coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ब्लड बैंकमा‘ब्लड’अभाव

धरान – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र रहेको रेडक्रसको रक्त सञ्चार केन्द्रमा केही दिनयता रगतको चरम अभाव भएको छ। रगत अभावले कतिपय गम्भीर प्रकृतिको बिरामीहरूको उपचारसमेत प्रभावित हुने अवस्था छ।

रगत अभावले गर्दा बिरामीका आफन्तहरू आवश्यक रगत समूह भएका मान्छेहरूको खोजी गर्न भौतारिनु परिरहेको पीडित बताउँछन्। प्रतिष्ठान पूर्वका विभिन्न जिल्लाबाट बिरामी सिफारिस भएर आउने अस्पताल हो।

यहाँ दुर्घटना र गम्भीर प्रकृतिको बिरामीहरू उपचारका लागि आउँछन्। उनीहरूलाई रगत आवश्यक पर्दा धेरैै समस्या हुने गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ।

केन्द्रका इन्चार्ज सुवासचन्द्र सिंहका अनुसार चाडपर्वको कारण रक्तदान कार्यक्रमहरू नहुँदा रगतको अभाव भएको हो। बिहीबार उदयपुरबाट ४० पिन्ट रगत ल्याएपछि राहत भएको उनले बताए। ‘दसैं, तिहार, छठ पर्वमा रक्तदान कार्यक्रमहरू नै हुँदैन, त्यसैले यस बेला रगतको अति अभाव हुन्छ,’ सिंहले भने, ‘बिरामीहरूलाई यतिबेला धेरै नै गाह्रो हुन्छ। हामीले पनि समन्वय गरेर रगत दाताहरू खोजिदिन्छौं।’

केन्द्रका अनुसार दैनिकरुपमा औसतमा ५० पिन्ट रगत खपत हुने गरेको छ। प्रतिष्ठानमा मृगौलाको डाइलाइसिस गर्न, मुटुको अप्रेसन, डेलिभरी, विभिन्न किसिमका अप्रेसन र दुर्घटनामा परी गम्भीर घाइतेहरूको उपचारमा रगत बढी खपत हुने गरेको छ। रक्तसञ्चार केन्द्रमा अहिले ओ पोजेटिम रगत सहजरुपमा पाइन्छ। तर, ए–बी पोजेटिम ग्रुपको चरम अभाव छ भने बी पोजेटिभ र ए पोजेटिभ ग्रुपको रगत पनि अभाव रहेको केन्द्रका इञ्चार्ज सिंहले बताए।

प्रतिष्ठानमा ब्लड डोनेसन कमिटी छ भने युथ फर ब्लड र उज्यालो समाज जस्ता संस्थाहरू पनि छन्। यी संस्थाहरूले रगत आवश्यक परेका बिरामीहरूलाई रक्तसञ्चार केन्द्रमा पुगेर रगतदान गर्ने गरेका छन्। ‘रगतको एकदमै अभाव छ, मैले पनि बी पोजेटिभ रगत एक जना सुत्केरीलाई दिएँ,’ धरान–१४ विजयपुरका मानस चौहानले भने, ‘गम्भीर खालको बिरामीलाई त धेरै नै समस्या हुन्छ।’
 

प्रकाशित: १६ कार्तिक २०७६ ०४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App