४ वैशाख २०८१ मंगलबार
समाज

इतिहास सम्झेर फोटो खिचाउँछन् पर्यटक

गोरखा- विसं २०७२ को भूकम्पका कारण क्षतिग्रस्त गोरखा दरबार निर्माणकै क्रममा छ। सँगै रहेको गोरखकाली मन्दिरलाई भूकम्पले क्षति पुर्‍याए पनि सँगै जोडिएको दरबारको निर्माण भइरहेका कारण यसको निर्माण भने थालिएको छैन। दरबारको निर्माण कार्य जारी रहेका कारण निर्माण सामग्री पनि यत्रतत्र छरिएका छन्।

यस्तो अवस्थामा पनि गोरखा दरबार क्षेत्र र यहाँस्थित गोरखकाली मन्दिर दर्शन गर्न आउने दर्शनार्थी र पर्यटकको सङ्ख्या भने घटेको छैन। भूकम्पले क्षतिग्रस्त भए पनि ठूलो आस्था एवं विश्वासका कारण गोरखकाली मन्दिरमा दर्शनार्थी आउने क्रममा कुनै कमी नआएको मन्दिरका पुरोहित हरिबाबु अर्यालले जानकारी दिए। उनका अनुसार कालिका मन्दिरको दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ देशका विभिन्न स्थानबाट दर्शनार्थी आउने गरेका छन्।

बिहान १० देखि दिउँसो ३ बजेसम्म पूजाआजा हुने यस मन्दिरमा विशेषगरी बडादशैँ र चैतेदशैँमा विशेष पूजा गरिन्छ। नेपालको गौरवशाली इतिहासको शुरुआत गोरखा दरबारबाटै भएका कारण देशका विभिन्न स्थानबाट दिनानुदिन पर्यटक आउने गरेको गोरखा दरबार हेरचाह अड्डाका सूचना अधिकारी रामेश्वर कट्टेलले जानकारी दिए। भूकम्पले यहाँका धेरै संरचना क्षतिग्रस्त भए पनि गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको शुरुआत भएको ठाउँ भन्दै पर्यटक आउने गरेको उनले बताए।

नेपाली इतिहासमा गौरव गर्ने स्थानका रूपमा गोरखा दरबार रहेका कारण एक पटक यो ठाउँ पुगौँ भन्ने अभिलाषाका साथ आफू गोरखा दरबार आइपुगेको त्यहाँ भेटिएका नेपालगञ्ज खजुराका श्यामप्रसाद पन्तले बताए। पृथ्वीनारायण शाहकालीन इतिहासलाई पछिल्लो पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ गोरखकाली मन्दिर परिसरमा तत्कालीन पोसाक र हातहतियारसहित खटिएका सुरक्षाकर्मी देख्दा आफूलाई छुट्टै गौरवको अनुभूति भएको उनले बताए।

'चिटिक्क कालो दौरासुरुवालमा सजिएका सुरक्षाकर्मी, कम्मरमा खुकुरी, टाउकोमा चाँदतोडा, हातमा भरुवा बन्दुक कति सुहाएको,' उनले थपे, 'साथीभाइ, इष्टमित्र सबैलाई देखाउनका लागि भने पनि उनीहरूसँग सँगै बसेर फोटो खिचाएँ, फेसबुकमा पनि पोष्ट गर्छु।' राजा पृथ्वीनारायण शाहले यही दरबारबाट सिङ्गो नेपालको परिकल्पना गरेका कारण पनि यो ठाउँको आफ्नै महत्व रहेको उनले बताए।

पन्त जस्तै पृथ्वीनारायण शाहकालीन पोसाकमा सजिएका सुरक्षाकर्मीसँग यहाँ आउने जो कोहीले फोटो खिचाउने गरेका छन्। पृथ्वीनारायणकालीन पोसाक र हातहतियारसहितका सुरक्षाकर्मी गोरखा दरबारको अर्को आकर्षण बनेको छ। तत्कालीन समयको पोसाकसहितका सुरक्षाकर्मी राखेका कारण यहाँ आउने पर्यटकलाई नेपाल एकीकरणको इतिहासबारे जानकारी लिन र त्यसको केही मात्रामा भने पनि अनुभूति गर्न अझै सहज हुने विश्वास लिइएको गोखरा दरबार हेरचा अड्डाका सूचना अधिकारी कट्टेलले जानकारी दिए।

दरबार क्षेत्रस्थित गोरखानाथ मन्दिर, श्रीविद्या मन्दिर, चौघेरा दरबार, दमाइँ पाटीलगायतका स्थान भने मर्मत भइसकेको छ। निर्माण सामग्री राख्ने स्थान अभाव आदिका कारण दरबारसँगै रहेको कालिका मन्दिरको पुनःनिर्माण सुरु हुन नसकेको र दरबारको पुनःनिर्माण सम्पन्न भएसँगै मन्दिरको पुनःनिर्माण अघि बढाइनेछ।

सङ्ग्रहालयको मुख्य प्रवेशद्वारमा सजाइएका सन् १७९२ मा निर्मित दुई तोपमा फोटो खिचाउन पर्यटक लालायित हुने गरेका छन्। सङ्ग्रहालयभित्र राखिएका गोरखाका शाह राजाहरूको परिचयात्मक कक्ष, जन्मकुण्डली कक्ष, हातहतियार कक्ष, पुष्पिका वाक्य कक्ष, धार्मिक तथा आर्थिक कक्ष आदिले पर्यटकलाई लोभ्याउने गरेको छ।

सङ्ग्रहालयमा आउने पर्यटकमध्ये विदेशीका लागि एक सय रुपैयाँ, नेपाली सर्वसाधारणका लागि २५ रुपैयाँ र विद्यार्थीका लागि दश रुपैयाँ १० प्रवेश शुल्क निर्धारण गरिएको कर्मचारी कोपिला देवकोटाले जानकारी दिइन्।

प्रकाशित: १ मंसिर २०७६ ०८:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App