८ वैशाख २०८१ शनिबार
समाज

जन्मकैदको माग सहित आलमविरुद्ध मुद्दा दायर

रौतहट- कांग्रेस नेता अफताव आलमलाई जन्मकैदको माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालयले रौतहट जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। १२ वर्ष अघि राजपुरमा भएको बम काण्डका अरोपी आलमलाई जिल्ला प्रहरी कार्यालयले करिब २० दिनसम्म हिरासतमा राखी लामो अनुसन्धन पश्चात जिल्ला सरकारी वकिलको कार्यालयमा गत शुक्रवार मुद्दा बुझाएको थियो।

आलम सहित ११ जनालाई जन्म कैदको माग गर्दै आठ सय पेज लामो राय जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको छ।

२०६४ साल चैत २७ गते आलमको निर्देशनमा शेख इद्रिसको गोठमा बम बनाउँदा बनाउँदै विष्फोट हुँदा ३ जनाको घटनास्थल मै ज्यान गएको थियो। विष्फोटमा घाइते भएका त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँलाई इँटाभट्टामा जिउँदै पोलेर हत्या गरिएको थियो।

अलमविरुद्ध मुद्दा  दर्ता गराउदै सरकारी वकिल

विस्फोटमा परी ज्यान गुमाएका परिवारले आलमलाई तत्कालीन मुलुकी ऐनअनुसार सर्वस्वसहित जन्मकैदको माग गरेपनि २०७४ सालमा आएको नयाँ मुलुकी अपराध संहितामा सर्वस्वसहित जन्मकैदको व्यवस्था नभएकोले प्रहरीले आलमलाई आजीवन काराबासको सजायँ माग दाबी सहित सरकारी वकिलको कार्यालयमा राय पेस गरेको छ।

त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँको हत्या कसुरमा आलमलाई २५ वर्ष जेल, बम विष्फोटमा घाइते भएर बाँचेका सर्लाहीका सखी मोहम्मदको केसमा ज्यान मार्ने कसुर अन्तर्गत १० वर्ष जेल र विष्फोटक पदार्थ बनाएको कसुरमा पनि १० वर्ष जेल सजाय दिन प्रहरीले माग दाबी गरेको जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए।

प्रहरीको राय अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले अफताव आलम, मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजलेहक, सगिर आलम, शेख मलकार, गौरीशंकर साह, बद्री सहनी र मुक्ति साह लगायत ११ जना विरुद्ध मुद्दा चलाउन लागेको छ। बम विष्फोटमा घाइते र ज्यान गुमाएकाहरुलाई टयाक्टरमा लोड गरी लैजाने टयाक्टर चालक गौरीहंकर साह र जलाइएको इँटाभट्टाका मालिक मुक्ति साहलाई मतियारको रुपमा मुद्दा चलाउने राय दिएको छ। घटनाको प्रमाण नष्ट गर्ने उद्देश्यले इँटा भट्टा मासेर हाल धान खेत बनाइएको छ।

 

प्रकाशित: १८ कार्तिक २०७६ ०९:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App