८ वैशाख २०८१ शनिबार
समाज

गोठाटारबाट जाखिममा रहेका ११ बालबालिकाको उद्धार

उद्धार गरिएका बालबालिकालाई परिवारको जिम्मा लगाई सकेपछि लिइएको तस्बिर। तस्बिर : सुमन/नागरिक

मुगु- जिल्लाका बिभिन्न गाउँबस्तीबाट पढाईको प्रलोभनमा पारी काठमाडाैं लगिएका मुगुका ११ जना बालबालिकाको उद्धार गरिएको छ। पढाईको प्रलोभन लगायत बिभिन्न बहानामा काठमाडौंको कागेश्वरी मनोहर नगरपालिका वडा नं ८ गोठाटारमा सञ्चालित सामाजिक तथा मानवीय सरोकार केन्द्र नामक संस्थाबाट मुगुका ११ बालबालिको उद्धार गरिएको हो।

राष्ट्रिय बाल अधिकार परिषद्, महानगरीय प्रहरी, बालबालिका खोजतलास समन्वय केन्द्र लगायतको पहलमा गएको असोज १६ गते मुगुका ११ जना बालबालिकाको उद्धार गरिएको थियो।  

उद्धार गरीएका ११ जना बालबालिका मध्ये साझा सवालका लागि साझा मञ्च (कोकन) को पहलमा ९ बालबालिकालाई परिवारमा पुर्नस्थापाना गराई परिवारको जिम्मा लगाएइएको छ।

उद्धार गरिएका बालबालिका खत्याड गाउँपालिका वडा नं ११ का मन्जु ओड रहेकी छन् भने अन्य सबै छायाँनाथ रारा नगरपालिका वडा नं ६ कोटील्ला गाउँका गोबिन्द्र बुढा, रामाराज बुढा, लोकेश ऐडि, कृपाराम ऐडि, दिनेश ऐडि, सुदिन ऐडि, सुजता ऐडि, र रमित भण्डारी रहेका छन्।

बाँकी २ बालबालिकाका बुवा आमा पत्ता नलागेकाले साझा सवालका लागि साझा मञ्च (कोकन) को जिम्मामा काठमाडौं राखिएको साझा मञ्च (कोकन) का कार्यकारी निर्देशक केशव घिमिरेले जानकारी दिए।

उनका अनुसार बाँकी दुई जनाको आमा बुवा खेजतलास भईरहेको र पत्ता लागेमा उनीहरुलाई पनि परिवारमा पुर्नस्थापाना गराईने बताए।

उद्धार गरिएका बालबालिकालाई बुधबार जिल्ला प्रशासन कार्यालय मुगुमा एक औपचारिक कार्यक्रमको आयोजना गरी निमित्त प्रमुख जिल्ला अधिकारी केशव ज्ञवाली, स्थानीय जनप्रतिनिधीको रोवरमा परिवारको जिम्मा लगाईएको कोकनका निर्देशक घिमिरेको भनाई छ।  

यसैबिच छायाँनाथ रारा नगरपालिका वडा नं ६ का वडाअध्यक्ष हर्क ऐडिका अनुसार अभिभावकलाई बालबालिकाहरु आफुले काठमाडौं नपठाउन आग्रह गरेको पनि बताए। सिफारिस पनि नगर्ने भन्ने बिचारले सिफारिस पनि केहि दिन रोकेको जानकारी गराउदै अभिभावकको जिद्धीले सिफारिस दिन बाध्य भएको बताए। तर बालबालिकाको यस्तो हबिगत भयो। आगामी दिनमा यस्तो गल्ती नगर्ने प्रतिबद्धता समेत गरे।

यसैगरी पुर्नस्थापाना कार्यक्रम बोल्दै अभिभावकले लोभलालचले बालबालिकालाई काठमाडाैं पठाएका थियाैं तर यस्तो होला भन्ने लागेको थिएन। समयमै सहयोग गरी बालबालिकालाई परिवारको जिम्मा लगाई दिएर सहयोग गर्ने सहयोगी संस्थालाई धन्यबाद समेत ब्यक्त गरे।

यस्तै, उद्धार गरिएका ९  बालबालिकालाई स्टेशनरी सहयोग गरी परिवारको जिम्मा लगाई पुर्नस्थापना गरिएको छ। साझा सवालका लागि साझा मञ्च (कोकन) को सहयोगमा परिवारमा पुर्नस्थापनासंगै बालबालिको पढाईमा सहजताको लागि स्टेशनरी सामाग्री, विद्यालय पोशाक सहयोग गरी परिवारको जिम्मा लगाइएको छ।

 

 

प्रकाशित: २७ कार्तिक २०७६ ११:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App