१६ चैत्र २०८० शुक्रबार
समाज

सशस्त्र प्रहरी टोली सीमाक्षेत्र

नेपाल–भारत सिमानाकाे तिम्बुपाेखरी क्षेत्रमा भत्किएको सीमास्तम्भ। तस्बिर : गिरिराज/नागरिक

पाँचथर – सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सक्रियता र निगरानी बढाएको छ। सन्दकपुरमा केही दिनअघि नेपाली विद्यार्थीहरूले भारतविरुद्ध नाराबाजी गर्दै नेपाली झन्डा फहराएपछि पाँचथरतर्फको सीमावर्ती क्षेत्रमा एसएसबीको गस्ती बढेको स्थानीय गोठ सञ्चालकहरूले बताएका छन्।

सीमावर्ती क्षेत्रमा आवतजावत गर्नेलाई सोधपुछ गर्ने, विवरण राख्ने क्रम तथा गस्ती बढाएका छन्। एसएसबीका जवानहरू गोठमा आएर के कसो छ भनेर सोध्ने गरेको गोठ सञ्चालकहरूको भनाइ छ। बाक्लो गरिरहेका चेकपोस्टबाट सन्दकपुरदेखि चिवाभञ्याङसम्मको क्षेत्रमा निगरानी थप बढाएको हो। चिवाभञ्याङदेखि सन्दकपुरसम्म गतिविधि बढाएको हो। नेपाली क्षेत्रमा चहलपहल भए नभएको बारे जानकारी लिने, गस्ती गर्ने काम बढाएको उनीहरूले बताए।

‘सोधपुछ गर्ने, नेपालतर्फको गतिविधिबारे सोध्ने गरेका छन्। विगतको भन्दा गस्ती बढाएका छन्। गोठमा आएर के–कसो छ भनेर सोध्ने गरेका छन्’ फालोटका गोठ सञ्चालक चन्द्रलाल नेपालले भने, ‘सीमाक्षेत्र भएर हिँड्नेलाई सोधपुछ बढाएका छन्। नेपालतर्फ पनि सुरक्षा क्याम्प भइदिए आडभरोसा हुने थियो।’

नेपाली गोठ सञ्चालकहरूलाई भारतीय सुरक्षाकर्मीले के–कसो छ भनेर सोध्ने गरेका छन्। हिँडडुल अलि बाक्लो गर्न थालेका छन्। तर नेपालतर्फ भने सुरक्षा चहलपहल छैन।

उच्चपहाडमा रहेको सीमाक्षेत्रमा भारततर्फ बाक्लो गरी एसएसबीको क्याम्प रहेका छन्। नेपालतर्फ फर्काएर बनाएका ती क्याम्पबाट सीमाक्षेत्रको निगरानी हुने गर्छ। उनीहरूले पछिल्ला दिनमा गतिविधि बढाएको सो क्षेत्रका बासिन्दाले बताएका हुन्।

सो क्षेत्रमा नेपालकै भूभागमा हिँडडुल गर्न पनि भारतीय बाटो नै प्रयोग गर्नुपर्ने बाध्यता छ। फालोटसम्म भारतले सडक बनाएको छ। यही बाटो प्रयोग गर्दा सोधपुछ बढेको बताइएको छ। ‘के–कसो छ भनेर सोध्ने गरेका छन्। हिँडडुल अलि बाक्लो गर्न थालेका छन्। तर दुःख चाहिँ दिएका छैनन्,’ तोरीफुलेका गर्जमान गुरुङले भने, ‘नेपालतर्फ भने सुरक्षा चहलपहल छैन।’

भारततर्फ दशगजा वरपरमा सडकलगायत पूर्वाधारहरू निर्माण भएका छन्। पाँचथर जिल्लाले छुने भारतीय सीमाक्षेत्रमा सरकारी उपस्थिति छैन। निगरानी शून्य अवस्थामा रहेको सीमाक्षेत्रमा भारतीय गाडीहरू निर्वाध कुदिरहेका हुन्छ। नेपालतर्फ सरकारी संरक्षणको हुनुको साटो बर्सेनि उजाडिँदै गइरहेको छ। जिल्लाको सन्दकपुरदेखि तिम्बुपोखरी छेउसम्मको ४५ किलोमिटर लामो सीमाक्षेत्रमा भारतले आफ्नो वन तथा भूगोल संरक्षित गरेको छ भने नेपालतर्फ सरकारी उपस्थिति शून्य छ।

सीमाक्षेत्रमा सुरक्षा तथा अन्य सरकारी उपस्थितिको अपेक्षा सो क्षेत्रका बासिन्दाले गर्ने गरेका छन्। तर सीमाक्षेत्रबाट निकै टाढामात्र सुरक्षा चौकी रहेको छ।

सुरक्षाकर्मी उच्चपहाडी सीमाक्षेत्रतिर
यसैबीच, सीमाक्षेत्रको अवस्था बुझ्न सशस्त्र प्रहरीको टोली पूर्वोत्तर सीमाक्षेत्रतर्फ लागेको छ। चिवाभञ्याङदेखि सन्दकपुरसम्मको सीमाक्षेत्रको अवस्था बुझ्न सीमा प्रशासन कार्यालय च्याङ्थापु प्रमुखसहित सशस्त्र प्रहरीको टोली पठाइएको पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले बताए। ‘सीमाक्षेत्रमा गस्ती गर्ने, सीमास्तम्भहरूको अवलोकन तथा स्थानीयसँग अन्तक्र्रिया गर्ने गरी टोली पठाइएको छ,’ वस्तीले भने, ‘केही दिनमा यो टोली फर्केपछि सीमाक्षेत्रको पछिल्लो अवस्थाको जानकारी प्राप्त हुनेछ।’

सीमा प्रशासन कार्यालय प्रमुख विनोद चौहान र सशस्त्र प्रहरीका इक्पेक्टरसहित टोली सीमाक्षेत्रतर्फ लागेको हो। उच्चपहाडी भूभाग भएकाले सो क्षेत्रमा नेपाली सुरक्षा संयन्त्रको उपस्थिति विरलैमात्र हुने गरेको छ।

प्रकाशित: ३ मंसिर २०७६ ०१:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App