७ वैशाख २०८१ शुक्रबार
समाज

भूकम्पले घर भत्काएपछि चार वर्षदेखि छिमेकीको घरमै बास

बनेपा- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ता लिएर घर बनाउने समय कात्तिक मसान्तको समयसीमा तोकेर काम गर्न आग्रह गरिरहेका बेला भूकम्पले घर पूर्णरुपमा ध्वस्त भएपछि छिमेकीको घरमा बस्दै आएका पाँचखाल नगरपालिका–६ का देवीकुमारी पौडेलले भने अझै घर बनाउन पाएकी छैनन्।

भूकम्प गएपछि सर्वेक्षणको लागि गाउँमा खटिएका इञ्जिनीयरले गरेको गल्तीका कारण घर पूर्णरुपमा ध्वस्त भए पनि विवरणमा अर्कैको घरको फोटो खिचेर भरेको कारण प्रवलीकरणमा परेपछि घर निर्माण गर्न नपाएकी हुन्। 'उता घर भत्केर बस्ने ठाउँ छैन, यता अर्काको घरमा बसिरहेकी छु, प्राधिकरणले प्रवलीकरण गर्नुपर्छ भन्दैछ', उनले भनिन्, 'मेरो घर भत्केर जग मात्रै छ, गारोसमेत छैन, तर इञ्जिनीयरले पठाएको विवरणमा लाभग्राहीको सूचीमा प्रवलीकरण गर्नुपर्ने भनेर आएपछि विवरण सच्याई पाउँ भनेर पुनःनिर्माण प्राधिकरण धाएको चार वर्ष बित्यो तर अझै घर निर्माण गर्न पाउने हो कि होइन भन्ने टुङ्गो लागेको छैन।' अब चाही भरेर पठाएको विवरण सच्चिएर आउँदा हुन्छ भन्ने छ, खै के हुन्छ, हेरौँ।

'अहिले पछिल्लो चरणमा फेरि गाउँका मान्छेहरु बोलाएर सर्जिमिन गर भनेर भनेकाले अहिले त्यहीअनुसारले विवरण तयार गरेर भत्केको घरको जगको फोटोसहित खिचेर वडाबाट सबै कागजात तयार गरेर पेश गरेपछि हुन्छ भन्ने कुरा आएको छ, त्यसैले खुशी छु।' पौडेलले भनिन्, 'एकल महिलासमेत रहेकी उनी सरकारबाट भूकम्पको पैसा आयो भने जग्गा बेचेरै बस्नको लागि भूकम्प प्रतिरोधी घर राम्रो बनाएर बस्ने ठूलो इच्छा भएको उनी बताउछिन्।' 'गरिखान सकिँदैन, बस्ने ठाउँ मात्रै भए पनि बलियो भयो भने त केही न केही त हुन्छ नि।' उनले भनिन्।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान व्यवस्थापन एकाइ काभ्रेपलाञ्चोकका प्रमुख सागर आचार्यले आफू कार्यालय प्रमुख भएर आएपछि सो कुरा थाहा पाएको र तयार गर्नुपर्ने विवरण सबै तयार गर्न लगाएर केन्द्रमा पठाएपछि त्यहीअनुसार हुन्छ भन्ने कुरा आएको कारण अब घर बनाउन सुरु गर्न सुझाव दिएको बताइन्।। कार्यालयमा नै आएकी पौडेललाई भने, 'अब तपाईले घर बनाउन सुरु गर्नुस्, यताबाट गर्नुपर्ने काम हामी गरिदिन्छौँ।'

छोराहरु भए पनि विगतदेखि नै एक्लै बस्दै आएकी उनको घर भूकम्पले भत्काएपछि छिमेकी प्रदीप पौडेलको घरमा बस्दै आएकी छन्। केन्द्रमा चार पटक र जिल्लामा पटक÷पटक धाउँदै आएकी उनी अब भने केही आशावादी भएको बताउछिन्।

यसअघि भरेको गुनासोको पनि फाइल एक वर्षसम्म वडा कार्यालयमा नै रहेको र अहिले अर्को इञ्जिनीयर आएर हेरेपछि बल्ल अगाडि बढेको कारण अब भने हुने खालको प्रतिक्रिया आएको उनले बताइन्।

प्रकाशित: २७ कार्तिक २०७६ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App