालय अनुपस्थित हुने दरमा कमी ल्याउन यो कार्यक्रम प्रभावकारी देखिएपछि विद्यालयको आवश्यकता अनुसार स्यानेटरी प्याड वितरण गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले जानकारी दिए।

चालु आर्थिक वर्षको लागि गाउँपालिकाले आफ्नो पालिकाका सबै माध्यमिक विद्यालयमा पुगेर सात हजार प्याड वितरण गरेको हो। पाँच वटा मावि रहेको कपुरकोटमा एउटा विद्यालयमा एक हजार चार सय पिस प्याड वितरण गरिएको दाहालले जानकारी दिए। गत आर्थिक वर्ष एक विद्यालयमा सात सयको दरले तीन हजार पाँच सय प्याड वितरण गरिएको थियो।  

सुरुमा छात्राहरुले प्याड मागेर प्रयोग गर्न केहि असजिलो मानेपनि हिजो आज महिनावारिको बारेमा छात्राहरु खुलेर कुरा गर्न सक्ने भएको र चाहिएको बेला प्याड माग्ने गरेको विद्यालयहरुले जनाएका छन्। विरेन्द्र माध्यमिक विद्यालय गर्पाका प्रधानाध्यापक डिल बहादुर नेपालिले महिला शिक्षक नभएको बेला सरहरुसंग पनि छात्राहरुले प्याड मागेर प्रयोग गर्ने गरेको बताए।

यस्तै, हालसम्म भवानी माध्यमिक विद्यालय सिनवाङ, छाँयानाथका एक सय २० भन्दाबढी छात्राहरुले प्याड प्रयोग गरेको शिक्षिका मिना घर्तीले जानकारी दिइन्। तर नेपाल राष्ट्रिय माध्यमिक विद्यालय किमुचौरका निमित्त प्रधानाध्यापक दामोदर शर्माले स्थानीय सरकारले निःशुल्क प्याड वितरणमा मात्रै भन्दा पनि प्याड निर्माण गर्न समेत सिकाउनुपर्ने धारणा राखे।

उनले भने, 'विद्यालयमा उपलब्ध गराइएको स्यानेटरी प्याड स्कुल आउदा समस्या भएमा प्रयोग गर्ने हो, छात्राहरु घर बस्दा गाउँमा प्याड उपलब्ध नहुन सक्छ। यस्तो अवस्थामा किशोरीहरुलाई प्याड निर्माणको लागि पनि कार्यक्रम बनाउनु पर्छ।'

यस्तै, कालिका मावि कपुरकोटका प्रअ चुडामणि केसीले आधारभुत तहका विद्यालयमा अध्ययन गर्ने कक्षा ६, ७ र ८ कक्षाका छात्राहरुलाई पनि प्याड उपलब्ध गराउनुपर्ने बताए।

बुधबार गाउँपालिकामा आयोजित प्याड वितरण कार्यक्रममा कपुरकोट ३ का वडाध्यक्ष मिन बहादुर सेन, वडा नम्बर ४ का वडाध्यक्ष हरिलाल पुन लगायतले बोल्दै विद्यालय गइरहेका किशोरीहरूको स्वास्थ्य र शिक्षामा यो कार्यक्रमले सकारात्मक प्रभाव पार्ने आशा व्यक्त गरे। महिनावारी र त्यो बेला गर्नुपर्ने सरसफाइ र स्वास्थ्यका लागि अझ धेरै काम गर्नुपर्ने आवश्यकता रहेको सिनियर अ.हे.व देवेन्द्र कुमार सेनको भनाइ छ।

विद्यालयहरूमा प्याड प्रयोग गरेपछि फाल्नका स्थान र अन्य प्रबन्ध नहुँदासम्म यो कार्यक्रमले जुन उदेश्य लिएको छ, त्यो पुरा हुन नसक्ने भएकाले सम्बन्धित विद्यालयहरुलाई यस विषयमा जिम्मेवार पुर्वक व्यवस्थापनको पाटोमा काम गर्न गाउँपालिकाले अनुरोध गरेको छ।

यसैविच, विपद् जोखिम न्युनिकरणका लागि भन्दै कपुरकोट गाउँपालिकाले ६ वटै वडा र प्रहरी चौकीमा विभिन्न सामग्रीहरु उपलब्ध गराएको छ। स्थानीय तहदेखि नै विपद् न्यूनीकरणमा भूमिका खोजिने अवधारणा अनुरुप विपद् व्यवस्थापनका सामग्रीहरु हस्तान्तरण गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरुण दाहालले बताए।

गाउँपालिकाले उपलब्ध गराएका सामग्रीहरुमा आगो निभाउने उपकरण, हाते ग्रेण्डर मेशिन, हेलमेड, ज्याकेट, पञ्जा, गैती, ब्याल्चा, हथौडा, स्टे«चर, खुर्पा, सप्पल, घन लगायत रहेका छन्।

प्रकोपको जोखिम कम गर्ने, क्षति घटाउनेलगायतका पूर्व तयारीका उपायमा ध्यान केन्द्रित गरिएको विपद् व्यवस्थापन समितीका संयोजक बालाराम खड्काले बताएका छन्। 'हामीले प्राकृतिक प्रकोपलाई पूर्ण रूपमा रोक्न नसके पनि पूर्वतयारी र सावधानी अपनाउने हो भने क्षति न्यूनीकरण गर्न सक्छौँ भन्ने कुरा बुझेका छौँ,' उनले भने, 'त्यसैले यस वर्ष समयमै सम्बन्धित निकायमा विपद् व्यवस्थापनका लागि प्रयोग हुने सामग्री उपलब्ध गराएका छौँ र विपद् व्यवस्थापनका लागि सचेतना पनि फैलाईरहेका छौँ।'

प्रकाशित: ४ मंसिर २०७६ १०:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App