८ वैशाख २०८१ शनिबार
समाज

पाटे बाघको आक्रमणसंगै त्रासमा स्थानीय

बाँके- बाँके र बर्दियामा वन्यजन्तुको आक्रमणमा मृत्यु हुने क्रम बढेपछि निकुञ्ज वरपरका स्थानीयवासी त्रसित छन्।

बाघ आक्रमण बढेसँगै निकुञ्जको मध्यवर्ती क्षेत्रका स्थानीयवासी त्रसित बनेका हुन्। मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्न थालेको छ।

यही कात्तिक २३ र २६ गते जङ्गलमा घाँस दाउरा काट्न गएका दुई महिलाले बाँघको आक्रमणबाट ज्यान गुमाउनुपरेको छ। विसं २०७५ माघदेखि हालसम्म पाटेबाघको आक्रमणमा परेर बाँके र बर्दियामा सातको मृत्यु भइसकेको छ। निकुञ्ज तथ्याङ्कअनुसार बाघको आक्रमणमा परेर बर्दियामा चार र बाँकेमा तीनको ज्यान गइसकेको छ।

कात्तिक २३ गते शनिबार जङ्गलमा घाँस काट्न जाँदा कोहलपुर नगरपालिका–१३ नयाँबस्तीकी ६५ वर्षीया काली बस्नेत र मङ्गलबार राप्तीसोनारी–८ बालापुरकी ६० वर्षीया ठगी खड्काको पाटेबाघको आक्रमणमा परेर मृत्यु भएको छ। वन्यजन्तुको बासस्थान क्षेत्रमाथिको अतिक्रमण, वन्यजन्तुको आहारामा कमी तथा मानिसमा जाग्ने बदलाको भावनाका कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ।

पछिल्लो समय मध्यवर्ती क्षेत्र र संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व एवं अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको बासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो बासस्थान छाडी गाउँ बस्तीमा पस्ने गरेको देखिएको छ। यसबाट वन्यजन्तुका अतिरिक्त संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायको घर, खेत र कृषि बाली नोक्सानी हुनुका साथै मानवीय क्षतिमा समेत वृद्धि हुँदै गएको बाँके राष्ट्रिय निकुञ्जका सूचना अधिकारी विष्णु थपलियाले बताइन्।

बाँके राष्ट्रिय निकुञ्जमा रहेका वन्यजन्तुका कारण अर्थिक वर्ष २०७५/७६ मा ४१८ घरधुरीमा क्षति पुगेको तथ्याङ्क छ। उनीहरूलाई क्षतिपूर्ति बापत निकुञ्जले ६० लाख ९३ हजार ४२ रुपैयाँ उपलब्ध गराएको छ। आर्थिक वर्ष २०७४/७५ मा बाँके निकुञ्जको वन्यजन्तुले ३०५ घरधुरीमा क्षति पुर्‍याएका थिए। उक्त आवमा वन्यजन्तुपीडितलाई १४ लाख २८ हजार ७२ रुपैयाँ वितरण गरिएको निकुञ्जले जनाएको छ।

बाँके राष्ट्रिय निकुञ्जमा आव २०७५/७६ मा भएको सडक दुर्घटनामा ४५ वन्यजन्तु मारिएका छन्। निकुञ्जमा आव २०७४/७५ मा ७२ वन्यजन्तुको मृत्यु भएको थियो भने आव २०७३/७४ मा ८३ वन्जन्तुको सडक दुर्घटनाबाट मृत्यु भएको थियो। आव २०७५/७६ मा राष्ट्रिय निकुञ्जले ४३१ वन्यजन्तुको उद्धार गरेको छ। आव २०७४/७५ मा ११ वन्यजन्तुको उद्धार गरेको निकुञ्जले जनाएको छ।

मानव बस्तीमै पुगेर बाघले आक्रमण गर्न थालेपछि मानव वन्यजन्तु द्वन्द्वको खतरा बढेको पर्यटन व्यवसायी कृष्ण चौधरीको भनाइ छ। सरकारी तथ्याङ्कअनुसार बर्दिया राष्ट्रिय निकुञ्जमा ८७ र बाँके राष्ट्रिय निकुञ्ज २१ पाटेबाघ छन्।

देशमै बाघको संरक्षणमा लागेको सरकार र स्थानीयवासीको सक्रियताले बाघको सङ्ख्या बढे पनि आहाराको कमीले मानव बस्तीमा पुगेर वन्यजन्तुको आक्रमण र मानव–वन्यजन्तुबीच हुने द्वन्द्व न्यूनीकरण गर्न सरोकारवालाहरू गम्भीर भएर लाग्नुपर्ने स्थानीयवासीको भनाइ छ।

प्रकाशित: २७ कार्तिक २०७६ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App