coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ग्रामीण सडकखन्दा विवाद मान्छेमाथि डोजर चलाइयो

स्थानीयसँग छलफल गर्दै कांग्रेस बैतडीको छानबिन टोली। तस्बिरः बिरा/नागरिक

बैतडी - दुई वर्षअघि दशरथचन्द नगरपालिका–९, ग्वाल्लेकको सुण्नाखान–चिलाउने पार्ससम्म पुग्ने करिब एक हजार नौ सय मिटर सर्भे ग-यो। स्थानीय केशवदत्त जोशीको अध्यक्षतामा निर्माण गरिएको समितिले गत वर्ष चार लाख रुपैयाँमा करिब एक हजार एक सय मिटर सडक खन्यो। यो वर्ष बाँकी रहेको सडक खन्ने भन्दै स्थानीय तम्सिए।

तर सर्भे गरेको भन्दा अर्को बाटो सडक लैजाने भन्दै दुई टोलका समई भागमा बाँडिए। चिलाउने टोलका स्थानीय सडक खन्न तम्सिए भने अयरखाली टोलका स्थानीय भने आफ्नो जमिन क्षति हुने भन्दै रोक्न खोज्दै थिए। केही दिनअघि असन्तुष्टि जनाउँदै नगरपालिका र जिल्ला प्रशासनसम्म पुगेका थिए। गुठी देवताको आफ्नो जमिनमा सडक खन्ने क्रममा क्षति पुग्ने भएपछि उनीहरू सहमत थिएनन्।

प्रशासनले तिहारपछि दुवै पक्ष मिलेर सडक खन्न भनेको थियो तर त्यहाँका स्थानीय भने सडक अहिले नै खन्ने भन्दै तम्सिए। एक पक्ष सडक नखन्न आग्रह गर्दै थिए भने अर्को पक्षले डोजर ल्याएर सडक खन्न थालेपछि विवाद सुरु भयो। नगरपालिकाले यो वर्ष न त बजेट छुट्याएको थियो, न त उपभोक्ता समिति नै गठन गरेको थियो। एक वर्षअघि गठित पुरानै समितिले सडक खन्न थालेपछि विरोध चुलियो। सडक खन्न सुरु गरेपछि दुवै टोलका बासिन्दा डोजर भएको ठाउँमा भेला भए।

सडक खन्ने र रोक्ने भन्दै विवाद सुरु भएको स्थानीय सुरेन्द्र जोशीले बताए। खन्न नदिने पक्षले डोजरलाई रोक्ने प्रयास गरे। डोजर रोकिएन र सडक खन्न थाल्यो। अर्को पक्षले डोजर रोक्नका लागि ढुंगा हान्न सुरु गरे। त्यसमा बालबालिकादेखि महिलाहरू र अन्य पुरुषहरू रहेका थिए। सबै रोक्नका लागि प्रयासमा थिए। जति रोक्न खोजे पनि डोजरले सडक खन्न छोडेको थिएन।

एकछिन पछि डोजरले स्थानीय ३५ वर्षीया गौरी जोशीलाई हुत्यायो। भिरालो ठाउँमा उनी तल परिन्। आक्रोसमा आएका स्थानीयबीच झडप सुरु भयो। डोजरले हान्दा बेहोस अवस्थामा रहेकी गौरालाई थप उपचार गर्न कोहलपुर लगिएको थियो। उनी बुधबार अस्पतालबाट उपचार गरेर फर्किएकी छन्।

आफ्नो टोलका स्थानीयको सल्लाहबिनै मनोमानी तरिकाले डोजर लगाउन सुरु गरेपछि विवाद भएको उनले बताए। आपूmले सडक निर्माणका लागि सहमति गरौं भनेर भने पनि निर्माण पक्षले जबरजस्ती आफूहरूको जमिनमा डोजर चलाएकोले विवाद भएको स्थानीय हंसराज जोशीले बताए।

महिलामाथि डोजरले चलाउने चालक किशोर बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले आफूमाथि ढंगामुढा भएपछि ढुंगा लाग्दा डोजरअघि महिला भएको थाहा नभएको प्रहरीलाई बताएका छन्। उनीविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ।

महिलालाई डोजरले जानीजानी हुत्याएको भिडियो सार्वजनिक भएपछि प्रहरीले नियन्त्रणमा लिएका चालक बोहराविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक किसन चन्दले बताए। जिल्ला अदालतबाट १० दिनको म्याद थपेर बोहरामाथि अनुसन्धान भइरहेको छ।

गत वर्ष नगरपालिकाको रकमले आधा मात्रै सडक खनिएको थियो। नगरपालिकाले पछि पैसा दिने मौखिक सहमतिमा उपभोक्ता समितिमार्फत सडक खन्न थालिए पनि सर्भे भएको ठाउँभन्दा अन्यत्र सडक खनिएकाले विवाद भएको नौ नम्बरका वडाध्यक्ष हरिशचन्द्र जोशीले बताए। सडक निर्माणको विवाद केही दिनअघि जिल्ला प्रशासन कार्यालय बैतडी पनि पुगेको थियो। दुवैपक्षलाई सहमतिमा सडक निर्माण गर्न सुझाव दिइएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणबारे दुई पक्षबीच कुरा नमिल्दा झडप पनि भएको थियो। ग्वाल्लेकमा निर्माण भइरहेको सडकबारे दुवै पक्षबीच पहिलादेखि विवाद थियो। आफूहरूले मिलेर जान आग्रह गरिरहेको भए पनि एक्कासि झडप भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए। नरपालिकाले बजेट नछुट्टाए पनि स्थानीयले चन्दा संकलन गरेर तेल र डोजर लगाउने भन्दै जबरजस्ती सडक खन्न थालेको स्थानीय बताउँछन्।

छानबिन टोली गठन

घटनाको सत्यतथ्य छानबिनका लागि जिल्ला प्रशासन कार्यालयले छानबिन समिति गठन गरेको छ। मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन टोली गठन गरिएको हो। टोलीले बुधबार घटनास्थल दशरथचन्द नगरपालिका–९, ग्वाल्लेक पुगेर घटनाको अनुसन्धान सुरु गरेको छ। समितिले छानबिन गरी ४८ घण्टाभित्र प्रतिवेदन बुझाउने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। सोमबार भएको घटनाको सर्वत्र आलोचना भएपछि जिल्ला प्रशासन कार्यालय बैतडीले मंगलबार छानबिन समिति गठन गरेको थियो।

फिल्डको प्रारम्भिक अनुसन्धानबाट सडक निर्माणका क्रममा रोक्न चाहने स्थानीयले डोजर चालकलाई उत्तेजित पारेको सहायक प्रमुख जिल्ला अधिकारी एवम् छानबिन समितिका संयोजक नेगीले बताए। थप सडकका लागि वडा र नगरपालिकाबाट बजेट विनियोजन नगरेको र उपभोक्ता समितिसमेत गठन नगरेको संयोजक नेगीले जानकारी दिए। अवैधानिक उपभोक्ता समिति आफैंले पैसा उठाएर सडक खन्न सुरु गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

नेपाली कांग्रेस बैतडीका पूर्वसांसद बहादुरसिंह थापाको नेतृत्वको टोली पनि घटनाबारे बुझ्न घटनास्थल पुगेको छ। यसअघि सत्यतथ्य छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै कांग्रेस बैतडीले विज्ञप्ति निकालेको थियो। घाइते गौरा जोशीका भतिज दुर्गादत्त जोशीले तत्काल सडक निर्माण रोक्नका लागि उच्चअदालत कन्चपुरमा निवेदन दर्ता गरेका छन्। आधिकारिक नभएको उपभोक्ता समितिका अध्यक्षले दम्भका साथ जबरजस्ती सडक खनाउन थालेको उनको आरोप छ।

प्रकाशित: ७ कार्तिक २०७६ ०२:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App