६ वैशाख २०८१ बिहीबार
समाज

गोठालोको भरमा नेपाली भूमिको सुरक्षा

नेपाल–भारत सीमाक्षेत्रअन्तर्गत पाँचथरको फालेलुङ गाँउपालिकाको चारतारेनजिकै रहेको सीमास्तम्भ। तस्बिर: गिरिराज/नागरिक

पाँचथर - चर्चित पर्यटकीय गन्तव्य सन्दकपुरमा भ्यु प्वाइन्ट, सडकको स्तरोन्नतिलगायत काम गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध ग-यो। इलाममा पर्ने दृश्यावलोकन गर्ने मुख्य ठाउँमा भारतीय सुरक्षा बलले अवरोध गरेको थियो। त्यतिमात्र होइन सीमाक्षेत्र वरपर नेपाली क्षेत्रमा गरिने निर्माणको काममा पनि एसएसबीले अवरोध गरिरहेको छ। सीमाक्षेत्रमा पर्ने इलाम र पाँचथरका विभिन्न ठाउँमा निर्माण सामग्री ल्याउन एसएसबीले अवरोध गरेका छन्। सीमाक्षेत्रमा भारतको बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ।

आहाल भन्ने ठाउँमा बनाइने भनिएको सरकारी गेस्ट–हाउसमा पनि अवरोध भएको छ। निर्माण सामग्रीमा पछिल्लो पल्ट अवरोध भएपछि सास्ती खेप्नुपरेको छ। विगतमा यस्तो अवरोध थिएन। भारतीय पक्षले दशगजा क्षेत्रमा नै सडकलगायत पूर्वाधार बनाए पनि नेपालतर्फ भने अवरोध गरिरहेको छ। पाँचथर जिल्लाले छुने भारतीय सीमाक्षेत्रमा नेपालतर्फ सरकारी उपस्थिति छैन।

निगरानी शून्य अवस्थामा रहेको सीमाक्षेत्रमा भारतीय गाडीहरू निर्बाध कुदिरहेका हुन्छन्। नेपालतर्फ सरकारी संरक्षणको हुनुको साटो बर्सेनि उजाडिँदै गइरहेको अवस्था छ। जिल्लाको सन्दकपुरदेखि तिम्बुपोखरी छेउसम्मको ४५ किलोमिटर लामो सीमाक्षेत्रमा भारतले आफ्नो भूगोल संरक्षित गरेको छ भने नेपालतर्फ भने सरकारी उपस्थिति शून्य छ। सुरक्षा निकायको मात्र हैन स्थानीय सरकार, वनलगायत निकायको समेत उपस्थिति छैन। च्याङ्थापुमा रहेको सीमा प्रशासन कार्यालयबाट सिमानासम्म पुग्न गाडीमा नै पाँच घण्टाभन्दा बढी समय लाग्छ।

सीमाक्षेत्रदेखि प्रहरी चौकीहरू एकदिनको बाटोमा रहेका छन्। नेपालतर्फको सिमाना सरकारी निगरानीविहीन भएको फालोट भन्ने ठाउँमा गोठ सञ्चालन गर्ने चन्द्रलाल नेपाल बताउँछन्। ‘भारतीयहरूले कहिले नेपालमा पोखरी बनाउँछन्। कहिले नेपालतर्फ भल लगाइदिएर पहिरो नै जाने अवस्था हुन्छ। नेपालतर्फ सरकारी उपस्थिति शून्य छ। आडभरोसाको निकाय छैन,’ नेपाल भन्छन्, ‘हामी गोठमा काम गर्नेहरूले सीमाक्षेत्र हेरिरहेका छौं। सीमाक्षेत्रमा सुरक्षा पोस्ट राख्ने कुरा जहिले हुने गर्छ तर कहिले राखिँदैन।’

भारतीयहरूले कहिले नेपालमा पोखरी बनाउँछन्। कहिले नेपालतर्फ भल लगाइदिएर पहिरो नै जाने अवस्था हुन्छ। नेपालतर्फ सरकारी उपस्थिति शून्य छ। आडभरोसाको निकाय छैन।

उनले भनेझैं सीमाक्षेत्रमा सशस्त्र प्रहरी राख्ने भन्ने कुरा कुरैमा सीमित भएको छ। उच्चपहाडी क्षेत्रमा पर्ने सिमाना सुरुमा दुई स्थानमा सशस्त्र प्रहरीको क्याम्प राख्ने कुरा थियो। पछिल्लो पल्ट चिवा भन्ज्याङमा पनि सुरक्षा पोस्ट राख्ने कुरा भयो। सीमाक्षेत्रमा सुरक्षा पोस्ट राख्ने कुरा वर्षैपिच्छे हुने गर्छ तर अहिलेसम्म राखिएको छैन। ‘हामीले निर्णय गरेर पठाएका छौं। जग्गा पनि हेरेका हौं। खानेपानी र भवनको अभाव रहेको छ। गाँउपालिकाले खानेपानीको प्रबन्ध गर्न खोज्दै छु,’ पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले भने, ‘हामीले प्रदेश र संघ सरकारलाई अनुरोध गरिरहेका छौं। कहिले क्याम्प राखिन्छ भन्ने यकिन छैन।’

भारतले आफ्नो क्षेत्रमा सडक बनाएको छ। दशगजाभित्र पर्ने सडकलगायत संरचनामात्र छैनन्, भारतीय सीमाक्षेत्रको संरक्षणका लागि बाक्लो गरी सुरक्षा दस्ता, वनलगायत सरकारी कार्यालय भेटिन्छन् तर नेपालतर्फ भने सर्वसाधारण नागरिकबाहेक अरू भेटिन्नन्। भारततर्फको वनमा रुख काट्न, जडीबुटी टिप्न पूर्ण रूपमा प्रतिबन्ध छ तर नेपालतर्फ कुनै रोकटोक छैन। भारतले वन संरक्षण गरेर हरियाली फैलाउँदै लगेको छ तर नेपालतर्फ हेर्ने हो भने भएको वन घट्ने क्रममा छ।

४५ किलोमिटर सीमाक्षेत्र हेर्दा विरक्तलाग्दो देखिन्छ। सीमाक्षेत्रसँग राष्ट्रिय भावना गाँसिए पनि सरकारी उपस्थिति शून्य छ। भारततर्फ बनाइएको सडकले नेपाली भूभागलाई ठाउँठाउँमा क्षतिसमेत पु-याएको छ तर नेपालीहरूले त्यही सडक प्रयोग गर्नुपर्ने बाध्यता छ। सडकसँगै बर्खाको भलसमेत नेपालतर्फ लगाइदिँदा ठाउँठाउँमा सानोसानो पहिरो जाने गर्छ। खुला सिमाना हुनुका साथै सरकारी उपस्थिति नहुँदा चोरी निकासीसमेत मौलाउँदै गएको पाइन्छ।

सो क्षेत्रको वन भारततर्फ सिक्किममा कञ्चजंघा नेसनल पार्क र वेस्ट–बंगालमा सिंहलीला नेसनल पार्कको रूपमा संरक्षित छ। सीमाक्षेत्रमा भारतीय वन कार्यालय पर्याप्त भेटिन्छन्। विभिन्न संकेत चिन्हदेखि सार्वजनिक सूचनापाटीहरू भारतले राखेको छ। तर एउटा पनि बोर्ड नेपालको देखिँदैन। स्थानीय सरकारको चासो पनि पुगेको देखिँदैन। सीमास्तम्भहरू जोखिममा परेका छन् भने वन वातावरण संरक्षणमा गैरसरकारी संस्थाबाहेकको उपस्थिति छैन।

यो क्षेत्र जैविक विविधताले भरिपूर्ण रहेको छ। लेकाली जडीबुटी र लोपोन्मुख वन्यजन्तु पाइन्छन्। तर नेपालले यसको संरक्षणमा ध्यान दिएको देखिँदैन। छिमेकमै भारतको हेर्ने हो भने वनक्षेत्र भने पूर्ण रूपमा संरक्षित छ। हरेक ६ किलोमिटरमा भारतीय सीमा सुरक्षा बलको क्याम्प छ। यो क्षेत्र प्राकृतिक रूपमा सुन्दर छ। पर्यटकहरू बाक्लो गरी आउँछन्। नेपालीभूमिमा रमाउने पर्यटकहरू भारततर्फ रहेका होटलमा बस्न बाध्य छन्, नेपालतर्फ त्यस्तो कुनै संरचना नै छैन।

नेपाली भूमिबाट भारतीयहरूले नै आम्दानी गरेको देख्न पाइन्छ। जिल्लाको याङवरक र फालेलुङ गाँउपालिकामा पर्ने सो सीमाक्षेत्रमा केही भइहाल्यो भने तत्काल सुरक्षाकर्मी पुग्ने सम्भावना कम छ। भारतसँग जोडिएको सीमाक्षेत्र सरकारी निगरानीविहीन अवस्थामा छ। सीमाक्षेत्रमा नेपाली सुरक्षाकर्मीको उपस्थिति विरलै मात्र भेटिन्छ। ‘नेपालतर्फ सरकारी अड्डा, प्रहरी प्रशासन भइदिएको भए आडभरोस हुन्थ्यो। सिमाना छेउछाउमा त हामी गोठालाहरू मात्र छौं,’ नेपाली टारका थर्कप्रसाद गुरुङ भन्छन्, ‘उतातिर त सरकारी निकायले चुइँ गर्न दिँदैनन्।’

मेमेङमा रहेको प्रहरी चौकीबाट सुरक्षाकर्मी सिमानामा पुग्न एक दिन लाग्छ। याङवरकको च्याङ्थापुमा सीमा प्रशासन कार्यालय छ तर पुग्न एक दिन लाग्छ। प्राङबुङमा रहेको प्रहरी चौकीबाट पुग्न पनि एकदिन नै लाग्ने अवस्था छ। खुला सिमाना भएका कारण अपराधी भाग्न सक्ने खतरा पनि उत्तिकै छ। नेपालतर्फको भूभाग पुग्नलाई पनि भारतीय बाटो प्रयोग गर्नुपर्ने अवस्था छ।

स्थानीय रमेश राईको शब्दमा ‘सीमाक्षेत्रमा सरकारी उपस्थिति छैन। घुम्न आउनेहरूको भिड लाग्छ तर व्यवस्थित गर्ने निकाय छैन। नेपाली भूमि गोठालाको भरमा छोडिएको छ।’

खुला सिमानाका कारण भारतीयहरूले नेपालको भूगोलसहित स्थानीय प्राकृतिक स्रोत–साधन सहजै रूपमा उपभोग गर्छन्। सतुवा ,बिख, बिख्मा, पाखनवेद, पाँचऔंले, कुड्की, टिमुर, जट्टामसी, लोठसल्ला, वन लसुन, केन्जो, चिम्फिङलगायत जडीबुटी जोखिममा पर्न थालेका छन्।

जिल्ला प्रहरी कार्यालय पाँचथरले दुई वर्षअघि तीन चरणमा सीमाक्षेत्रको अवलोकन गर्दा १६ सीमास्तम्भ हराएको पाएको थियो। अवलोकन गर्दा एक सय १३ मध्ये ९७ वटामात्र सीमास्तम्भ पाइएको तथ्य सार्वजनिक भएको थियो। हराएका १६ सीमास्तम्भमध्ये चारवटाको मात्र डोब भेटिएको छ। बाँकी १२ वटाको नाम–निसान केही पनि नभेटिएको प्रहरीले जानकारी दिएको छ। सोे क्षेत्रमा ठाउँठाउँमा सीमास्तम्भहरू भत्किएको भेटिन्छन्।

प्रकाशित: २४ कार्तिक २०७६ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App