८ वैशाख २०८१ शनिबार
समाज

गाईघाट बजारमा २५ मिटर बनाउने नगर योजना

गाईघाट–बेलटार खण्डमा अन्तिम चरणको कालोपत्रे गर्दै कामदार । तस्बिरः महेश्वर

उदयपुर- त्रियुगा नगरपालिकाले निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना ‘मदन भण्डारी स्मृति लोकमार्ग’को गाईघाट बजार खण्डको सडक २५ मिटर चौडा बनाउने निर्णय गरेको छ। नगरकार्यपालिकाको गत असोज पहिलो साताको बैठकले बजारक्षेत्रको सडक २५ मिटर बनाउने निर्णय गरे अनुसार बिहीबारदेखि संरचना भत्काउन माईकिङ थालेपछि बजारबासी झस्किएका छन्।

कार्यपालिका बैठक निर्णयलाई उद्धृत गर्दै २५ मिटरभित्र पर्ने सडकका दायाँबायाँ बनेका भौतिक संरचनाहरु तत्काल आफैले भत्काउन आव्हान गर्दै नगरपालिकाले समयसीमाभित्र नभत्काए नगरपालिकाले जवरजस्ती भत्काउने र त्यसको क्षतिपूर्ति स्वयंले बेहोर्नुपर्ने सूचना जारी गरेसँगै बजारबासीमा एकखालको त्रास फैलिएको हो। नगरपालिकाको निर्णय अनुसार सडकलाई २५ मिटर कायम गर्ने हो भने बजारक्षेत्रमा लगभग ३ दर्जन हाराहारी घरटहरा भत्काउनुपर्ने हुनाले स्थानीय आत्तिएका हुन् । उनीहरुले शुक्रबार नगरपालिकामा लोकमार्ग कार्यालयले गर्न खोजेकै १८ मिटर कायम गरेर सडक कालोपत्रे गर्न गराउन माग गरेका छन्।

अढाईवर्षअघि सुरु साविक ‘धरान–चतारा–गाईघाट–सिन्धुली–हेटौंडा बैकल्पिक लोकमार्ग’ निर्माण थाल्दा सबैतिर ११ मिटर कालोपत्रेसहित सरदर १९ मिटर सडक र खाली ठाउँ भए २ मिटरसम्म बढाएर नाला बनाउने प्राविधिक इस्टीमेट छ। लोकमार्ग पूर्वी क्षेत्र कार्यालय गाईघाटले अन्य ठाउँ १९–२१ मिटरसम्म चौडाई हुने सडक गाईघाट बजारक्षेत्रमा नालासहित १८ मिटर बनाउने इस्टीमेट रहेको जनाएको छ। सोही अनुरुप काम गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको भए पनि नगरपालिकाको निर्णयले केही अलमल सिर्जना हुने हो कि भन्ने आशंका जन्माएको जनायो।

लोकमार्ग प्रमुख (डिई) ललिजन खनालले बजारक्षेत्रमा २५ मिटर चौडा गर्ने विषयमा नगरपालिकाले पत्राचार गरेको र सो पत्र विभाग हुँदै मन्त्रालयसम्म पुगेर छलफल भए पनि हाललाई १८ मिटरको सडक निर्माण गर्ने तय भएको बताए। उनका अनुसार नगरपालिकाको निर्णय कार्यान्वयन गर्ने हो भने पुनःइस्टीमेट गर्नुपर्ने हुन्छ र यसो गर्दा भईरहेको काम विषयान्तर हुँदे हुँदा काम सुचारु गर्न अहिलेकै इस्टीमेट अनुसार गर्नुपर्ने हुन्छ। नगरपालिकाले जारी गरेको सार्वजनिक सूचना निर्माणाधीन सडकक्षेत्रको दायाँबायाँका संरचना हटाउनका लागि भएको हुनसक्ने डिई खनालले बताए।

‘अहिले हामी गाईघाट बजारखण्डको सडकमा १४ मिटर कालोपत्रे र दायाँबायाँ २÷२ मिटर नाला गरी १८ मिटर चौडाईकै सडक बनाउँछौ’ डिई खनालले भने ‘नगरपालिकाले २५ मिटर बनाउने भनेर पत्राचार गरेको हो तर, त्यस विषयमा कुनै निर्णय भएको छैन्। अहिलेको माईकिङ सडक क्षेत्रको घरटहरा हटाउनका लागि जारी गरेको हुनसक्छ।’ खनालले बजारक्षेत्रको सडकमा कालोपत्रे गर्ने काम यही सातादेखि सुरु हुने र आउँदो माघभित्र पुरै बजार कालोपत्रे भईसक्ने गरी काम सुरु भएको जानकारी दिए।

निर्माणको चर्चा चलेदेखि नै लोकमार्गको मापदण्ड अनुसार ६२ मिटरको हुने हल्लाले सडकले घरजग्गा भेट्ने धेरै बजारबासीमा त्रास बढेपछि सर्वोच्च अदालतसम्म मुद्धासमेत परेको थियो। अदालत र विभागबीचको समन्वयमा हाललाई सहायक लोकमार्गको मापदण्ड अनुसार काम अघि बढाउने टुंगो लागेपछि ०७४ कात्तिकदेखि ३ वर्षभित्र सक्नेगरी निर्माण कार्य थालनी भएको हो। उदयपुर खण्डमा सदरमुकाम गाईघाट, पूर्वतर्फ बेलटार, रामपुर, पश्चिमतर्फ चुहाडे, मुर्कुची र कटारी बजार लोकमार्गले छुने बजारहरु हुन्। चौडाईकै त्रासका कारण बेलटारमा १ किलोमिटर सडक बाईपास (बजारभन्दा बाहिरबाट) गरेर निर्माण गरिएको छ भने झण्डै २० किलोमिटर पूर्वबाटै बाईपास गरेर बजार बचाउन खोज्दा लोकमार्गले मुर्कुची छुनै पाएको छैन्।

गाईघाटबाहेक चुहाडे, राजाबास, गहिरुन, असारी, बसाहा, रामपुर, लालबजारलगायत सबैतिर नियमानुसार सडक बनेर कालोपत्रेसमेत भईसकेको छ। गाईघाट भने सदरमुकामको बजार र घर टहरा भत्काउन नदिने बिबाद भएकाले अन्य क्षेत्रतर्फको काम सकेपछि मात्र गर्नेगरी बाँकी थियो। बजार पश्चिम राजाबास, चुहाडे हुँदै कालीखोला चिसापानीसम्म कालोपत्रे भईसकेको छ भने पूर्वतर्फ २१ किलोमिटर बेलटारसम्मको कालोपत्रे भर्खरै सकिएको छ। अहिले बेलटा–बसाहा खण्डमा कालोपत्रेको काम सुरु भईसकेको छ। बसाहासम्म कालोपत्रे सकिएपछि धरानदेखि गाईघाटसम्मै कालोपत्रेमा सवारी आउजाउ गर्न सहज हुनेछ।

त्रियुगाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मणविक्रम थापाले नगरपालिकाले गरेको निर्णय अनुसार सार्वजनिक सूचना जारी गरेको बताए। ‘सदरमुकाम बजार भएकाले यहाँको सडक सुरक्षित, व्यवस्थित र फराकिलो हुनुपर्ने त छँदैछ’ उनले भने ‘त्यसमाथि नगरपालिकाको निर्णय कार्यान्वयन गर्ने आप्mनो कर्तव्य अनुसार माईकिङ र सार्वजनिक सूचना जारी गरिएको हो।’ नगरपालिकाले आप्mनो लगानीको योजना नभएकाले दबाब दिनेभन्दा समन्वय मात्र गर्न खोजेको उनको भनाई छ।

त्रियुगा नगरप्रमुख बलदेव चौधरीले बजारक्षेत्रको सडक फराकिलो बनाउन सके भविष्यसम्म सुरक्षित र व्यवस्थित सहर बनाउन सकिने भएकाले २५ मिटर बनाउने निर्णय गरेको बताए। उनले ढिलोचाँडो सडक फराकिलो बनाउनैपर्ने हुनाले अहिल्यै गर्दै जाउँ भन्ने अभिप्रायले नगरकार्यपालिका बैठकले निर्णय गरेर काम अघि बढाउन खोजिएको बताए। मेयर चौधरीले कसैको घरटहरा भत्काउने, क्षति पु¥याउने उदेश्य र मनसाय नगरपालिकाको नभएको भन्दै सभ्य, सुन्दर, व्यवस्थित र राम्रो सहर बनाउने नगरपालिकाको अभियानमा सबैको साथ चाहिएको पनि बताए।

प्रकाशित: २२ कार्तिक २०७६ १२:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App