७ वैशाख २०८१ शुक्रबार
समाज

कोरियामा मृत्यु भएका दर्लामी परिवारलाई सहयोग

दक्षिण कोरियामा रोजगारीका क्रममा मृत्यु भएका पञ्चपुरी नगरपालिका–२ पलैंटेका थिरबहादुर दर्लामीको परिवारलाई राहत रकम हस्तान्तरण गरिदै। तस्बिर : नगेन्द्र /नागरिक

सुर्खेत- दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परेर मृत्यु भएका सुर्खेतको पञ्चपुरी नगरपालिका–२ पलैंटेका थिरबहादुर दर्लामीको परिवारलाई सुर्खेती समाज दक्षिण कोरियाले चार लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

दक्षिण कोरियामा संकलन गरिएको आठ लाख मध्ये चार लाख रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष लोकेश खत्रीले जानकारी दिए। कोरिया पुगेको १७ दिनमै दर्लामीको असोज २४ गते कोरियामा मृत्यु भएको थियो।

‘दक्षिण कोरियामा कार्यरत करिव तीन सय जना नेपालीहरुबाट दर्लामीको परिवारका लागि आठ लाख रुपैयाँ सहयोग गर्नुभएको थियो,’ अध्यक्ष खत्रीले भने, ‘उठेको रकम मध्ये चार लाख रुपैयाँ मृतकका परिवारलाई हस्तान्तरण गरेका हौं।’ उनले बाँकी चार लाख रुपैयाँ दर्लामीको सम्झनामा प्रतिक्षालय, पार्क वा स्मारक निर्माणमा खर्चिने बताए।

‘मृतक परिवारलाई कोरिया सरकार, उनी कार्यरत कम्पनीले पनि राहत रकम उपलब्ध गराउँछ, त्यसका लागि हामीले पनि पहल गरिरहेका छौं,’ निर्वतमान अध्यक्ष तुलस गुरुङले भने, ‘प्रतिक्षालय, पार्क वा स्मारक के बनाउने भन्ने टुंगोमा पुगेपछि सोही अनुसारको खर्च व्यवस्थापन गछौं।’ रोजगारीका लागि दक्षिण कोरियामा रहेका नेपालीहरुले विभिन्न सामाजिक सेवा पनि गर्दै आएका छन्। १०१३ मा स्थापना भएको सुर्खेती समाज दक्षिण कोरियाले पनि विभिन्न सहयोग गर्दै आएको छ।

मृतकका बुवा दिलबहादुर दर्लामीले कमाउन गएको छोरा गुमाउँदा धेरै दुःख लागेको बताए। ‘आफ्नै देशमा रोजगारी भइदिएको भए अर्काको देशमा पुगेर छोराले ज्यान गुमाउनुपर्ने अवस्था आउँथेन्,’ मृतकका बुवा दर्लामीले भने, ‘हाम्रो परिवारलाई परेको विपत्ती अरुलाई नपरोस्।’ उनले देशमा रोजगारी नहुँदा धेरै युवाहरु विदेशी भूमिका काम गरिरहेको बताउँदै आफ्नो ज्यानको सुरक्षा गरेर कामै काम गर्न विदेशीएकाहरुलाई सुझाव दिए।

बराहताल गाउँपालिकाका अध्यक्ष तेजबहादुर बस्नेतले परिवारको रोजीरोटीका लागि विदेशी भूमिमा रहेपनि कोरियामा रहेका सुर्खेतीहरुले गाउँ, समाज र देशका लागि महत्वपूर्ण सामाजिक कामहरु गरेको बताए। उनले स्वदेशमा रोजगारी नहुँदा नेपाली युवाहरुको विदेशीनुपर्ने बाध्यता रहँदै आएको बताउँदै आपत्त–विपत्तमा मिलेर एकले अर्कालाई सहयोग गर्नुपर्ने बताए।

परिवारको पेट पाल्नका लागि कोरियामा रहेका सुर्खेतीहरुले विभिन्न समयमा विभिन्न सामाजिक काममा आफूले आर्जन गरेको धन खर्चिदैं आएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले कोरियामा रहेका सुर्खेतीहरुको सिको अरु देशमा रहेका नेपालीहरुले पनि गर्नुपर्ने बताए। उनले सुर्खेती समाज दक्षिण कोरियालाई स्थानीय तहमा रहेका विपत्त व्यवस्थापन कोषमार्फत सहयोग गर्न आग्रह पनि गरे।

‘तपाईहरुले शिक्षा, स्वास्थ्यलगायत विपत्तका समयमा महत्वपूर्ण सहयोग गर्दै आउनु भएको छ,’ उनले भने, ‘स्थानीय स्तरमा सहजीकरणका लागि हामी सधैं तपाईहरुको साथमा छौं।’ कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष शोभा शर्मा, वडाध्यक्ष तिलक मस्र्याङ्गी, संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद ढकाल, मृतकका आफन्तलगायतको सहभागीता रहेको थियो।

 

प्रकाशित: १६ कार्तिक २०७६ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App