१६ चैत्र २०८० शुक्रबार
समाज

कारागारमा श्वासप्रश्वासका बग्रेल्ती बिरामी

इटहरी – पूर्वाञ्चल क्षेत्रीय कारागार झुम्का सुनसरीमा कैद जीवन भुक्तान गरिरहेका तीर्थबहादुर दाहाललाई सबैभन्दा बढी धूलोको समस्याले सताउने गर्छ। शान्त कारागारको रुपमा झुम्का चिनिएपछि सडक नजिकै रहँदा बग्रेल्ती सवारी साधन आवतजावत गर्ने गरेकाले त्यसको धूलो कोठाभित्र पुग्दा पिरोल्ने गरेको हो। जसले गर्दा उनलाई श्वासप्रश्वाससम्बन्धी रोगले सताइरहन्छ।

कारागारमा सबैभन्दा बढी असोज महिनादेखि वैशाख–जेठसम्म पूरै   धूलोले ब्लक नं. १ र २ का कैदीबन्दीलाई पिरोल्ने गर्छ। उनीजस्तै, धूलोले गर्दा कैदी दुर्गाप्रसाद निरौलालाई पनि पछिल्लो समय श्वासप्रश्वास रोगले सताएको छ। पूर्व–पश्चिम राजमार्गदेखि झन्डै एक हजार मिटर पश्चिमतर्फ सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरअन्तर्गतको सडकमा दैनिक अनगिन्ती ट्रक, टिपर, ट्याक्टरसँगै यात्रुवाहक बस गुड्ने गर्छन्। यी सवारी साधन गुड्दा ग्राभेल सडक भएकाले गर्दा धूलो उडेर सजिलै कोठाभित्र पुग्ने गरेको जेल प्रशासनका कर्मचारी राजेन्द्र कार्कीले बताए।

झुम्का चोकदेखि क्षेत्रीय कारागारसम्म पुग्ने सडक खण्डको छेउछाउ बस्ती छ। तर, बस्तीका बासिन्दाले पनि धूलो नियन्त्रणका लागि कसैसँग पहल गरेका छैनन्। जसले गर्दा पनि समस्या कायमै छ। ‘धूलो नियन्त्रण भए श्वासप्रश्वासका बिरामीको संख्यामा कमी आउने थियो,’ जेल प्रशासनका निम्ति जेलर सूर्यमान बानियाँले भने, ‘नगरपालिकाले हरेक दिन पानी छिट्ने व्यवस्था मात्र मिलाए धूलोका कारण बिरामीको संख्यमा कमी आउने थियो।’

कारागारमा श्वासप्रश्वाससँगै उच्च रक्तचाप, पायल्स, क्षयरोग, डिप्रेसन, एचआइभी÷एड्स, छालाको समस्या भएका बिरामी छन्। ‘श्वासप्रश्वास र छालाका बिरामी बढी छन्,’ जेलर बानियाँले नागरिकसँग भने। रोगी कैदीलाई आवश्यताअनुसार अस्पताल भर्ना गरिरहनु पर्छ। बिरामीलाई नियमित उपचार गर्न एक जना अहेव पनि कार्यरत छन्। ‘बिरामी बढी भएकाले गर्दा मेडिसिनले धान्नै गाह्रो हुने गर्छ,’ अहेव मोहनकुमार भुजेलले भने।

झुम्का कारागारबाट २०६९ कात्तिक २३ गते राति  झन्डै ८० फिट लामो सुरुङ खनेर १२ जना कैदी भागेका थिए। कैदी भागेपछि कैदीलाई सुधार्नका लागि विभिन्न खाले कार्यक्रम कारागारभित्र गर्ने गरिएको छ। रोगी बिरामी कैदीलाई लक्षित गरेरै स्वास्थ्य कार्यालय सुनसरी, विराट नेपाल मेडिसिन, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त आयोजनामा वर्षमा दुईपटक क्षयरोग परीक्षण गर्ने गरिएको छ।

यहाँ ब्लक नं. १ र २ गरी एक हजार ७ सय ३७ जना कैदी छन्। यीमध्ये ११ जना क्षयरोगी छन्। क्षेत्रीय कारागार पछिल्लो समय ठूलो संख्यामा कैदीबन्दी हुँदा पनि शान्त र नमुना कारागारको रुपमा चिनिएको छ।

०६६ साल साउन ५ गतेदेखि सञ्चालनमा आएको क्षेत्रीय कारागारमा सोही वर्षको असोज २९ गते कैदीबन्दीको एउटा समूहको कुटपिटबाट कैदी अर्जुन तामाङको मृत्यु भएको थियो। त्यसपछि १२ जना कैदी भागेयता जेल प्रशासन कारागार सुधार गर्न गम्भीर भएर लागेको थियो।

क्षेत्रीय कारागारमा अब कैदीबन्दीको जीवनशैली रुपान्तर गर्ने कार्यक्रम सञ्चालन गर्ने तयारी भएको छ। सकारात्मक सोच, स्वास्थ्य मनोव्यवहार–आहारविहार, सिनियरले जुनियरलाई नैतिकता र अनुशासनको पाठ सिकाउनेलगायतका कार्य हुने गरेका छन्।

प्रकाशित: ३ मंसिर २०७६ ०३:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App