१६ चैत्र २०८० शुक्रबार
समाज

नाम बदलेर नागरिकता

फाइल तस्बिर

सिरहा - वडाध्यक्षको सिफारिसमा पहिचान फेरेर दुईजनाले नागरिकता लिएको खुलेको छ। जिल्लाको औरही गाउँपालिका–५ का अध्यक्ष दिलीप यादवको सिफारिसमा महेन्द्र मुखिया र राजेन्द्र मुखिया (फेरिएको नाम) ले जिल्ला प्रशासन कार्यालय सिरहाबाट नागरिकता लिएका हुन्।

जिल्ला प्रशासन कार्यालय सिरहामा महेन्द्र र राजेन्द्रले झुटो विवरणका आधारमा नागरिकता लिएको उजुरी परेको थियो। त्यसपछि गत असोज ८ गते जिल्ला प्रशासन कार्यालय सिरहाले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयलाई परिपत्र ग¥यो। प्रशासनको चलानी नम्बर २५८१ को परिपत्रमार्फत प्रहरीले अनुसन्धान गर्दा महेन्द्र र राजेन्द्रले असली पहिचान फेरेर नागरिकता लिएको खुलेको हो।

महेन्द्रको असली नाम अरुण मुखिया र राजेन्द्रको असली नाम मनीष मुखिया रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनीहरुको घर सिरहा नगरपालिका–२१ मा छ। दुवै दाजुभाइ भएको पनि अनुसन्धानबाट खुलेको छ। उनीहरुका बुवा विष्णु मुखिया र आमा जागोदेवी मुखिया हुन्। जागोदेवीको माइती औरही–५ मा पर्छ। जागोदेवीका बुवाको नाम दुखी मुखिया र आमाको नाम शिवरानी मुखिया हो।

नातामा हजुरबुवा हजुरआमा नपर्ने दुखी र शिवरानी मुखियालाई बुवाआमा कायम गरी ०७६ असार १० गते महेन्द्र मुखिया र राजेन्द्र मुखियाले नाम फेरेर वडा कार्यालयबाट जन्मदर्ता बनाएका थिए। जन्मदर्ता बनाएको १५ दिनपछि महेन्द्रले नागरिकताको प्रमाणपत्र लिएको अभिलेखबाट देखिन्छ। नागरिकता (प्रमाणपत्र नम्बर ०४९९०) मा जिल्ला प्रशासन कार्यालय सिरहाका प्रशासकीय अधिकृत जयचन्द्र साहको हस्ताक्षर छ। त्यसमा बुवाको नाम दुखी मुखिया, घर औरही गाउँपालिका– ५, सिफारिसकर्ता वडाध्यक्ष दिलीप यादव र सनाखतकर्ता आामा कायम गरिएकी शिवरानी मुखिया उल्लेख छ।

राजेन्द्र मुखियाका नाममा ०७६ साउन १५ गते नागरिकता (प्रमाणपत्र नम्बर ५३९१) जारी भएको देखिन्छ। प्रमाणपत्रमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जयचन्द्र साहको हस्ताक्षर छ। सिफारिसकर्ता वडाध्यक्ष दिलीप यादव, सनाखतकर्ता शिवरानी मुखिया र बुवा दुखी मुखिया भएको अभिलेखमा छ। नागरिकतामा राजेन्द्रको जन्म मिति ०५६ साउन २४ गते उल्लेख छ।

नक्कली आमा बनेकी शिवरानीले वडाध्यक्ष यादव र सचिव विजयकुमार महतोको सेटिङमा रकमको लेनदेन गरी जन्मदर्ता बनाएको र त्यसकै आधारमा नेपाली नागरिकताको सिफारिस गरिएको स्थानीय बताउँछन्। महेन्द्र र राजेन्द्र वैदेशिक रोजगारमा जान नगरिकता बनाउन चाहन्थे। जसका लागि आमाबुवा आवश्यक पथ्र्यो। तर उनीहरुका असली बुवाआमा सम्बन्ध राम्रो नहुँदा अलगअलग बस्दै आएका छन्। बुवाआमा सनाखतकर्ता बस्न तयार नहुँँदा उनीहरुले नाम फेरेर नागरिकता लिने सोच बनाए। जसका लागि वडासचिव महतो र वडाध्यक्ष यादव सहयोगी बनिदिए।

जन्मदर्तालगायत कागजात बनाउँदा नेपाली नागरिकता भएका स्थानीयसहितको सर्जमिन मुचुल्का चाहिने भए पनि वडाध्यक्ष र सचिव ‘कार्यालयमा सेवाग्राहीको चाप हुँदा झुक्कियौं’ भनेर जोगिन खोजेका छन्। ‘जिल्ला प्रशासन कार्यालय सिरहामा परेको उजुरीका आधारमा हामीले जिल्ला प्रहरी कार्यालयमार्फत आवश्यक अनुसन्धान गर्न पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। ‘झुटोे विवरण बनाएर नागरिकता लिएको विषयमा परेका उजुुरी धेरै छन्,’ अधिकारीले भने, ‘हामीले प्रारम्भिक जाँच गरेर थप अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरीलाई पत्राचार गर्छौं।’

प्रहरीले २२ वर्षीय अरुण मुखिया (नागरिकता लिएको नाम महेन्द्र), २० वर्षीय मनीष मुखिया (नागरिकता लिएको नाम राजेन्द्र ), वडाध्यक्ष यादव, वडासचिव महतो र सनाखतकर्ता शिवरानीलाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी (डिएसपी) अपिलराज बोहराले जानकारी दिए। प्रतिवादीमध्ये नागरिक लिने अरुण (महेन्द्र) र मनीष (राजेन्द्र) लाई पक्राउ गरिएको बोहराले बताए। वडाध्यक्ष यादव, वडासचिव महतो र शिवरानीको खोजतलास भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले अनुसन्धान सुरु गरेपछि असोज १६ मा वडाध्यक्ष यादव र सचिव महतोले आफूहरुबाट गल्ती भएको लिखित पत्र जिल्ला प्रशासन कार्यालय सिरहामा पठाएका छन्। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी कमल आचार्यले भने, ‘अपराध अनुसारको कानुनी कारवाही निश्चित हुन्छ।’

प्रकाशित: २३ कार्तिक २०७६ ०१:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App