८ वैशाख २०८१ शनिबार
समाज

बोक्सो आरोपमा वृद्धको हत्या प्रकरणः दुई वर्षपछि समातिए आरोपित

बोक्सोको आरोप लगाएर वृद्धको हत्या गर्ने भरतलाल राजवंशीलाई सार्वजनिक गर्दै प्रहरी । तस्बिर: नागरिक

विराटनगर- मोरङ रंगेली –९ दर्बेसाका धामी पहाडचन राजवंशीको हत्याका आरोपी दुई वर्ष पछि पक्राउ परेका छन्। पहाडचनको हत्या गरेर फरार भएका सोहि स्थानका भरतलाल राजवंशीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

गाउँमा झारफुक गर्दै आएका धामी पहाडचनको वन्चरो प्रहार गरी हत्या गरेर भारत तर्फ फरार भएका भरतलाललाई उनकै घरबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। पक्राउ परेका भरतलाललाई जिल्ला प्रहरी कार्यालय मोरङले बुधबार सार्वजनिक गरेको छ। भरतलाल राजवंशीलाई सार्वजनिक गर्दै प्रहरीले अन्धविश्वासका कारण रिसिइवी साँधेर हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जनाएको छ।

मोरङका प्रहरी प्रमुख विश्व अधिकारीले गाउँमा झारफुकको काम गर्दै आएका ६४ वर्षिय पहाडचन बोक्सो भएरकाले बाबुको मृत्यु भएको ठानेर भरतलालले उनको हत्या गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए। गाउँमा झारफुक गर्दै आएका पहाडचन आर्थिक अवस्था कमजोर भएका कारण छोरा लक्ष्मीप्रसाद र बुहारी चिन्ताकुमारीसँग बस्दै आएका थिए। झारफुकको काम गर्ने पहाडचन बोक्सो भएको हल्ला फिंजाएर गाउँलेहरूले २०६९ साल असोज १३ गते मलमुत्र खुवाउँदै विभिन्न खाले यातना दिएर गाउँ निकाला गरेका थिए।  यति मात्रै हैन गाउँलेहरुले पहाडचनले हेर्ने बित्तिकै मान्छे मर्छ भन्ने हल्ला पनि गाउँमा फैलाएका थिए। बोक्सोको आरोप लगाउँदै गाउँलेहरूले पहाडचनलाई गाउँबाट विस्थापित गरेपछि  
स्थानीय प्रशासन र संघ संस्थाको सहयोगमा उनलाई पुनस्थापना गरिएको थियो। मलमुत्र खुवाउने र विस्थापित गराउनेमा स्थानीय हरिप्रसाद राजवंशी पनि थिए। उक्त घटनामा प्रहरीले हरिप्रसादसहित नौ जनालाई पक्राउ गरेर बोक्सी आरोपको कसूरमा मुद्दा पनि चलायो। अभियुक्तहरु जिल्ला अदालतले मागेको प्रति व्यक्ति दुई हजार रुपैयाँ धरौटी बुझाएर छुटे।

त्यसको पाँच वर्षपछि २०७४ साल जेठमा हरिप्रसादको मृत्यु भयो। अचानक बिरामी परेर अस्पताल ल्याइएका उनको उपचारका क्रममा मृत्यु भएको थियो। परिवारले टुनामुना गरिदिएकै कारण हरिप्रसादको मृत्यु भएको भन्दै पहाडचनलाई दुव्र्यवहार पनि गरे।  गाउँलेले दुव्र्यवहार गरिरहे पनि कतै जाने ठाउँ नभएकाले उनी गाउँमै बस्दै आएका थिए।

बोक्सोको आरोप लगाएर बर्बर यातना दिएको पाँच वर्षपछि पहाडचनको हत्या नै भयो। हत्यामा संलग्न थिए बोक्सोको आरोप लगाएर गाउँ निकाला गर्ने समूहको नेत्रृत्व लिएका हरिप्रसाद राजवंशीका छोरा भरतलाल। बोक्सीको टुनामुना गरिदिएका कारण आफूले बुवा गुमाउनु परेको भन्दै उनले बन्चरो प्रहार गरेर २०७४ साल असार ११ गते बाटो ढुकेर पहाडचनको हत्या गरेको मोरङ प्रहरी प्रमुख अधिकारीले बताए। बन्चरो प्रहारबाट टाउको, छात्ती र शरीरका विभिन्न भागमा गहिरो चोट लागेकाले उनको घटनास्थलमै मृत्यु भएको थियो।

वृद्धको हत्या गरेर फरार बनेका भरतलाई दुई वर्षपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ। घटनापछि भारततिर फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक (इन्सपेक्टर) लेखनाथ दाहाल नेत्रृत्वको टोलीले गाउँमै लुकिछिपी बसेको अवस्थामा मंगलबार राति पक्राउ गरेको हो। दाहालले पक्राउपछि गरिएको प्रारम्भिक अनुसन्धानबाट घटनाको वास्तविकता पत्ता लागेको जानकारी दिए। पक्राउ परेका भरतलालले बोक्सीको टुनामुना गरिदिएका कारण आफ्नो बुवाको मृत्यु भएकाले आवेसमा आएर पहाडचनको हत्या गरेको स्वीकारेको  प्रहरीले जनाएको छ। हत्यापछि झाडीमा बन्चरो फ्यालेर आफू फरार भएको प्रहरीलाई उनले बताएका छन्। भरतलाल विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन बुधबार जिल्ला अदालत मोरङबाट सात दिनको म्याद थप गर्दै प्रहरीले बाँकी अनुसन्धान अघि बढाइएको जनाएको छ।

प्रकाशित: ६ कार्तिक २०७६ १५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App