२४ श्रावण २०७७ शनिबार
समाज

प्याराताल कब्जा गर्न सीमास्तम्भ गायब

भारतले प्यारातालवारि बनाएको १९६ नम्बरको नक्कली सीमास्तम्भ, जुन तत्कालीन समयमा स्थानीयले तोडफोड गरेका थिए। तस्बिर : पुष्पराज/नागरिक

प्याराताल (कञ्चनपुर) – कञ्चनपुरको पुनर्वास नगरपालिका–९ बीचफाँटामा १९५ नम्बरको सीमास्तम्भ ढलेको छ भने १९६ नम्बरको सीमास्तम्भ वर्षौंदेखि भारतीय पक्षले गायब पारेका छन्। दुधुवा नेसनल पार्कनजिकै रहेको नेपाली भूमिमा पर्ने प्याराताल कब्जामा लिने नियतले भारतीयले सो क्षेत्रमा रहेका सीमास्तम्भमा खेलबाड गरेको स्थानीय बताउँछन्।

दुई लाख ५० हजार वर्ग मिटर क्षेत्रफल रहेको प्याराताललगायत वरपरको करिब दुई सय बिघा जमिन अतिक्रमण गर्न ‘भारतीयहरूले १९५ नम्बर पिलर ढालेको र १९६ नम्बर पिलर गायब पारेको’ वडाध्यक्ष नारायणप्रसाद जैसीले बताए। ‘पिलर भत्काएर जैविक विविधताले भरिएको प्याराताल भारतले कब्जा गर्न खोजिरहेको छ,’ उनले भने, ‘प्याराताललाई लिएर हरेक वर्ष भारतीय पक्षले नेपाली बस्तीमा आएर दुःख दिने गरेको छ।’

प्यारातालमा माछा मार्न पहिले जिल्ला विकास समिति कञ्चनपुरले ठेक्कामा दिँदै आए पनि पछिल्लो समय भारतीय सीमा सुरक्षाकर्मीले सो क्षेत्र ‘भारतीय भूमि’ रहेको दाबीसहित ठेक्का लगाउन रोक लगाउँदै आएका छन्। प्यारातालभन्दा करिब पाँच सय मिटर दक्षिणतर्फ १९५ र १९६ नम्बरको सीमास्तम्भ रहेको बताउँदै जैसीले भने, ‘सीमादेखि वरै नेपालतर्फ रहेको प्याराताल कसरी भारतले आफूहरूको भनिरहेको छ ? हामी आश्चर्यमा परेका छौं।’

१९५ र १९६ नम्बरका सीमास्तम्भ अंग्रेजी अक्षरको ‘सी’ आकारमा रहेकाले ती दुवै पिलर गायब गर्नेबित्तिकै पिलर नम्बर १९४ बाट पिलर नम्बर १९७ मा नक्सा कोर्दा प्याराताललगायत करिब दुई सय बिघा नेपाली भूमि कब्जा गर्न सजिलो हुने भएकाले ती सीमास्तम्भमा भारतीयहरूको नजर लागेको स्थानीय दीपेन्द्र बस्नेत बताउँछन्। ‘त्यस क्षेत्रमा पानीको एकमात्र स्रोत जैविक विविधतायुक्त ऐतिहासिक प्यारातालमा भारतीयहरूले गिद्देदृष्टि लगाएका हुन्,’ उनले भने, ‘प्यारातालका विषयमा हामी सधैं भारतीय पक्षसँग लडिरहेका छौं।’

अंग्रेजी अक्षरको ‘सी’ आकारमा रहेका दुवै सीमास्तम्भ गायब गर्नेबित्तिकै १९४ नम्बरबाट १९७ नम्बरको सीमास्तम्भमा नक्सा कोर्दा प्यारातालसहित दुई सय बिघा नेपाली भूमि कब्जा गर्न सजिलो हुने भएकाले सोे क्षेत्रमा भारतीयको नजर लागेको छ।

२०६१ सालमा भारतीय पक्षले प्यारातालभन्दा पाँच सय मिटर दक्षिण रहेको १९६ नम्बरको सीमास्तम्भ गायब पारेर पुनर्वास नगरपालिका–८, कंकडनजिक नेपाली बस्तीमा नक्कली पिलर निर्माण गरेको थियो। त्यही ‘नक्कली’ सीमास्तम्भ भएको क्षेत्रलाई पनि अहिले भारतीयहरूले आफ्नो भूभाग दाबी गरिरहेको उल्लेख गर्दै बस्नेतले भने, ‘यसरी भारतीयहरूले सीमाक्षेत्रमा रहेको सक्कली पिलर गायब पार्ने र नक्कली पिलर बनाएर भूमि अतिक्रमण गर्ने काम गरिरहेका छन्।’ त्यो बेला भारतीयहरूले रातारात नक्कली सीमास्तम्भ निर्माण गरेपछि नेपाली पक्षले आन्दोलन गर्दै सो सीमास्तम्भ हटाएका थिए।

१९५ र १९६ नम्बरको सीमास्तम्भभन्दा पाँच सय मिटर नेपालतर्फ रहेको प्याराताल।

भारतीय पक्षले प्याराताल मात्र नभई कञ्चनपुरको पुनर्वास, परासन, खुड्डा कंकड, रामपुर विलासपुर, शुक्लाफाटा राष्ट्रिय निकुञ्ज, गड्डा चौकी र ब्रह्मदेव क्षेत्रमा नेपाली भूमि मिचेका छन्। ठाउँठाउँमा विवाद भएका कारण सीमा विवाद निक्र्योल गर्न गठित संयुक्त प्राविधिक टोलीले अहिलेसम्म कञ्चनपुरको सीमामा काम गर्न सकेको छैन।

ढालिएको १९५ नम्बरको सीमास्तम्भ जीर्ण बनेको छ भने सो क्षेत्रमा नेपाली नागरिकहरू जान पाउँदैनन्। ‘भारतीय एसएसबी तथा दुधुवा नेसनल पार्कका वन रक्षकले सीमास्तम्भ रहेको ठाउँसम्म पनि जान दिँदैनन्,’ वडाध्यक्ष जैसीले भने। दुई वर्षअघिसम्म भारतीय एसएसबीसँगको समन्वयमा सजिलै सीमा पिलर भएको ठाउँमा जान सकिने भए पनि अहिले आएर एसएसबीले सीमामा रहेको पिलरसम्म जान आदेश नभएको भन्दै नेपालीहरूलाई फर्काउने गरेको उनले बताए। सीमामा भारततर्फ एसएसबी सुरक्षा बल रहे पनि नेपालतर्फ सुरक्षाकर्मी नहुँदा पनि स्थानीयमाथि भारतीय सुरक्षाकर्मीहरूले ज्यादती गर्ने गरेका छन्।

पुनर्वास नगरपालिका–८ का सिद्धराज ओझाले सीमामै रहेको आफ्नो दुई बिघा जमिन खनजोत गर्न पाएका छैनन्। ‘जमुनाघारीस्थित सीमामा रहेको लालपुर्जासहितको दुई बिघा जमिन भोगचलन गर्न पाएको छैन,’ उनले भने, ‘रोपाइँका बेला खेतमा ट्र्याक्टर लगेर जोत्न खोज्दा पारिबाट भारतीय एसएसबीका जवानहरू आएर ट्र्याक्टरै बन्द गरेर धम्क्याए।’ एसएसबीको डरले आफूहरूले वर्षौदेखि खेतीपाती लगाउन नपाएको उनको भनाइ छ। उनीजस्तै स्थानीय ननी थापाले पनि सो क्षेत्रमा रहेको आफ्नो दुई बिघा जमिन राम्ररी खनजोत गर्न पाएका छैनन्। ‘हामी डरैडरले खेती लगाउँछौं,’ उनले भने, ‘खेतमा काम गर्न थालेको देखेपछि भारतीय एसएसबीहरू आउँछन्, समातेर लान्छन् र जरिवाना तिराउँछन्।’ नेपाली लालपुर्जा रहेको आफ्नै जमिनमा पनि खनजोत गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले आफूहरूलाई जरिवाना तिराउने गरेको दुःखेसो उनले पोखे।

आर्यघाट पनि खोसे भारतीयले
सीमा समस्यासम्बन्धी धनगढीमा भएको एक कार्यक्रममा धनगढी इन्जिनियरिङ क्याम्पस प्रमुख शिवहरि मुडभरीले अढाई दशकअघि आमाको निधन हुँदा महाकाली पुलनजिकै नदीमा दाहसंस्कार गरेको सम्झँदै भने, ‘मैले आमाको दाहसंस्कार गरेको महाकाली नदीको किनार पनि अचेल नेपालमा रहेन।’ त्यति बेला नेपाली भूभागमै पर्ने घाटमा सबैले दाहसंस्कार गर्थे। अचेल त्यो घाट भएको क्षेत्र कब्जा गर्दै भारती प्रहरीहरू महाकाली पुलनजिकैको भिरालो जमिनमा बस्ने गरेको मुडभरी बताउँछन्। ‘अहिले नेपाली भूभाग अतिक्रमण गर्दै लगेर भारतले गड्डा चौकी पु-याइसकेको छ,’ उनले भने। त्यतिबेला महाकाली नदीको पुलमा नेपाली र भारतीय झन्डा फहराइएको दृश्य आफैंले देखेको उनले बताए।

कञ्चनपुरको डोकेबजारदेखि पुनर्वास नगरपालिकाको आनन्दबजारसम्म रहेका एक सय ४७ सीमास्तम्भमध्ये एक सय चारवटा सीमास्तम्भ गायब भएका छन्। आनन्दबजारमा रहेको बिओपी (बोर्डर अपरेसन पोस्ट) का सशस्त्र प्रहरी निरीक्षक जगदीश बिष्टका अनुसार बीचफाँटा, प्याराताल, कंकड, डोकेबजारलगायत क्षेत्रका एक सय चारवटा सीमास्तम्भ हराएका छन्। सीमास्तम्भ हराएको स्थानमा भारतीय पक्षले अतिक्रमण गरेको ‘माटो बचाऊ अभियान’का संयोजक हेमबाबु लेखक बताउँछन्। उनका अनुसार अहिलेसम्म कञ्चनपुरमा भारतले ब्रह्मदेव, टनकपुर ब्यारेजको दुई सय २२ हेक्टर, गड्डा चौकी, शारदा ब्यारेजको ३० बिघा, शुक्लाफाँटा निकुञ्जको २९ वर्ग किलोमिटर, परासन–खुड्डा–कंकडमा एक सय ५० मिटर नेपाली भूमि भारतीय अतिक्रमणको चपेटामा परेको छ। नेपाली किसानले भोगचलन गर्दै आएको जमिनसमेत भारतीय सुरक्षाकर्मीले अतिक्रमण गरी किसानलाई दुःख दिने गरेको बताउँदै उनले भने, ‘नेपाली भूभाग फिर्ता गराउन अहिले कुटनीतिक पहल गर्ने उपयुक्त समय छ।’

गौतम हत्याकाण्ड त्यस्तै सेलायो
भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमै आएर गोली हानेर दुई वर्षअघि कञ्चनपुरस्थित आनन्द बजारमा स्थानीय गोविन्द गौतमको हत्या गरेका थिए। सुरुमा आफूले हत्या नगरेको भारतीय पक्षले दाबी गरे पनि पछि पोस्टमार्टम र फरेन्सिक जाँचको रिपोर्टका आधारमा भारतीय प्रहरीको गोलीले नै गौतमको हत्या भएको पुष्टि भएको थियो।

तत्कालीन गृहमन्त्री विमलेन्द्र निधीले भारतीय सुरक्षाकर्मीको अत्याधुनिक हतियारबाट निस्केको गोलीले गौतमको हत्या भएको प्रमाणित भएको र त्यो रिपोर्ट भारतलाई पठाएको बताएका थिए। पोस्टमार्टम र फरेन्सिक रिपोर्टअनुसार गोविन्द गौतमलाई लागेको गोली पाँच दशमलव ५६ मिलिमिटर क्यालिभर भएको सो गोली नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयोग गर्ने हतियारको नभई अत्याधुनिक हतियारको भएको पाइएको थियो। ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीले त्यस्तो गोली प्रयोग गर्दैनन्,’ त्यतिबेला गृहमन्त्री निधीले आनन्द बजारमै पुगेर भनेका थिए, ‘प्रयोगशालाबाट भारतीय सुरक्षाकर्मीको गोलीले गौतमको मृत्यु भएको पुष्टि भएको छ।’

अनाहकमा नेपाली भूभागमा आएर सर्वसाधारणलाई गोली हानी हत्या गरेको सो घटनामा भारतले गल्ती स्वीकार गर्दै दोषीलाई कारबाही गर्नुपर्ने स्थानीयले माग गरेका थिए। गृहमन्त्री निधीले स्थानीयलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै दोषीलाई कारबाही गर्ने वचन दिएको सुनाएका थिए। तर अहिलेसम्म न दोषीलाई कारबाही भएको छ, न भारतीय पक्षले गल्ती स्वीकारेको अभिव्यक्ति नै दिएको छ। २०७३ फागुन २६ गते नेपाली बस्तीका स्थानीयले नेपाली भूमिमा कल्भर्ट बनाउन लाग्दा भारतीय सुरक्षाकर्मीले बल प्रयोग गरी रोकेका थिए। त्यसरी रोक्ने क्रममा भारतीय सुरक्षाकर्मीले चलाएको गोली लागी गोविन्द गौतमको मृत्यु भएको थियो।

प्रकाशित: ३० कार्तिक २०७६ ०६:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App