७ वैशाख २०८१ शुक्रबार
समाज

सीमास्तम्भ नहुँदा दसगजा अतिक्रमण

इलाम - गत साउनमा भारतीय सीमासँग जोडिएको पूर्वको सूर्याेदय नगरपालिका–२, चारमाइलबाट भारत छिर्ने कच्ची सडक भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बन्द गर्न खोज्यो। वर्षाैं पुरानो सडकको बीचमै खाडल खनेर आउ–जाउ रोक्ने प्रयास गरेपछि स्थानीय, जनप्रतिनिधि र प्रशासनले विरोध गरे। एसएसबी पछि हट्यो र सडकमा खनिएको खाडल आफैं पुर्न बाध्य भयो।

नेपालबाट बिक्रीका लागि भारतीय बजारमा पुग्ने तरकारी रोक्न एसएसबीले दसगजा क्षेत्रमै सडक बन्द गराउने प्रयास गरेको थियो। सीमाक्षेत्र नै यकिन नभई सडक बन्द गर्न नमिल्ने भन्दै स्थानीयले विरोध गरेपछि सीमा क्षेत्र सर्वेक्षणसम्मका लागि सडक खुला गर्न एसएसबी सहमत भएको थियो।

गत वर्ष पशुपतिनगरको फाटकसँग जोडिएको दसगजामा भारतले बौद्ध गुम्बा ठड्यायो। पुरानो गुम्बा मर्मतका नाममा भारतले कच्ची गुम्बाका ठाउँमा पक्की भवन बनाए पनि नेपाली पक्षले ‘माथिल्लो निकायमा जानकारी गराउने’ बाहेक अरु केही गर्न सकेन। दसगजामा दुईतले पक्की गुम्बा बन्यो। गुम्बा बनाउन थालेपछि भूमिसुधार तथा व्यवस्थापन विभागको टोलीले स्थलगत अध्ययन र नापजाँच पनि ग¥यो र त्यो भूमि दसगजा नै भएको ठहर ग¥यो। तर गुम्बा निर्माण रोकिएन। दसजगामै भारतले कस्टम अफिस, पुलिस चौकी र अन्य चारपाँचवटा घरटहरासमेत बनाइसकेको टोलीले पाएको थियो। भारतले ७१/६, ७१/७ र ७१/८ नम्बरका सीमास्तम्भभित्रको क्षेत्रमा संरचना निर्माण गरेको र गुम्बा बनाएको टोलीले बताएको थियो।

दुई वर्षअघि भारतीय सीमावर्ती क्षेत्र माबुको चौंरीचोकमा एसएसबीका बर्दीधारी जवान हतियार बोकेरै नेपाली भूमिमा आए। नागरिक संवाददाताले तस्बिर खिच्न खोज्दा उनीसँगै रहेका सादा पोसाकका अर्का जवानले देखेपछि हिँडाइको गति बढाए र तत्कालै ओझेल परे।

वर्ष दिनअघि एसएसबीका एक जवानलाई जिल्लाको छब्बिसेछेउ टासीगाउँका बासिन्दाले पक्रेर कुटपिट नै गरे। नेपाली भूमिमै आएर स्थानीय व्यापारीलाई खानतलासी गर्न थालेपछि स्थानीयले ती जवानलाई कुटपिट गरी प्रहरीमा बुझाइदिएका थिए।

गत आर्थिक वर्ष पर्यटकीय क्षेत्र सन्दकपुरमा बन्न लागेको भ्यु–पोइन्ट दसगजामा परेको भन्दै एसएसबीले निर्माण रोकिदियो। त्यसको केही महिनाअघि एसएसबीले सन्दकपुर गाउँपालिका–५ जमुनाको गैरीबास–कालपोखरी ट्रेकिङ रुट निर्माणको काम अवरोध ग¥यो। सुरुमा नापजाँच गर्दा चुप बसेको एसएसबीले निर्माणको काम सुरु भएपछि सडक निर्माण उपभोक्ता समितिका पदाधिकारीलाई धम्की दिएर अवरोध प्रयास गरेको थियो। त्यो भूमि नेपालमै पर्ने भएकाले स्थानीयले व्यापरक विरोध जनाएपछि एसएसबी पछि स-यो र निर्माणको काम गरियो।

पूर्वी इलामको भारतीय सीमासँग जोडिएका स्थानमा वर्षाैंदेखि विवाद भइरहन्छ। एसएसबीका जवानले कहिले नेपाली भूमिमा छिरेर स्थानीयलाई कुटपिट गर्ने, कहिले हतियारसहित आएर बन्यजन्तुको सिकार गरी लैजाने गर्दै आएका पछिल्ला केही वर्षयता यस्ता गतिविधि केही कम भएका छन्। तर फेरि कुन बेला विवाद हुने हो र गम्भीर क्षति हुने हो भन्ने त्रास सधैं हुनेगरेको स्थानीय बताउँछन्। ‘दसगजामा भारतीय पक्षले दर्जनौं स्थानमा संरचना बनाएको छ। नेपालीलाई चाहिँ छिरिक्क छुन दिँदैन,’ पशुपतिनगरका अगुवा मिलन क्षेत्री भन्छन्, ‘नेपालीले पनि दसगजामा संरचना त बनाएकै छन् तर तुलनात्मक रूपमा ज्यादै कम छ।’

इलामको सन्दकपुरदेखि जिर्मलेसम्मको साढे ५२ किलोमिटर भू–भाग भारतसँग जोडिएको छ। तर दर्जनौं स्थानमा सीमास्तम्भ नहुँदा सीमा यकिन हुन सकेको छैन। सीमा यकिन नभएकै कारण सीमाक्षेत्रमा पटक–पटक तनाव उत्पन्न हुने गरेको छ। कतिपय स्थानमा चार किलोमिटरको दूरीमा मात्रै सीमास्तम्भ रहेकाले सीमा छुट्याउन समस्या रहेको सुरक्षा निकायले जनाएको छ। सीमा क्षेत्रमा नेपाली सुरक्षा संयन्त्र शून्यझैं रहे पनि भारतले भने सीमा निरीक्षणकै लागि तीनतीन किलोमिटरमा एसएसबीको क्याम्प राखेको छ।

‘दसगजामा मात्रै संरचना बनाउन नपाइने हो तर एसएसबीले सीमावर्ती क्षेत्रको कतिपय नेपाली भूमिमै व्यक्तिगत घर बनाउनसमेत अवरोध गर्नेगरेको छ,’ जमुनाका उमेश गुरुङ भन्छन्, ‘सीमा यकिन नहुँदा वर्षैंदेखि नेपालीले एसएसबीबाट दुःख भोग्नुपरिरहेको छ।’

सीमावर्ती क्षेत्रको दसगजा मिचेर संरचना बनाउनेमा भारतीय मात्र होइन, नेपाली पनि छन्। पर्यटकीय क्षेत्र पनि भएकाले दसगजाको छेउछाउ दुवैतर्फ होटल–रेस्टुराँ छन्। नेपालपट्टि बनेका कतिपय संरचनामा भारतीय नागरिकको समेत लगानी रहेको स्थानीय बताउँछन्। अहिले एसएसबीले नेपाल छिरेर नेपालीमाथि दुव्र्यवहार गर्ने क्रम मत्थर भएको स्थानीय जनप्रतिनिधिसमेत रहेका सन्दकपुरका पेमाडन्डु शेर्पाले बताए। ‘अचेल हतियार बोकेका एसएसबी जवान पहिलाजस्तो यता देखिएको छैन,’ उनले भने, ‘नेपालीमाथि दुव्र्यवहार भएको नसुनिएको पनि केही वर्ष भयो।’ उनले दसगजाआसपासमा संरचना बनाउने क्रमचाहिँ भइरहेको सुनाए।

जिल्लाका माबु, जमुना, माइमझुवा, जोगमाई, पशुपतिनगरलगायत पूर्वी र उत्तरी क्षेत्र भारतीय सीमासँग जोडिएका छन्। पशुपतिनगर, छब्बिसे, हिले, मानेभञ्ज्याङलगायत सीमाक्षेत्रको दसगजामा व्यक्तिका घर, विद्यालय भवनलगायतका संरचना निर्माण भइसकेका छन्। पछिल्लो समय भने सीमा क्षेत्रमा कुनै विवाद नभएको पशुपतिनगरस्थित सीमा प्रशासन कार्यालयले जनाएको छ। कार्यालय प्रमुख जयकृष्ण ढकालले दसगजामा नयाँ संरचना बनाउन दुवै पक्षले नदिएको बताए। ‘दसगजामा बनेका पुराना संरचना अहिले पनि छन् तर पुरानो भत्काएर मर्मत गर्ने वा नयाँ संरचना बनाउन नदिन हामीले कडाइ गरेका छौं,’ उनले भने, ‘बनाउन लागिएका संरचना पनि सीमा नापजाँच भएपछि मात्रै निर्माण गर्न स्थानीयलाई आग्रह गरेका छौं।’ उनले आउँदो डिसेम्बरदेखि विभागको टोलीले इलामसँग छोएको भारतीय सीमाको नापजाँच गर्नसक्ने बताए।

सन्दकपुर गाउँपालिकाले एसएबीका जवानलाई नेपाली भूमिमा हतियार लिएर छिर्न कडाइ गरेको छ। गाउँपालिका अध्यक्ष उदय राईले एसएसबीले सीमाका नेपालीलाई दुःख दिएको गुनासो आएपछि उनीहरूलाई हतियार दिएर आउन कडाइ गरेको बताए। ‘गाउँपालिकाले बनाउन लागेको भ्यु–पोइन्ट एसएसबीले रोकिदियो,’ उनले भने, ‘सन्दकपुर क्षेत्रमा करिब एक करोड रुपैयाँ लगानीमा बन्न लागेका पर्यटकीय संरचना एसएसबीले निर्माण गर्न दिएन।’

२०७० असारमा विभाग र भारतको दार्जिलिङस्थित समकक्षी निकायको संयुक्त टोलीले यहाँको सीमा निरीक्षण गरेको थियो। त्यसक्रममा जिर्मलेका ८०, ८१ र ८२ नम्बरका तीन ठूला सीमास्तम्भ (जङ्गे पिलर), १० सब्सी हाइरी पिलर (एसपी) र २९ माइनर पिलर (एमपी) गायब पाइएका थिए। हराएका सीमास्तम्भको संकेतका लागि राखिएका तीन रिफ्लेक्ट पिलर (आरपी) पनि पत्ता लागेका थिएनन्।

यो क्षेत्रमा तीनै प्रकारका एक सय सात सीमास्तम्भ हुनुपर्ने थियो। पाँच ठूला सीमास्तम्भ, ४३ एसपी र ४५ एमपी हुनुपर्नेमा भएका सीमास्तम्भ पनि मर्मत गर्नुपर्ने अवस्थामा पाइएका थिए। मानेभञ्ज्याङदेखि जिर्मलेसम्मका ६२ सीमास्तम्भ तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको टोलीले पाएको थियो। यहाँका पाँच ठूला स्तम्भ मर्मत वा नयाँ राख्नुपर्ने, ४३ स्थानकै एसपी र १४ स्थानका एमपी मर्मत गर्नुपर्ने अवस्थामा छन्।

पाँचथरको फलैंचा–९ देखि सिदिन–१ सम्म ४६ दशमलव ५ किलोमिटर भू–भाग भारतको सिक्किम र दार्जिलिङस“ग जोडिएको छ। यस क्षेत्रका चार सीमास्तम्भ गायब भएको एक अध्ययन टोलीले देखाएको थियो। झापाको पूर्वी भारतीय सीमा क्षेत्रमा गत वर्ष विभागको टोलीले नापजाँच गरेको थियो। सीमा यकिन भएपछि झापासँग जोडिएको भारतीय सीमामा ठूलो विवाद नआएको स्थानीय प्रशासनले जनाएको छ।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल नेपाल–भारतबीच सीमा विवाद भइरहने इलामको सन्दकपुरमा गत वर्ष सीमास्तम्भसँगै सेल्फी खिच्दै। खनालले भर्खरै भारतले सार्वजनिक गरेको आफ्नो राजनीतिक नक्साबारे प्रेस नोटमार्फत प्रतिक्रिया दिँदै सीमा समस्या समाधानको कूटनीतिक पहल गर्न सरकारलाई लिखित आग्रहसमेत गरेका थिए।

प्रकाशित: २६ कार्तिक २०७६ ०१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App