coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

फरार अभियुक्त पक्राउ अभियान: १० महिनामा ५५ जना पक्राउ

धादिङ – भारतीय सेनामा कार्यरत परशुराम तामाङको हत्या गर्ने दुईजनालाई प्रहरीले १७ वर्षपछि २०७६ कात्तिक २४ गते पक्राउ ग-यो। पक्राउ पर्नेमा खनियाबास गाउँपालिका–३ देउरालीका ४२ वर्षीय गोम लामा तामाङ र सोही ठाउँका ३७ वर्षीय सुक लामा तामाङ छन्। २०५९ साल कात्तिक २९ गते देउरालीका २४ वर्षीय तामाङलाई खुकुरी, नाइनस्टिक, ढुंगासमेतले प्रहार गरी हत्या गरेका थिए। कर्तव्य ज्यान मुद्दा लागेका उनीहरूलाई धादिङ प्रहरीरोधमा केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौंमा पक्राउ गरेको हो।

ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका नेत्रावती डवजोङ गाउँपालिका–३ का ५२ वर्षीय चन्द्रबहादुर तामाङ २२ वर्षपछि २०७६ कात्तिक १९ गते पक्राउ परे। उनले २०५४ माघमा स्थानीय पेम्बा दोर्जे तामाङलाई ज्यान मार्ने मनसायले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। घटनापछि फरार रहेका उनलाई जिल्ला अदालत धादिङले १० वर्ष कैद फैसला सुनाएको थियो। त्यस्तै भवितव्य ज्यान मुद्दा लागेका धुनीबेसी नगरपालिका–४ का ४१ वर्षीय दिपक भनिने दिपेश मिजार २० वर्षपछि पक्राउ परे। जिल्ला अदालतबाट २०५६ असोजमा ६ महिना कैद र पाँच सय रुपैयाँ जरिवाना तोकिएकोमा फरार रहेका उनलाई पक्राउ गरी कारागार चलान गरिएको छ।

चोरी मुद्दाका फरार रहेका नीलकण्ठ नगरपालिका–१४ का ६९ वर्षीय रामबहादुर भनिने सुब्बा वस्तीलाई गत शनिबार ३४ वर्षपछि पक्राउ गरिएको छ। अदालतले २०४१ साल जेठमा तीन वर्ष ११ महिना सात दिन कैद तोकी थुनामा रहेका उनी मंसिर ६ गते कारागारबाट भागेका थिए। कारागारबाट भागेको मुद्दामा अदालतले पाँच वर्ष पाँच दिन कैद थप गरी आठ वर्ष ११ महिना १२ दिन कैद सजाय तोकेको छ। धादिङ प्रहरीले हत्या, कर्तव्य ज्यान, चोरी, लागुऔषध, सवारीज्यानलगायत मुद्दामा फरार रहेका लाई पक्राउ गरेका यी केही घटना प्रतिनिधि घटना हुन्। धादिङ प्रहरीले ‘फरार प्रतिवादी पक्राउ अभियान’ अन्र्तगत विशेष सक्रियता बढाएपछि विभिन्न घटनामा संलग्न भई फरार रहेका अपराधीहरू धमाधम पक्राउ परिरहेका हुन्।

तथापि अदालतबाट ज्यान मार्ने उद्योग, हत्या, चोरी–डकैती, जबरजस्ती करणी, मानव बेचबिखन आदि गरेको जस्ता जघन्य अपराधमा सजाय सुनाइएका थुपैै व्यक्ति अझै फरार अपराधीको सूचीमा छन्। यसबाहेक देवानी मुद्दामा सजाय भएका, ठगी गरेका आदि मुद्दाका अभियुक्तहरू पनि कैद वा जरिवाना भुक्तान नगरी लुकेर बस्दै आएका छन्।

अदालतबाट अपराधी प्रमाणित भएर पनि लामो समयसम्म कैद तथा जरिवाना भुक्तान नगरी फरार भएका अपराधीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवारले बताए। ‘विशेष अभियान सञ्चालनपश्चात फरार अभियुक्त पक्राउ गर्न सफल भएका हौं,’ एसपी बैदवारले भने, ‘अपराधी प्रमाणित भएर पनि समाजमा खुलेआम हिँडडुल गर्दा यसले नराम्रो प्रभाव पारेको छ।’

पछिल्लो समय पुराना मुद्दामा फरार रहेका अभियुक्त धमाधम पक्राउ परिरहेका छन्। केही व्यक्ति भने जेल सजाय नभएको तर जरिवाना तिर्नुपर्ने रकम नतिरेका पनि छन्। त्यस्ता व्यक्ति जरिवाना तिरेर छुटेका छन्।

दोषी व्यक्तिलाई पक्राउ गरी सजायको कठघरामा नल्याउने हो भने दण्डहीनता मौलाउँदै थप अरू घटना हुन सक्ने सम्भावना रहने भएका कारण फरार अपराधी पक्राउ गर्ने अभियान नै चलाएको प्रहरीको भनाइ छ। फरार अपराधी पक्राउ गर्न सादा पोसाकमा प्रहरी खटाइने, मोटसाइकल तथा मोबाइल गस्ती गर्ने गरिएको छ।

२०७५ माघदेखि थालिएको कारण फरार अपराधी पक्राउ अभियानअन्तर्गत हालसम्म ५५ जना पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताए। ‘जिल्लाभर रहेका प्रहरी इकाइहरूमा संकलित विवरण पठाएका छौं,’ खड्काले भने, ‘जिल्लाभित्रको अवस्थामा स्थानीय व्यक्तिहरूको सूचनालाई आधार मान्ने र जिल्ला बाहिरको अवस्थामा सम्बन्धित ठाउँको प्रहरीसँग समन्वय गरेर फरार अभियुक्त पक्राउ गर्ने गरेका छौं।’

प्रकाशित: ४ मंसिर २०७६ ०२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App