coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

विद्यालय नर्सिङ कार्यक्रम उद्घाटन

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा सोमबार विद्यालय नर्स कार्यक्रम उद्घाटन गरिएको छ। सामाजिक विकास मन्त्रालय प्रदेश १ को ‘विद्यालय नर्सिङ’ कार्यक्रमअन्तर्गत जिल्लाको सामुदायिक विद्यालयमध्ये सरस्वती माविमा सो कार्यक्रम उद्घाटन गरिएको हो।

कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजाल, उपप्रमुख विणादेवी राई, प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंलगायतले ब्यानरमा हस्ताक्षर गर्दै विद्यालय नर्स कार्यक्रम उद्घाटन गरेका हुन्।

हरेक सामुदायिक विद्यालयमा एकजना नर्स राख्ने व्यवस्थाअनुसार प्रदेश १ का १४ सामुदायिक विद्यालयमध्ये खोटाङको सरस्वती माविले ‘विद्यालय नर्सिङ’ कार्यक्रम सञ्चालन गर्ने अवसर पाएको हो। प्रदेश स्वास्थ्य निर्देशनालयले एकजना नर्स उपलब्ध गराएपछि केही समयपछि नै विद्यालय नर्स कार्यक्रम नियमित रूपमा सञ्चालन हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले बताए।

विद्यालय उमेरका बालबालिकालाई स्वास्थ्यसम्बन्धी ज्ञान दिएर स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने उद्देश्यले प्रदेश सरकारले ‘विद्यालय नर्सिङ’ कार्यक्रम ल्याएको हो। कार्यक्रमअन्तर्गत परिवार नियोजन, यौन तथा यौनिकता, व्यक्तिगत र वातावरणीय सरसफाइ, फोहोरमैला व्यवस्थापनसम्बन्धी परामर्शलगायत सेवा प्रदान गर्ने लक्ष्य राखिएको जनाइएको छ। विद्यालय तहका बालबालिकालाई सन्तुलित र पोसिलो खानपान, सरसफाइ, यौन तथा प्रजनन स्वास्थ्य, प्राथमिक उपचार, सामान्य स्वास्थ्य परीक्षणलगायत विषयमा जानकारी दिन विद्यालय नर्सिङ कार्यक्रम प्रभावकारी हुने प्रमुख रिजालले बताए।

त्यस्तै नगरपालिकाले ‘नगर विद्यालय स्वास्थ्य कार्यक्रम’ सुरु गरेको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीको शारीरिक, मानसिक र संवेगात्मक स्वास्थ्य सुधारका लागि नगरपालिकाले सो कार्यक्रम सुरु गरेको हो। छात्रछात्राको तौल र उचाइ मापन गर्दै सरस्वती माविबाट सुरु गरिएको विद्यालय स्वास्थ्य कार्यक्रम क्रमशः नगरपालिकाका सबै १५ वडाका ९३ विद्यालयमा विस्तार गरिने प्रमुख रिजालले बताए।

सो कार्यक्रमअन्तर्गत हरेक वडाका स्वास्थ्यचौकीमा कार्यरत अहेब वा अनमीले नगरपालिकाले निर्धारण गरेको पाठ्यक्रममा आधारित रही नजिकको विद्यालयमा साताको एक दिन एक पिरियड पढाउने व्यवस्था मिलाइएको छ। स्वास्थ्यकर्मीले सर्ने र नसर्ने रोग, किशोरावस्था र त्यसको अवस्था, व्यक्तिगत तथा सामाजिक स्वास्थ्य तथा सरसफाइ, मानसिक स्वास्थ्य समस्या र मनोसामाजिक परामर्श, खानपान तथा पोषण, परिवार नियोजन, महिनावारी सरसफाइ, खोपलगायत विषयमा पढाउनेछन्। विद्यालय स्वास्थ्य कार्यक्रमका लागि नगर विद्यालय स्वास्थ्य कार्यक्रमको पाठ्यक्रम तयार पारिसकिएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक तीर्थराज आचार्यले बताए।

कक्षा २ मा अध्ययनरत वृद्धा सम्मानित
सो कार्यक्रममा बुढेसकालमा कक्षा २ मा अध्ययनरत एक वृद्धालाई सम्मान गरिएको छ। ७६ वर्षको उमेरमा सरस्वती मावि कक्षा २ मा अध्ययनरत केपीलासगढी गाउँपालिका–४ बाक्सिलाकी जुरिमायाँ राईलाई सम्मान गरिएको हो। किताबकापी बोकेर नातिनातिना उमेरका बालबालिकासँगै विद्यालय धाइरहेकी जुरिमायालाई नगरप्रमुख रिजाल र उपप्रमुख राईले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका हुन्।

वृद्धावस्थामा पनि विद्यालय धाएर समाज तथा अन्य विद्यार्थीलाई शिक्षाप्रति प्रोत्साहित गरेकोमा उनलाई कदरस्वरूप सम्मान गरिएको नगरपालिकाले जनाएको छ। बुढेसकालमा विद्यालय भर्ना भएर ‘शिक्षा लिन उमेरले नछेक्ने’ उदाहरण बनेकामा उनलाई सम्मान गरिएको प्रमुख रिजालले बताए।

जुरिमाया २०७५ वैशाख ६ गते सरस्वती माविमा कक्षा १ मा भर्ना भएकी थिइन्। हाल उनको दिनचर्या स्कुल धाइरहेका ससाना विद्यार्थीको भन्दा फरक छैन। किताबकापी बोकेर नातिनातिना उमेरका बालबालिकासँगै उनी विद्यालय पुग्छिन्, उसैगरी घर फर्किन्छिन्।

उनको पढ्ने समयमा समाजमा ‘महिलाले पढ्नुहुन्न’ भन्ने मान्यता थियो। रहर हुँदाहुँदै पनि पढ्ने रहरलाई मारेर बस्नुपर्ने अवस्था थियो। त्यसैले २००१ साल साउनमा जन्मिएकी जुरिमायाँले पनि लेखपढ गर्ने अवसर पाउने कुरै भएन। उसमाथि हिजोआज जस्तो जताततै विद्यालय पनि थिएनन् त्यसबेला। त्यही पढ्न नपाएको रहर पूरा गर्न उनी बुढेसकालमा विद्यालय भर्ना भएकी हुन्।

प्रकाशित: ४ मंसिर २०७६ ०२:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App