५ वैशाख २०८१ बुधबार
समाज

पछि हट्यो एसएसबीः सन्दकपुरमा पर्यटकलाई सहज

भारतीय सीमा क्षेत्रमा रहेको इलामको प्रमुख पर्यटकीयस्थल सन्दकपुर । तस्बिरः भीम/नागरिक

इलाम- भारतीय सीमा क्षेत्र तथा इलामकै अग्लो पर्यटकीयस्थल सन्दकपुरको भ्यु–पोइन्टमा जान र तस्बिर खिच्न नदिने गरीको व्यवहार परिवर्तन गर्ने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले आश्वासन दिएको छ। सशस्त्र प्रहरी बलका अधिकारीसँग भएको छलफलमा एसएसबीले पर्यटकलाई सन्दकपुर डाँडामा जान अवरोध नगर्ने बताएको हो।

इलामस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर नम्बर १ का डिएसपी प्रेम प्रसाईंको नेतृत्वमा रहेको टोलीसँग एसएसबीका अधिकारीले छलफल गरेका थिए। ‘एसएसबीको माथिल्लो तहका अधिकारीले सन्दकपुरको चुचुरोमा पर्यटकलाई अवरोध नगर्ने र त्यहाँ पुग्न, तस्बिर खिच्न नपाउने भनी राखेको सूचना बोर्डसमेत नराख्ने वचन दियो,’ डिएसपी प्रसाईंले भने, ‘अब पर्यटकलाई सन्दकपुरमा जान, घुम्न, हिँडडुल गर्न अवरोध छैन्।’

एसएसबीको सिक्किमस्थित ३६ नम्बर बटालियनका सेकेन्ड इन कमान्ड निरूपेश कुमार नेतृत्वको टोलीले सशस्त्र प्रहरीको टोलीसँग छलफल गरेको थियो। एसएसबीले सीमा समस्याको कूटनीतिक समाधानका लागि तत्काललाई दशगजामा भइरहेको अवरोध नगर्ने जनाएको डिएसपी प्रसाईंले जानकारी दिए।

तर गत शनिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)को नेतृत्वमा त्यहाँ पुगेका विद्यार्थीले एसएसबीले राखेको निषेधको बोर्ड फ्याँकिदिएर सन्दकपुर चुचुरोमा राष्ट्रिय झन्डा फहराएका थिए। त्यसअघि प्रदेश नम्बर १ की प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू पुगेका बेला एसएसबीले आफैं हटाएको बोर्ड लिम्बू फर्किएपछि पुनः राखेको थियो।

अनेरास्ववियू केन्द्रीय सदस्य रवीन्द्र सुवेदीले विद्यार्थीले सीमा समस्याको समाधानमा दीर्घकालीन समाधान चाहेको बताए। ‘सन्दकपुरलगायत इलामको पूर्वी भारतीय सीमा क्षेत्रमा बारम्बार समस्या दोहोरिएको छ,’ उनले भने, ‘विद्यार्थीले सीमामा झन्डा गाढेर जुन सन्देश दिएका छन्, सबै नेपाली यसैगरी जागरुक हुने हो भने कसैले हाम्रो भूमिमा हस्तक्षेप गर्न पाउँदैन।’ उनले विद्यार्थीकै बलले सन्दकपुरबाट एसएसबी हटेको तर यसको दीर्घकालीन समाधान गर्न कूटनीतिक पहल अझै जरुरी रहेको बताए। 

अनेरास्ववियू जिल्ला अध्यक्ष प्रवेश पराजुलीले पूर्वी सीमामा ढुक्क हुने अवस्था नरहेको भन्दै निरन्तर खबरदारी गरिरहनुपर्ने बताए। ‘हामीले सीमा रक्षाका लागि पशुपतिनगर र सन्दकपुरमा खबरदारी गरेपछि दशगजाको रक्षा भएको छ,’ उनले भने, ‘तर, यतिमै ढुक्क हुने होइन, दीर्घकालीन समाधान नभएसम्म लागिरहनुपर्छ।’

एसएसबीले सन्दकपुर गाउँपालिकाले ३ हजार ६ सय ३६ मिटर उचाईको सन्दकपुर डाँडामा बनाउन लागेको भ्यु–पोइन्ट निर्माणको काम रोकेको थियो। त्यसपछि उसले यो चुचुरोमा जान र तस्बिर खिच्न पर्यटकलाई अवरोध गरेको थियो। ‘अहिले पर्यटकलाई सन्दकपुरमा अवरोध छैन्,’ स्थानीय जनप्रतिनिधि पेमाडन्डु शेर्पाले भने, ‘तर, कतिबेला फेरि समस्या बल्झिने हो ठेगान हुँदैन्।’

प्रकाशित: २ मंसिर २०७६ १०:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App