८ वैशाख २०८१ शनिबार
समाज

सकिमनाको न्यानो सन्देश

उपत्यकामा चिसो बढ्दै छ। भक्तपुरका सर्वसाधारण न्यानो पर्व मनाउँदै छन्। आउँदो मंगलबार नेवार समुदायले मनाउने सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) पर्व मौसमसँग सम्बन्धित छ। जाडो याम सुरु भएको संकेतका रूपमा यो पर्वले न्यानो रहन सन्देश दिन्छ।

‘उसिनेको पिँडालु खाँदा शरीरलाई तातो दिन्छ,’ संस्कृतविद् ओम धौभडेल भन्छन्, ‘यही सन्देश दिन प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन घर–घरमा पिँडालु उसिनेर खाने पर्व अर्थात् सकिमना पुन्ही मनाइन्छ।’

उनका अनुसार, नेवार समुदायका संस्कृति तथा चाडपर्व स्वास्थ्य, ऋतु र अध्यात्मसँग जोडिएका छन्, यो पर्व त्यसैको एउटा उदाहरण हो।

यो पर्वमा न्यानो खानेकुरा खानुपर्छ भन्ने सन्देश दिन पिँडालुसँगै सखरखण्ड, भुटेको भटमास, मकै, गहुँ आदि समेत प्रदर्शन गर्ने गरिन्छ। ‘त्यो प्रदर्शन पनि आकर्षक होस् भनेर मन्दिरअगाडि तिनै अन्नको विभिन्न कला बनाइन्छ,’ धौभडेल भन्छन्, ‘जसलाई निकै समृद्ध कला मानिन्छ।’

मंगलबार साँझ घरघरमा उसिनेको पिँडालु खाएर ‘सकिमना पुन्ही’ मनाउने तयारीमा छन्, भक्तपुरवासी। विगतमा झैँ यसपटक पनि उनीहरु धान, मकै, भटमास लगायत भुटेका गेडागुडीबाट न्यातपोल मन्दिर, बिस्केट रथ, गणेश लगायत विभिन्न देवीदेवताका आकृति बनाउने तयारीमा जुटेका हुन्।

भक्तपुरका दिनेश अवाल भुटेका गेडागुडी र मिठाईका परिकारबाट कलाकारिता प्रदर्शन गर्ने अनौठो प्रतिस्पर्धाले थुप्रैको मन लोभ्याउने बताउँछन्। उनी भन्छन्, ‘अन्नको यस कला प्रदर्शनीले नगरवासीसँगै पर्यटकलाई मनोरञ्जन दिने गरेको छ।’ पूर्ण चन्द्रको उज्यालोमा अन्नको आकृतिसँगै पालामा बालिएका दियोहरुले भक्तपुर झिलीमिली हुने उनले सुनाए।

भर्खरै भकारीमा धान भित्र्याएका यहाँ किसानले भुटेको अन्नद्वारा मठ, मन्दिर र भगवानका विभिन्न आकृति कोर्दा पूर्णिमाको रात झनै चम्कीलो हुने उनले सुनाए।

आफूभित्र लुकेर रहेको कलालाई अन्नमार्फत् प्रस्तुत गर्ने यो दुर्लभ कलाकारिताले सबैको मन हर्ने धौभडेल सुनाउँछन्। अन्नले भकारी भरिएपछि किसानद्वारा सिर्जित यो कला अन्यत्र विरलै देख्नपाइने उनले बताए।यो चित्रकलाले यहाँका प्राचीन बैभव झल्काउने उनले सुनाए।

भुटेको अन्नद्वारा देवी देवताको आकृति बनाउँदै गरेका राजेन्द्र खायतु पुर्णीमाको दिन चन्द्रमाबाट अमृत निस्कने र त्यो अन्न खाएमा सुखशान्ति हुने सर्वसाधरणमा विश्वास रहेको सुनाउँछन। ‘यहि विश्वासमा किसानहरु आआफ्नो घरबाट भुटेको अन्न लिएर आउँछन्,’ उनले भने, ’चित्र बनाएपछि ति अन्न प्रसादका रुपमा बाँडिने गरिन्छ।’

सकिमना पुन्हीको दिन भक्तपुर टौमढीस्थित पाँचतले तथा भैरव मन्दिर अगाडि भुटेको गेडागुडीबाट बिस्केट जात्रामा उभ्याइने लिंगो र भैरवको रथको आकृति निर्माण गरिदै आएको छ त्यसैगरी यातु गणेशमा पनि भुटेको मकै, भटमासबाट भुइँमा देवताको आकृति बनाइम्न्छ।

‘नगरमा रहेका अन्य मन्दिरका अगाडि पनि अन्नबाट विभिन्न विम्ब निर्माण गरिने छ,’ धौभडेल बताउँछन, ‘समुदायमा रहेका गुठी, दाफाभजनले आआफ्नो टोलमा रहेको देवदेवीको मन्दिर परिसरमा निर्माण गरिएका आकृतिको अगाडि भजनकीर्तन समेत गर्छन।’

आधिकारिक रुपमा कुनै प्रतियोगिता नभए पनि कसको कला राम्रो भन्ने चर्चा पछिसम्म चल्ने गर्छ। त्यसैले किसानहरुले निकै मिहनेत गरेर आकृति कोर्ने गरेको उनी सुनाउँछन।

संस्कृतिकर्मी धौभडेलका अनुसार दशैंतिहारपछि काठमाडौं उपत्यकामा जाडो याम सुरु हुने र शरीरलाई चिसोबाट बचाउन खेतमा त्यसै खेर गइरहेको पिँडालु उसिनेर खाँदा शरीरमा ताप तथा उर्जा प्राप्त हुने आधारले यो पर्व मनाउन थालेको सुनाउँछन्। ‘उसिनेको पिँडालुले शरीर तताउँछ,’उनले भने, ‘समग्रमा यो न्यानो खाना खान पुर्खाले दिएको उत्तम सन्देश हो।’

प्रकाशित: २३ कार्तिक २०७६ ०१:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App