८ वैशाख २०८१ शनिबार
समाज

स्पाइनल इन्जुरीले थलिएका युवाले खोले चिया स्टेसन

चिया स्टेसनको काउन्टरमा प्रवेश (वाग्ले) शर्मा।

बनेपा - मध्यपहाडको व्यापारिक सहर बनेपा जागा भइसकेको हुन्न। सोही सहरको चारदोबाटो नजिकैको एउटा पुरानो घरमा ‘चिया स्टेसन’ खुलिसक्छ। त्यसका सञ्चालक ह्विलचेयरमै बसेर स्टेसनका कर्मचारीलाई अह्राउने तथा सिकाउने गरिरहेका भेटिन्छन्।

सर्भाइकल स्पाइनल ट्युमरको समस्याले बाल्यावस्थाम ग्रसित बनाएपछि ह्विलचेयरको सहारामा यस्तो दैनिकी बिताइरहेका बनेपा–१२ बाँसडोलका प्रवेश (वाग्ले) शर्मा हुन्। सारसौँदो अवस्था हुँदा नेपाली सेना या अन्य सुरक्षा निकायमा सेवा गर्ने सपना बुनेका उनलाई १४ वर्षकै उमेरमा कहिल्यै निको नहुने स्पाइनलको समस्याले पिरोल्न थाल्यो।

‘स्कुल पढ्ने क्रममै सर्भाइकल स्पाइन ट्युमर देखियो। न्युरो सर्जन डा. वसन्त पन्तबाट अपे्रसन गराएँँ। त्यसपछिका १० वर्ष खासै समस्या थिएन। फेरि समस्या बल्झियो। डा. पन्तबाटै पुनः अपरेसन गराएँ। तर, समस्या ज्यूँकात्यूँँ। अब त उभिन पनि नसक्ने भएर ह्विलचेयरको सहारामा बाँचेको छु,’ २८ वर्षीय शर्माले भने, ‘त्यसपछि सबैको सल्लाहले एक पटक दिल्लीमा गएर समस्यालाई देखाएँ। त्यहाँ पनि नेपालकै उपचार पद्धति ठीक भएको जानकारी पाएँ।’ उनी अब केही वर्षमा अर्को शल्यक्रिया गर्ने कि भनेर विचार विमर्शमा जुटिरहेका छन्।

‘शारीरिक अवस्थाले साथ नदिएपछि सानोमा देखेको सपना यतिखेर बदलेको छु। सन् २०१६ मै बिबिए सकेका बखत जागिरभन्दा पनि आफ्नै केही गर्ने सोचचाहिँ थियो,’ उनले भने। सधैंभरि नयाँ व्यवसाय गर्न सकौं, जुन युवावर्गको रोजाइमा परोस् भन्ने योजना बुनि बस्थे शर्मा। यस्तै, सोचले बनेपामै पहिलो पटक ‘चिया स्टेसन’ नामबाट मट्का (माटोको भाँँडोमा) चिया पाइने पसल खोलेका छन्। यस काममा उनलाई विश्व बैंक र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले केही महिनाअघि सञ्चालन गरेको ‘इन्क्लुसिभ इन्ट्रेपे्रनरसिप’ तालिमले हौस्साएको हो। ‘बनेपामा माटोको भाँडोमा चिया (मट्का चिया) कतै देखेको थिइनँ। धेरै वटा होटेल र चिया पसलमा गएर बुझेँ र हेरेँ। उही पुरानै तरिकामा चिया बेचिरहेको पाएँ। त्यही भएर यस्तो योजना बनाएँ,’ शर्माले सुनाए।

काठमाडौंका युवा मट्का चियाप्रति आकर्षित भइरहेको देखेर गृह नगर बनेपामा पनि अवश्य चल्नेछ भन्ने सोचले अभिप्रेरित भएको उनको भनाइ छ, ‘बनेपा यतिखेर मध्य पहाडको ‘इमर्जिङ’ सहर हुन थालेको छ। नयाँ–नयाँ रेस्टुरेन्ट र कफी सप खुलिरहेको अवस्थामा मट्का चिया चल्छ भन्ने सोच आयो,’ शर्माले थपे, ‘६ लाख रूपैयाँ खर्च भइसक्यो। अझै धेरै काम गर्न बाँकी छ। परिवारको दरिलो साथ र सहयोग नपाएको भए व्यवसाय थालिहाल्न यत्ति सहज हुने थिएन,’ उनले भने।

स्पाइनलबाट थलिएका छोरालाई निरन्तरको उत्प्रेरणाबाट उद्यमी बनाउने मुख्य श्रेय शर्माकै परिवारलाई जान्छ। बाबु रसुवाको सामुदायिक विद्यालयमा शिक्षक छन् भने आमा वडा नं १२ को महिला सदस्य। भाइले भर्खरै चार्टर्ड एकाउण्टेण्ट पास गरेका छन्। ‘बिबिए सकेलगत्तै बैंकले बोलाएका थिए। स्पाइनल इन्जुरी भएर हिँडडुल गर्न नसक्ने भएपछि यसै बसिरहेको थिएँ। तर, मेरो ध्यान भने जागिर खानुभन्दा आफैं उद्यम गर्नुपर्छ भन्नेमा थियो। किनकी पढाइ पनि त्यही लाइनको थियो,’ शर्माले भने।

बनेपामा चिया स्टेसन खुलेको तीन हप्ता पुगेको छ। स्टेसनका सबै ठाउँँलाई ह्विलचेयरमैत्री बनाएका छन्। मेनुलाई पनि पहिलो पटक ‘ब्रेललिपि’मा बनाएका छन्। आफूसहित ३ जनालाई रोजगारी दिएका छन्। उनी भन्छन्, ‘मट्का चिया खोज्दै आउने नै मेरा प्रमुख ग्राहक हुन्। एक पटक मट्का चियाको स्वाद चाखेका पारखीले साथीभाइ पनि लिएर आइरहेका छन्। युवा त पारखी भएकाले खासै कमेन्ट गर्दैनन्। तर, अलि पाका उमेरका ग्राहक चियामा माटो गनायो भन्नुहुन्छ। उहाँँहरूलाई बानी नपरेर होला,’ शर्माले थपे।

ह्विलचेयरमैत्री चिया स्टेसन भएकाले १०–१२ वर्षसम्म नभेटेका साथीले भेट्न आउँदाको खुसी वर्णन गर्न नसकिने उनको भनाइ छ। उनले भने, ‘धेरै साथीहरू भेट्ने थलो पनि भएको छ यो चिया स्टेसन। नत्र त घरकै एउटा कोठामा बस्नु पथ्र्यो होला,’ शर्माले भने। भ्याएसम्म राति स्टेसन बन्द गरेर बनेपास्थित काकाको घरमा जाने गरेका छन्। ग्राहक भएर ढिलो बन्द गर्नुपर्दा स्टेसनभित्रै सुत्ने व्यवस्था मिलाएका छन्।

चिया स्टेसनको सजावटमा पनि पुनः प्रयोग हुने सामग्रीमा विशेष जोड दिएका छन्। ‘पुराना टायरलाई टेबलको स्ट््याण्ड बनाएको छु। माटोको भाँडो वातावरणमैत्री भएकाले यसैमा चिया बेचिरहेको छु। चियासँग समय राम्ररी कटोस् भनेर चेस बोर्ड राखिदिएको छु। युवाको रोजाइका किताब खोज्दैछु,’ उनले भने।

यतिखेर चिया पारखीको स्वभावलाई अध्ययन गर्दै रहेकाले स्थानीय बजारमै उपलब्ध चियापत्तीको उपयोग गरिरहेका छन्। पारखीको अनुरोध अनुसार यसै चियापत्तीलाई विभिन्न स्वाद (फ्लेभर)हरूमा तयार गर्ने गरेका छन्। चाँडै नै स्टेसन हातामा नेपालकै उत्कृष्ट चियाहरु पाइने शोरुम बनाउँदैछन्।

स्टेसन सुरु गरेकै दोस्रो हप्तामा विश्व बैंक समूहको ११ देशका कार्यकारी निर्देशकले उनलाई भेटेर हौसला दिएको क्षणलाई भुल्न नसकिने बताउँछन्। उनी भन्छन्, ‘उहाँहरू नेपालको भ्रमणमा आउँदा मेरो चिया स्टेसन पनि हेर्न आउनुभयो। किनकी मैले वल्र्ड बैंकको इन्क्लुसिभ इन्ट्रेप्रेनरसिप तालिम लिएको र पहिलो उद्यम थालनी गरेको थिएँ। उहाँहरू एक घण्टाजति बसेर मट्का चियाको स्वाद लिएर फर्कनुभयो। मेलै उद्यम नगरेको भए उहाँँहरू किन आउनुहुन्थ्यो,’ शर्माले भने।

उनको चिया स्टेसनको चर्चा चल्न थालेपछि विगतमा स्पाइनल इन्जुरी पुनस्र्थापना केन्द्रमा भेटिएका साथीहरूले पनि फोन सम्पर्क गर्न थालेका छन्। उनीहरूको सहरमा पनि यस्तै पसल खोल्नुप¥यो के गर्नुपर्छ भन्दै सोधखोज गरिरहेका शर्माको भनाइ छ। उनले भने, ‘आफ्नो चिया स्टेशन राम्रोसँग चल्न थालेपछि साथीहरुलाई पनि मद्दत गर्ने हो। यहाँको पर्यटकीय स्थल धुलिखेल, पनौती, पाँचखाल, दोलालघाट, नाला, साँगामा फ्रेन्चाइज चिया स्टेसन खोल्ने ठूलो इच्छा छ,’ उनले भने।

प्रकाशित: २ मंसिर २०७६ ०२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App