२५ जेष्ठ २०७७ आइतबार
समाज

छठकै बीचमा ‘सामा–चकेवा’ पर्व सुरु

महोत्तरी – ‘धान, धान, धान छई भैया कोठी धान छई, चुगला कोठी भुस्सा छई। पान, पान, पान छई, भैया मुख पान छई, चुगला मुख कोइला छई। चाउर, चाउर, चाउर छई, भैया कोठी चाउर छई। चुगला कोठी छाउर छई।’

दाजुभाइ–दिदीबहिनीबीचको प्रेमप्रतीक मानिएको पर्व सामा–चकेवा सुरु भएपछि अहिले सम्साझैं महोत्तरीको ग्रामीण क्षेत्रका घरघरबाट मैथिली भाषाको यस्तो गीतको सुरिलो भाका सुनिन थालेको छ।

उक्त गीतको अर्थ हो– दाजुको भकारीमा धान छ भने चुगलाको भकारीमा भुस भरिएको छ। दाजुको मुखमा पान छ भने चुगलाको मुखमा कोइला छ। दाजुको कोठीमा चामल भरिएको छ भने चुगलाको कोठीमा खरानी छ। सामा–चकेवा खेल्दा दाजुभाइको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीतहरू गाएर बहिनीहरू मनोरञ्जन गर्न थालेका छन्।

यस्ता गीतहरू मिथिलाञ्चलमा अत्यन्त लोकप्रिय छन्। दाजुभाइ–दिदीबहिनीबीचको अमर पे्रमको प्रतीक समाचकेवाका अवसरमा यो वर्ष पनि त्यस्ता गीत गाउन थालिएको हो। छठ पर्वको खरनादेखि कात्तिक पूर्णिमासम्म मनाइने समाचकेवा पर्वमा गाइने यस्ता गीतले अहिले महोत्तरीलगायत मिथिलाञ्चलभरि नै एउटा अलग्गै उल्लास छाएको छ।

कुनै ठाउँमा छठ समाप्त हुने दिनबाट पनि सामा–चकेवा सुरु हुन्छ।
यो पर्वमा गाइने यी गीतले दाजु र भाइको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीतहरू गाई बहिनीहरू मनोरञ्जनसमेत गर्छन् र समाचकेवालाई फेरि पनि अर्काे वर्ष आउन गीतकै माध्यमले निमन्त्रण पनि गर्छन्।

‘सामचको, सामचको अविह हे, अविह हे।
कुड खेतमे बैसिह हे बैसिह हे।’

कात्तिक पञ्चमीदेखि सुरु भएको सामा–चकेवा पर्व पूर्णिमासम्म मनाउने गरिन्छ। मिथिलानी दिदीबहिनी समूह बनाएर नजिकैको नदीतलाउबाट माटो खनेर ल्याउँछन्।

ती माटोबाट कलात्मक वृन्दावन, चुगला, चकेवा, चरा, कजरौटा, सतभैयालगायत मूर्तिहरू बनाई घाम सुकाएर साँझदेखि दिदीबहिनी समूह बनाएर गाउँमा सामाका गीत गाउँदै डुल्दै सामा–चकेवा खेलेर पर्वको सुरुवात गरेका हुन्। दिनमा माटोबाट तयार पारिएका आकृतिहरू घाममा सुकाई राति रातो डाला (ढक्की) मा राखेर, दीप बालेर घरबाट बाहिर अन्य साथीहरूसँग मिलेर गीत गाउँदै सामा खेल्ने परम्परा रहेको छ।

परम्परागत विश्वासका आधारमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन रहेको छ। मिथिलानी महिला तथा किशोरीहरू आ–आफ्नो डाला एक ठाउँमा राखी आपूm चारैतिर वृत्ताकारमा बस्दछन् र गीत गाउँदै डालालाई दाहिने हातले बढाउँदै बायाँ हातले आफूतिर तान्छन्।

यो पर्वको वास्तविक नाम ‘श्यामाचकेवा’ रहे पनि लोकभाषामा यसलाई सामा–चकेवा भनिन्छ। सामा स्त्री पात्र र चकेवा पुरुष पात्र हुन्। दुईटैलाई चराका रूपमा माटोको आकृति बनाइएको हुन्छ। सामा–चकेवा खेलमा पति–पत्नीका बारेमा चुक्ली (झगडा) लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुँगाको प्रतीक बनाई डढाउने काम हुन्छ। सबै बहिनी मिलेर आगो लगाई डढाउदै बडो घृणाले गीत गाउँछन्।

पूर्णिमाका दिन दिदीबहिनी आफ्ना दाजुभाइलाई निमन्त्रण गर्छन्। भाइले घुँडामा राखेर सबै मूर्ति तोड्छन् र जोतेको खेतमा लगेर विसर्जन गर्छन्। बहिनीद्वारा भाइलाई चिउरा, दही, मिष्ठान, सखरको भोजन गराउँछन् भने दाजुभाइले यथाशक्य दिदीबहिनीलाई दक्षिणा दिने प्रचलन रहेको छ, जसलाई स्थानीय भाषामा ‘फाँरभरी’ पनि भन्ने गरिन्छ। दसंै, तिहार र छठपछि तराईमा यो अन्तिम पर्वका रूपमा मनाईन्छ र साँझपख सामा–चकेवाका लागि महिलाले निकै उत्साहका साथ गीत गाउने गर्छन्।

समाचकेवा पर्व सुरु भएपछि यहाँका दिदीबहिनीले समुदायमा रहेका फटाहा र कुरौटे प्रवृत्तिका मानिसको प्रतीक चुगला र कुचोको मसाल बनाई गाउँ टोल घुमाउँदै सार्वजनिक स्थलमा लान्छन्। त्यहाँ पुगेका दिदीबहिनी आफ्नो दाजुभाइको दीर्घायुको कामना गर्दै चुगलाको जुँगामा आगो लगाई रमाइलो गर्छन्। पहिले हातले निर्माण गरेको विभिन्न आकृतिले सामा–चकेवा पर्व खेल्ने गरिए पनि अब कुमालेले बनाउने कलात्मक सामानको समेत प्रयोग हुन थालेको छ।

पद्म पुराणमा उल्लेख भएअनुसार श्यामा र बुन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन्। राज्यका महासामन्त चूडक पनि श्यामालाई प्रेम गर्दछन्। तर श्यामाले अस्वीकार गरिदिँदा चूडकले कृष्णलाई श्यामाको सतित्व सम्बन्धमा झूटा कुराहरु सुनाइदिन्छ। कृष्णले आफ्ना छोरी श्यामाको सतित्वमाथि शंका गरी चरी बन्ने सराप दिन्छन्। चारुबक्य श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चकेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा चकेवीको रूपमा वृन्दावनमा बस्न थाल्दछन्। यस घटनाको समयमा राज्य भ्रमणमा निस्केका कृष्णका छोरा साम्व फर्केर राजधानी आएपछि यी सबै कुरा सुनेर बाबुसँग क्षुब्ध भई बहिनी श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाउन वृन्दावन गई तपस्या गर्न थाल्छन्।

श्यामाले चरी बन्ने सराप पाएपछि चूडकको नाम फेरेर चुगला राखिदिनुका साथै सबैले चुगलाको मुख झोस्नेछन् भनी दिएको सरापबाट रिसाएर चूडकले वृन्दावनमै आगो लगाइदिन्छ। आगो लगाएकै बेला वृन्दावनमा भयानक आँधीसँगै पानी पर्न थाल्छ। आँधीका कारण एउटा रूख ढल्दा चूडक किचिएर मर्छ। यसपछि भगवान् विष्णु साम्वाप्रति खुसी भई श्यामा र चारुबक्यलाई पुनः मनुष्य बनाइदिन्छन्।

यसरी सोही दिनदेखि सामा चकेवाको पर्व प्रचलित भएको मान्यता रहिआएको छ। सामा–चकेवा पर्वमा श्यामा र चारुबक्यको चरा रूपमै पूजा गर्ने गरिन्छ। भाइले सामा फुटाल्नुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ। श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भइ सामा र चकेवा नाम प्रचलित हुन गएको हो। यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ।

प्रकाशित: १६ कार्तिक २०७६ ०७:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App