३० श्रावण २०७७ शुक्रबार
समाज

ताप्लेजुङ बन्यो डाइक्लोफेनेक मुक्त

ताप्लेजुङ – ताप्लेजुङलाई सोमबार डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरिएको छ। स्वच्छ वातावरणको संकेत गर्ने पन्छी‘गिद्ध’को संरक्षणका लागि विगतमा पशु उपचारमा प्रयोग हँुदै आएको डाइक्लोफेनेक नामक औषधि प्रयोगमा पूर्ण प्रतिबन्ध लागेको देशको ७२ औं जिल्लाको रुपमा ताप्लेजुङ दर्च भएको छ।

फुङ्लिङ नगरपालिकाका कार्यवाहक नगरप्रमुख समेत रहेका उपप्रमुख बमबहादुर भट्टराई(तारा)ले डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गर्दै यसको प्रयोग पूर्णरुपमा अन्त्य भएको घोषणा पत्रमा हस्ताक्षर गरेका छन्। नेपाल पन्छी संरक्षण संघ(बिसिएन)को संयोजनमा अहिले नेपाललाई नै डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गर्ने अन्तिम तयारी गरिएको छ।

संघका कार्यक्रम संयोजक भूपाल नेपालीका अनुसार अब काठमाडौं, ललितपुर र भक्तपुरलाई समेत डाइक्लोफेनेकमुक्त जिल्ला घोषणा गरेपछि नेपाल पूर्णरुपमा डाइक्लोफेनेकमुक्त राष्ट्र बन्ने छ। ‘यो अभियान पूरा हुन धेरै समय बाँकी छैन’, नेपालीले भने, ‘यसले गिद्धको संरक्षणका लागि एउटा महŒवपूर्ण अभियानको एकफेरो पूरा हुने छ।’ पशु उपचारका लागि प्रयोग गरिने डाइक्लोफेनेक नामक औषधि भने वि.सं. २०६३ साल जेठ २३ गतेदेखि नै सरकारले यसकोे उत्पादन, आयात, बिक्री र प्रयोगमा प्रतिबन्ध लगाएको हो। यो औषधि भारत, पाकिस्तान र बंगलादेशमा पनि प्रतिबन्धित रहेको छ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाँचथरका कार्यालय प्रमुख डाक्टर इन्द्रनारायण साहका अनुसार सरकारले प्रतिबन्ध गरिसकेको यो औषधिको प्रयोग,  बिक्री, आयात र उत्पादन गरेको पाइएमा औषधि ऐन २०३५ बमोजिम कारबाही हुने व्यवस्था छ। जसअनुसार यसका कुनै पनि शंखलामा सहभागी भए ३ वर्ष कैद वा २५ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने डाक्टर साहले जानकारी दिए।

डाइक्लोफेनेक सन् १९९० को दशकमा नेपाललगायत दक्षिण एसियामा पशु उपचारमा एकछत्र राज गरेको दुखाइ कम गर्ने औषधि हो। साहका अनुसार जब–जब यसको उत्पादन र बजार प्रभाव विस्तार हुँदै गयो, तब–तब गिद्धको संख्या विनाश भई महामारीको रुप बढ्दै गएको छ।

पन्छी संरक्षण संघका अनुसार डाइक्लोफेनेकमुक्त घोषणा अभियानको प्रारम्भ दाङबाट भएको हो। संघीयता कार्यान्वयनपछि संरचना बनाउँदा छुट्टिएका रुकुम र नवलपरासीलाई साविककै एक जिल्ला मानेर अभियान आरम्भ गरिएको संघका कार्यक्रम संयोजक नेपालीले जानकारी दिए। संघले गरेको अध्ययनअनुसार नेपालमा अहिले ९ प्रजातिका गिद्ध छन्। पछिल्लो समय लामो ठुँगे गिद्ध भेटिए पनि यसको संख्या भने यकिन नभएको नेपालीले जानकारी दिए। यसबाहेक नेपालमा अहिले डगर गिद्ध बढीमा २ हजारसम्म, सानो खैरो गिद्ध ७५ वटासम्म, सुन गिद्ध ४ वटासम्म, सेतो गिद्ध १ हजार वटासम्म, हिमाली गिद्ध १ हजारभन्दा कम, राजगिद्ध १ सय वटासम्म, हाडफोर ५ सय वटा भन्दा कम संख्यामा रहेको अनुमान गरिएको छ। खैरो गिद्धको पनि संख्या यकिन नभएको उनले जानकारी दिए।

नेपाल सरकारसँग मिलेर गिद्ध संरक्षण तथा यसका बारेमा अध्ययन गरिरहेको पन्छी संरक्षण संघका अनुसार विक्रम संवत् २०४७ सालभन्दा पहिले नेपालमा करिब ५ लाख वटा गिद्ध रहेको अनुमान गरिएको थियो। यो अवधिमा भारतमा करिब १६ करोड वटा गिद्ध रहेको अनुमान गरिएको थियो। नेपालमा अहिले १२ देखि १३ हजार जतिको संख्यामा गिद्ध रहेको अनुमान गरिएको छ। २०४७ सालअघि र अहिलेको अवस्थामा नेपालमा करिब ९१ प्रतिशत र भारतमा ९९ प्रतिशतको दरले गिद्धको संख्या घटेको पन्छी संरक्षण संघले गरेको अध्ययन निष्कर्ष रहेको छ।

प्रकाशित: ३ मंसिर २०७६ ०९:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App