coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फरार गौतम २० वर्षपछि पक्राउ

काठमाडौं - एक युवतीलाई बलात्कार गरी हत्या गरेको मुद्दामा सर्वोच्च अदालतबाट जन्मकैद सजाय सुनाइएका झापा चन्द्रगढी–३ का लिलाराज गौतम २० वर्षपछि पक्राउ परेका छन्। रेडकर्नर नोटिस जारी भएका आधारमा उनलाई अमेरिकी प्रहरीले पक्राउ गरी बुधबार नेपाल प्रहरीको जिम्मा लगाएको हो।

उक्त मुद्दामा गौतमले जिल्ला र उच्च अदालतबाट सफाइ पाएका थिए। तर, सर्वोच्च अदालतले उनी दोषी भएको फैसला सुनाएको थियो। सर्वोच्चको फैसला आउनुअघि नै नेपालबाट फरार भई उनी अमेरिका पुगेका थिए। अनुसन्धान क्रममा उनी अमेरिका पुगेको सूचना पाएपछि प्रहरीले रेडकर्नर नोटिस जारी गरेको थियो। त्यसलगत्तै अमेरिकी प्रहरीले गौतमलाई पक्राउ गर्न निगरानी बढाएको थियो।

गौतममा पक्राउ परेपछि अमेरिकी प्रहरीले उनलाई टर्की एयरको विमानमार्फत नेपाल ल्याएर बुझाएको प्रहरीले जनाएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ नेपाल प्रहरीको विशेष टोलीले गौतमलाई नियन्त्रणमा लिएको थियो। नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले अमेरिकी प्रहरीको सहायतामा अमेरिकामै पक्राउ गरी गौतमलाई नेपाल ल्याइएको जानकारी दिए। विभिन्न कानुनी प्रक्रिया मिलाएर गौतमलाई पक्राउ गरी नेपाल ल्याइएको पोखरेलले बताए।

‘लामो समयपछि हामी गौतमलाई पक्राउ गर्न सफल भएका छौं, विदेशमा लुकिछिपी बस्दै आए पनि अमेरिकी प्रहरीले रेडकर्नर नोटिसका आधारमा पक्राउ गरेको छ,’ पोखरेलले भने। उनका अनुसार गौतमलाई इन्टरपोल वाशिङ्टनको सक्रियतामा सन् २०१८ फेब्रेुअरी १३ मा पक्राउ गरी अमेरिकाकै हिरासतमा राखिएको थियो। नेपाल प्रहरीले गरेको निरन्तर पत्राचारपछि अमेरिकी अध्यागमनका न्यायाधीशले सन् २०१८ सेप्टेम्बर ५ मा उनलाई नेपाल पठाउने आदेश दिएका थिए। सोही आदेश अनुसार उनलाई टर्की एयरबाट बुधबार काठमाडौं ल्याइएको हो।

२०५७ असोज २९ गते राति गौतम, सीताराम बस्नेत र मनोज खड्कासमेत मिलेर झापा चन्द्रगढी–३ बस्ने सन्ध्या राजवंशीलाई जबरजस्ती करणी गरी हत्या गरेका थिए। प्रहरीले चारआली जंगलको छेउको रुखमा झुन्डिएको अवस्थामा राजवंशीको शव फेला परेको थियो। बलात्कार र हत्या अभियोगमा गौतमाविरुद्ध मुद्दा चलाइएको थियो। सो मुद्दामा झापा जिल्ला अदालतले ०५८ कात्तिक २१ गते गौतमलाई सफाइ दिने सुनाएको थियो। त्यसपछि मुद्दा पुनरावेदन अदालत पुग्यो।

०५८ चैत २८ गते पुनरावेदन अदालत इलामले पनि जिल्ला अदालतकै फैसलालाई सदर गर्दै गौतमलाई सफाइ दियो। त्यसपछि मुद्दा सर्वोच्च अदालतमा पुग्यो। सर्वोच्चले जिल्ला र पुनरावेदनको निर्णय उल्टाई २०६६ भदौ २९ गते गौतमसमेतलाई जन्मकैदको फैसला सुनायो। गौतम ०५७ कात्तिक १ देखि ०५८ साउन ३२ सम्म थुनामा बसेका थिए।

प्रकाशित: ७ कार्तिक २०७६ ०१:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App