८ वैशाख २०८१ शनिबार
समाज

यस्तो छ भारतीय प्रधानमन्त्री मोदीलाई डा. केसीले पठाएको पत्र

अनसन स्थगन गर्दै भारतिय प्रधानमन्त्री मोदीलाई पठाईएको पत्र सुनाउँदै डा. केसी ।

डडेल्धुरा- चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै अनसन बस्दै आएका डा. गोविन्द केसीले अनशन स्थगितसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई खुला पत्र लेखेका छन्। १७ औँ पटकको सत्याग्रह डडेल्धुराममा नौ दिनदेखि थालेका  डा केसीले मंगलबार अपरान्ह साढे ४ बजे आफ्नो अनशन स्थगित गर्दै पत्र लेखेका हुन्।

डडेल्धुराको एक कोठामा उनले अनसन थालेको थिए। शुक्रबार डडेल्धुरा अस्पताल सारिएका डा. केसीले अनशन बसेका नौ दिनमा अस्पतालबाटै केहि दिन अघि भारतले सार्वजनिक गरेको नक्सामा नेपालको भूभाग आफ्नो भन्दै दाबी गरेपछि आम नेपाली सरह आफ्नो ध्यान त्यता गएको भन्दै अनशन स्थगित गरेको बताएका छन्। मंगलबार दिउँसो तीन बजे भारतिय दुतावासमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पठाईएको उनले बताए। 

भारतिय प्रधानमन्त्री माेदीलाई डा. केसीले लेखेको पत्र 
श्री नरेन्द्र दामोदर मोदी
प्रधानमन्त्री, भारत गणराज्य

कुशल छौं र यहाँको कुशलता चाहन्छौं । 
भारत र नेपालबीचको गहिरो र आत्मीय सम्बन्ध रातारात विकास भएको हैन। अनादिकालदेखि यी भूभागमा बसिआएका मानिसहरुबीचको अन्तरंग सम्बन्ध नै आधुनिक नेपाल र भारत निर्माण भएपछि दुई देशीय सम्बन्धका रुपमा विकास भएको हो। सन् १८१६ को सुगौली सन्धीले आधुनिक नेपालको प्रारम्भिक नक्सा कोरेको थियो।

त्यसपछिको अवधिमा ब्रिटिश इण्डिया र स्वतन्त्र भारतसँग राज्यस्तरको सम्बन्धमा उतार चढाव आए पनि जनस्तरमा मैत्रीपूर्ण आर्थिक, सामाजिक र साँस्कृतिक सम्बन्ध कायम छ। धेरै नेपालीको जीविका भारतको रोजगारले धानेको छ भने भारतबाट रोजगारका लागि नेपाल आउने जनसंख्या पनि उल्लेख्य छ। नेपाल र भारत मात्रै नभई पाकिस्तान र बंगलादेशजस्ता अरु छिमेकी देशका पनि भुइँ तहका मानिसहरुका पीडा उस्तै छन्। गरिबी, अशिक्षा र रोगजस्ता साझा समस्याबाट दक्षिण एसियाका सबै देशका नागरिकहरु जुधिरहेका छन्। भ्रष्टाचार, कुशासन र असमानताको बढोत्तरी सबै देशका नागरिकहरुका साझा समस्या हुन्। 

सन् २००१ को भूकम्प पछि मैले यहाँको गृहराज्य गुजरातको भुजमा घाइतेहरुको सेवा गर्ने मौका पाएको थिएँ। त्यस्तै सन २०१३ मा उत्तराखण्डमा भीषण बाढी आउँदा केदारनाथमा फसेका तीर्थयात्रीको सेवा गर्ने मौका पनि मैले पाएको थिएँ। त्यस क्रममा मेरो आफ्नै ज्यान मुस्किलले बचेको थियो। जुनसुकै देश र राष्ट्रियताका मानिस भए पनि उनीहरुको पीडा एकै किसिमको हुन्छ र मानवीय सेवा गर्दा मिल्ने सन्तुष्टि पनि एउटै हुन्छ भन्ने मैले महसुस गरेको छु।

अहिले म नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्र सुधारका लागि सत्याग्रही अभियानमा छु। तर यहीबीच समाचार आएको छ कि भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको छ। यो समाचारले अरु नेपाली नागरिकजस्तै म पनि स्तब्ध छु।

कूटनीति र भूराजनीतिका जटिल सिद्धान्त र अभ्यासबारे म जानकार छैन्। तर सामान्य नागरिकको हैसियतले मैले जानेको यत्ति होः जुनसुकै देशका नागरिकको पनि मर्यादा र आत्मसम्मान समान हुन्छ।

नेपालमा भारतका अनेक सरोकार होलान। खास गरी राष्ट्रिय सुरक्षाको संवेदनशीलताका कारण नेपालमा भारतको गहिरो चासो छ भनिन्छ। तर नेपाल मजबुत र समृद्ध भए मात्रै भारतको राष्ट्रिय सुरक्षा सुनिश्चित हुन सक्छ। 
अन्तमा, भारत र नेपाल मिलेर लड्नुपर्ने लडाइँ धेरै छन्। विश्वका धेरै ठाउँमा उन्मुलन जस्तै भएका धेरै संक्रामक रोगहरुको ठूलो भार हामी कहाँ छ। अशिक्षित र निरक्षर मानिसहरुको ठूलो संख्या पनि यसै क्षेत्रमा छ। अपेक्षित गतिमा अर्थतन्त्र विस्तार नहुँदा जीविकाको समस्या त झन सबै भन्दा जटिल बन्दो छ। आज हजारौं माइल टाढा मरुभुमिमा जोखिमपूर्ण काममा न्युनतम ज्याला लिएर काम गरिरहेका कामदार मध्ये धेरै भारतीय र नेपाली छन्।

त्यसैले यस्ता साझा समस्यासित भारत र नेपाल मात्रै नभई सबै दक्षिण एसियाली देशहरु मिलेर लड्नु जरुरी छ। त्यसका लागि नेपालसित हाल देखिएको सीमा समस्यालाई सरकारका विभिन्न स्तरमा हुने कुटनीतिक छलफलबाट समाधान गरी परस्पर विश्वास र मैत्रीको वातावरण कायम गर्न विशेष आग्रह गर्दछु।

डा गोविन्द केसी
डडेल्धुरा, नेपाल
१२ नोभेम्बर, २०१९

प्रकाशित: २६ कार्तिक २०७६ १५:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App